नेपाललाई कार्वन व्यापारको बाटो खुल्यो

१२ फागुन, २०७७   |  इकोखबर

 

 वनमा कार्वन नाप जाँज गरिंदै ।

वनमा कार्वन नाप जाँज गरिंदै ।

नेपाल र विश्वव्याङ्कबीच कार्वन उत्सर्जन न्यूनिकरण भुक्तानी सम्झौता भएको छ । व्याङ्कका कन्ट्री डाइरेक्टर र वन तथा वातावरण मन्त्रालयका सचिवले सम्झौता पत्रमा वुधवार हस्ताक्षर गरेका हुन् । वन विनास र वनको क्षयीकरण कम गरेर कार्वन सञ्चितिलाई बढाएर उत्सर्जन घटाए वापत यस सम्झौता अनुसार नेपालले भुक्तानी प्राप्त गर्दछ ।रेड कार्वान्यन केन्द्रका प्रमुख वुद्धि पौडेलका अनुसार वन विनास र क्षयिकरणलाई रोकेर कार्वन सञ्चिति बढाएर उत्सर्जनलाई घटाए वापत नेपालले विश्वव्याङ्कसंग भुक्तानी दावि गर्दछ । सम्झौतामा प्रति टन कार्वनडाइअक्साइड न्यूनिकरण गरेवापतको मुल्य ५ अमेरिकि डलर कायम गरिएको छ । नेपालले सन २०२२ र २०२४ मा भुक्तानीका लागि दावि गर्दछ ।

रौतहटको बाग्मतीदेखि पश्चिम तराईका १३ वटा जिल्लालाई आधार मानेर सञ्चालन गरिने यस कार्यक्रममा नेपालले भुक्तानी प्राप्त गर्नका लागि कार्वन जाँच मापन गरेर दावि प्रस्तुत गर्नुपर्दछ । नेपालले प्रस्तुत गर्ने दाविमा विश्वव्याङ्कले प्रमाणित गरेर भुक्तानी गर्दछ । सम्झौता अनुसार नेपालले कार्वन उत्सर्जन न्यूनिकरण गर्ने हो भने सन २०२४ सम्म ४५ मिलियन अमेरिकि डलर सम्म प्राप्त गर्न सक्छ ।

तर, उक्त रकम प्राप्तका लागि भइरहेको वनको क्षयिकरणलाई रोकेर कार्वन संचिति र उत्सर्जनको लक्ष्यलाई पूरा गर्नुपर्दछ । हरेक वर्ष भइरहेको वन अतिक्रमले नेपालको लक्ष्य पूरा हुन नसक्ने देखिन्छ । “काम गर्न सके सवै पैसा आउँछ, काम गर्न नसके थोरै पैसा आउँछ । ४५ मिलियन नै आउँछ भन्ने होइन”, रेड कार्वान्यन केन्द्रका प्रमुख वुद्धि पौडेलले भने । नेपालले २०६५ सालदेखि विश्वव्याङ्कको सहयोगमा कार्वन उत्सर्जन न्यूनिकरण भुक्तानीका लागि तयारी स्वरुप कामहरु गर्दै आएको थियो । तयारी स्वरुप  विश्वव्याङ्कले नेपालमा अनुदान स्वरुप ५ मिलियन डलर भन्दा बढी रकम लगानी गरिसकेको छ । 

तत्कालिन वन तथा भू संरक्षण मन्त्रालय अन्र्तगत रेड–फरेष्ट्रि तथा जलवायू परिवर्तन इकाई स्थापना गरी नेपालले २०६५ देखि रेड प्लस सम्वन्धी कामहरु गर्दै आएको छ । वनको दिगो व्यवस्थापनका माध्यमबाट वायुमण्डलमा रहेको प्रमुख हरितगृह ग्यास शोषण गरी भण्डारण गर्ने र वनबाट हुने उत्सर्जनमा कमि ल्याइ जलवायू परिवर्तनको असरलाई न्यूनिकरण गर्ने उद्देश्यले रेड प्लसको अवधारणा आएको हो । वन विनास रोक्ने, वनको गुणस्तर खस्कन नदिने, वनको संरक्षण, वनको दिगो व्यवस्थापन र वृक्षारोपण गरी कार्वनको सञ्चिति बढाउने कार्यक्रमहरुको समग्ररुप नै रेड प्लस हो । 

 



Developed by Smart Innovation