आजदेखि नेपाल भित्रियो मनसुन

२८ जेठ, २०७८   |  इकोखबर

यसवर्षको मनसुन आजदेखि नेपालमा भित्रिएको छ । जलतथा मौसम विज्ञान विभागले यसवर्षको मनसुन शुक्रबारदेखि नेपाल प्रवेश गरेको जानकारी गराएको छ ।

यसअघिका वर्षहरुमा १० जुनलाई मनसुन प्रवेशको मिति मानिंदै आएको थियो । तर, यसवर्ष देखि पछिल्ला २० वर्षको मौसमी तथ्याकंका आधारमा १३ जनुलाई मौसम प्रवेश गर्ने मिति तय गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद बरुण पौडेलले यसवर्ष निर्धारित मितिभन्दा दुई दिन अघि मनसुन प्रवेश गरेको बताए । 

जल तथा मौसम विज्ञान विभागले आज विषेश बुलेटिन प्रकाशित गरेर बंगालको खाडी आसपास बिकशित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रबारबाट नेपालको पूर्वी भूभागहरु प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनको आगमन भएको   जनाएको छ । एक दुई दिनमानै मनसुन देशैभरी फैलिने सम्भावना रहेको विभागले प्रकाशन गरेको वुलेटिनमा उल्लेख गरिएको छ । 

आगामी साता मनसुन सक्रिय भई देशका धेरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षा, केहि स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

जुन १० मा सुरु भएको मनसुन अक्टोबर २ सम्म कायम रहन्छ । गतवर्ष १२ जुनमा मनसुन नेपाल भित्रिएको थियो ।  विभिन्न जलवायू प्रारुपहरुले (क्लाइमेट मोडेल) यसवर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेका छन् । मनसुन अवधिमा १ हजार ४१२ मिलिमिटर वर्षालाई सरदर वर्षा भनिन्छ ।

गतवर्ष सरदरभन्दा बढी अर्थात क हजार ६४२.१ मिलिमिटर वर्षा भएको थियो । 

 



Developed by Smart Innovation