अझै एक साता मनसुन सक्रिय हुने

३० साउन, २०७८   |  इकोखबर

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । “वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुनेछ, वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ ।” उनले भने । 

देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

विभागले आइतबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोे औँल्याएको छ । 



Developed by Smart Innovation