पशुपंक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै महानगरपालिका

१८ चैत, २०७६   |  

काठमाडौँ महानगरपालिकाले विपत्को समयमा सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्ने भएको छ । यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि सार्वजनिकरूपमा रहेका पशुपक्षी, चराचुरुङ्गीलगायत मर्ने अवस्थामा पुगेका हुन् । तिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएको खान्थे । लकडाउनपछि  भोकै छन् । तिनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ४३औँ कार्यपालिका बैठकले आहारको व्यवस्था गर्ने निर्णय गरेको हो । 

बैठकले वडामा पठाइएको रकमबाट खर्च गर्ने गरी उनीहरुलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको छ । 

त्यसैगरी बैठकले कोभिड–१९ सम्बन्धी राहत वितरण मापदण्ड–२०७६ स्वीकृत पनि गरेको छ । कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै बन्द गरेको, मानिसलाई घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा महामारी नियन्त्रणको कामलाई मानवीय संवेदनामा आधारित बनाउन यसप्रकारको निर्णय गरिएको प्रमुख शाक्यको भनाइ छ । 

बैठकले पारित गरेको मापदण्डअनुसार अभिभावक नभएका, आफ्नो आयस्रोत नभएका, अनाथाश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर गुम्बा, मस्जिदजस्ता आश्रमस्थलमा रहेका अरुको सहयोग एवं सहारामा बाँचेका व्यक्ति असहाय हुन् । आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजारा गर्न धौधौ भएका र सम्बन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई अतिविपन्न परिवारमा राखिएको छ । 

त्यसैगरी सङ्गठित संस्थामा काम गर्नेबाहेक काठमाडौँ महानगरमा  विगतदेखि दैनिकरूपमा ज्याला मजदुरी गर्दै आएका काठमाडौँमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भनी मापदण्डले उल्लेख गरेको छ ।  

बैठकले ५०० जनासम्मलाई राख्न मिल्ने क्वारेन्टाइनको व्यवस्थापनका लागि ठाउँ खोजी गर्ने निर्णय गरेको छ । कोरोनाको सङ्क्रमणमाथि निगरानी बढाउन हिजो सार्वजनिक गरिएको प्रविधिमा आधारित प्रणालीलाई प्रभावकारी बनाउने बैठकले गरेको अर्को निर्णय हो । भित्री शहरी क्षेत्रमा चहलपहल कम गराउन थप कडाइ गर्ने पनि जनाइएको छ । यस क्रममा कामपाको सहयोगमा नियमित डाइलासिस गराउनुपर्ने मिर्गौलाका बिरामीले नियमित डाइलासिस गर्न नपाएर समस्या भएको विषय पनि चासोका साथ हेरिएको थियो ।



Developed by Smart Innovation