बाँदरबाट अन्नबाली जोगाउने नयाँ काइदा

२५ चैत, २०७७   |  इकोखबर

तनहु  जिल्लाको शुक्लागण्डकी नगरपालिकाले बाँदरले अन्नबाली खाएर सास्ती दिन थालेपछि बाँदर धपाउन नयाँ विधि अपनाएको छ ।

वन जङ्गलमा पर्याप्त आहारा नहुँदा कृषकले खेतबारीमा लगाएको अन्नबाली बाँदरबाट जोगाउन नसकेपछि पालिकाले नयाँ जुक्ति निकालेको हो । 

बाँदरले लगाएको खेती मात्रै नभई घरको कौशीमा राखेको अन्नबालीसमेत खाएर नोक्सान पु¥याउन थालेपछि शुक्लागण्डकी नगरपालिका–७ वडाले त्यस क्षेत्रका कृषकलाई अदुवा र बेसारको बीउ वितरण गरेको छ ।

दिनहुँ बाँदरको समस्याबाट देशभरका कृषक चिन्तित छन् । उक्त समस्या कम गर्दै उत्पादन बढाउन र कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले अदुवा र बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले बताए ।  

कृषकलाई ३३५ किलो बेसार र ५० किलो अदुवाको बीउ वितरण गरिएको छ । उनले भने , “वडाको अर्चले र न्यारथुमका विपन्न ३५ कृषकलाई भने ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ ।” खेत बारीमा लगाएको खेतीबाली बाँदरले सखाप पार्ने भएकाले वैकल्पिक खेती गर्न बीउ वितरण गरिएको उनले बताए । 

बेसार र अदुवा बाँदरले खाँदैन । उनले भने , “उत्पादन पनि राम्रो हुने भएकाले बीउ वितरण गरेका हौँ ।” बाँदरले क्षति पु¥याउने खेतबारीमा अदुवा र बेसार खेती प्रभावकारी हुने देखिएकाले कृषकको माग अनुरूप बीउ वितरण गरिएको सो वडा कार्यालयले जनाएको छ । कृषकको आवश्यकता र मागअनुसार वितरण गरेको उनले बताए । 

ज्याला मजदूरी गरी खाने परिवारमा एकदुई जना मानिस त खेती कुर्नै पर्ने भएकोले वैकल्पीक खेतीको रुपमा अदुवार बेसार खेती उपयुक्त रहेको उनले बताए। वडाले बाँदरबाट प्रभावित कृषकलाई राहत दिन चालु आर्थिक वर्षमा रु एक लाख बजेट विनियोजन गरेको थियो ।

शुक्लागण्डकी नगरपालिकाले लगाएको बालीनाली खाएर दुःख दिएको अन्य वडाको पहिचान गरी अदुवार र बेसारको बीउ वितरण गर्ने योजना रहेको बताइएको छ ।  



Developed by Smart Innovation