तिलोत्तमामा सुरु भयो एकीकृत बस्ती निर्माणतीन वर्षमा १२३ वटा अत्याधुनिक घर बन्ने

५ फागुन, २०७७   |  लक्ष्मण पौडेल

रुपन्देहीको तिलोत्तमामा आधुनिक बस्ती निर्माणका लागि आवास परियोजना सुरु भएको छ । लुम्बिनी अष्टदिप मल्टिनेशनल प्रा.लि.ले तीन वर्षमा सक्ने गरी आवास विकास परियोजना सुरु गरेको हो । परियोजनाको कुल लागत २ अर्व रुपियाँ छ । परियोजना अन्तर्गत तिलोत्तमा ७ भलवारीमा करिब ६ विगाह क्षेत्रफलमा १२३ वटा अध्याधुनिक सुविधा सम्पन्न घर निर्माण गरिने छ 

  सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवा–बुटवल सडक खण्डको भालबारी चोकदेखि १४ सय मिटर पूर्वमा निर्माण गरिने एकीकृत बस्तिमा खेल मैदान, बाल उद्यान, जिमखाना, स्वीमिङ पूल, कभर्ड हल, बास्केटबल कोर्ट, हेल्थ क्लब, रेष्टुरेण्ट, सैलुन तथा मन्दिरसमेत निर्माण गरिने छ । २६ फुट मूल बाटो तथा २४ फुटको सहायक बाटो रहने गरी नेपाल सरकारको शहरी विकास मापदण्ड अनुसार साढे २ तलाका भुकम्प रहित घर निर्माण गरिने प्रालिका अध्यक्ष नेत्रलाल बनले जानकारी गराए ।

विशेष गरी मध्यम वर्गको आर्थिक अवस्था भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिएको परियोजनामा जग्गा र घरको क्षेत्रफलको आधारमा पहिलो समूहमा १४ धुर जग्गामा २९ सय स्क्वायर फिटको घर निर्माण गरिने छ भने दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिने छ । एन्ट्रास्पेश टेक्निकल कन्सल्टद्वारा डिपिआर तयार पारी काम भइरहेको एकीकृत बस्तिमा पहिलो समूह अन्तर्गत घरका लागि २ करोड ५० लाख तथा दोस्रो समूह अन्तर्गतका घरका लागि सूचिकृत मूल्य १ करोड ७५ लाख कायम गरिएको छ । परियोजनाका लागि प्रालिले सेन्चुरी कमर्शिल बैंकसँग सहकार्य गरी घर लिन चाहनेहरुलाई अधिकतम २५ वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराउने छ ।

तीन वर्षभित्रमा परियोजना सम्पन्न गर्नेगरी काम गरिरहेको प्रालिले कुनै पनि ग्राहकले घर बुकिङ गरेको कम्तिमा ६ महिना भित्र उपलब्ध गराउने बताएको छ । हालसम्म निर्माण गर्न लागिएको आधुनिक बस्तिका लागि १५ वटा घरको बुकिङ भइसकेको कम्पनीले जानकारी गराएको छ । परियोजना अन्तर्गत बन्ने घरहरुको निर्माण कार्य सकिएर विक्री भइसकेपछि सार्वजनिक स्थान तथा बस्तिका लागि निर्माण गरिएका पार्क तथा विभिन्न संरचनाहरु सोही बस्तिलाई हस्तान्तरण गरिने अध्यक्ष वनले बताए ।

‘विशेष गरी सरकारी कार्मचारी, बैंकका कर्मचारी तथा विदेशमा रहेका नागरिकहरुलाई लक्षित गरी एकै आर्थिक अवस्था भएका व्यक्तिहरु जसले आधुनिक बस्ति र सुरक्षित बस्तीको चाहना राख्नेहरुलाई परियोजनाले समेट्ने छ,’ प्रालिका अध्यक्ष वनले भने, सरकारको योजनालाई समेत सहयोग गर्नेगरी एकीकृत र आधुनिक शहर विकासमा सहयोग पुग्ने हाम्रो अपेक्षा हो ।’ परियोजनामा गरिएको लगानीसँगै हाल करिब अर्बको जग्गा तथा संरचनाहरु रहेको उनले बताए ।

 



Developed by Smart Innovation