चिडियाखानाको गैंडाको खाना खर्च व्यहोर्ने प्रधानमन्त्रीको घोषणा

२० फागुन, २०७७   |  इकोखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा संरक्षित गैंडाका लागि अभिभावकत्व ग्रहण गर्दै एक महिनाको खाना खर्च निजी खर्चबाट व्यहोर्ने घोषणा गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्ववन्यजन्तु दिवसका उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले वन्यजन्तुप्रतिको प्रेमभाव दर्शाए । 

प्रधानमन्त्री ओलीले चिडियाखानामा राखिएका जनावरका लागि सरकारले वर्षभरीको खाना खर्च व्यहोर्दै आएको र आफूले एक महिनाका लागि गैँडाको खाना खर्च व्यहोर्ने घोषणा गरे । उनले भने , “प्रधानमन्त्रीका हैसियतले आफूले सरकारबाट पाउने रकम वर्षभरीको सबै कोरोना संक्रमण कोषमा दिएकाले श्रीमती राधिका शाक्यको निवृत्तिभरणबाट आउने रकमबाट गैँडाका लागि एक महीनाको खाना खर्च दिनेछौँ ।” सो अवसरमा प्रथम महिला शाक्य पनि सहभागी थिइन् ।

प्रधानमन्त्री ओलीले सदर चिडियाखाना सानो भएकाले आगामी दिनमा वन्यजन्तुको उद्धार तथा वन्यजन्तुको परस्थानीय संरक्षण, वैज्ञानिक अध्ययन अनुसन्धान तथा पर्या–पर्यटन अभिवृद्धिका लागि भक्तपुरको सूर्यविनायकमा बृहत् खालको चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषद्बाट स्वीकृत भई निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए ।  वन तथा वातावरण मन्त्रालयले सोका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दैछ ।

प्रधानमन्त्री ओलीले जावलाखेलको चिडियाखाना अवलोकन गर्नका लागि आउने ज्येष्ठ नागरिक, गर्भवती महिला अपाङ्गता भएका तथा बालबालिकालाई हिँडडुल गरी वन्यजन्तु अवलोकन गर्न समस्या हुने भएकाले यसका लागि सरकारका तर्फबाट चार वटा विद्युतीय बहान (रिक्सा) उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयलाई आवश्यक समन्वय गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । 



Developed by Smart Innovation