नेपालमा किटनासक औषधीको प्रयोग वर्षेनी निरन्तर रूपमा बढ्दै गईरहेको पाईन्छ । पछिल्लो सरकारी आँकडा अनुसार अहिले वर्षेनी सालाखाला २७ टन को दरले कीटनाशक औषधीहहरूको आयात बढ्ने गरेको देखिन्छ र २०७३/७४ को आर्थिक वर्षमा ७५ करोड मूल्य बराबरको ६३६ टन औषधी आयात भएको सरकारी तथ्याङ्क प्रकाशित भएको छ ।
आहारको लागी संसारमा मानिस र किरा फट्याङ्रा बीच अनादिकाल देखि नै तीब्र प्रतिस्पर्धा र द्वन्द्व चलीआएकोछ ।
खास गरी घुमन्ते शिकारी जीवन छाडेर एकै थलोमा बसी कृषि कर्ममा लाग्न थालेपछी मानिसले यो समस्या सङ्ग जुध्नुपर्ने बाध्यता आईपर्यो । शुरूमा थोरै जनसंख्या र प्रशस्त प्राकृतिक श्रोतहरु उपलब्ध हुंदा सम्म खासै ठूलो समस्या थिएन, तर जब जनसङ्ख्या बढ्दैगयो यो समस्याले क्रमशः ऊग्र रूप लिंदै गयो ।
धेरै मेहनत गरेर उत्पादन गरेको अन्न र फलफूलहरू आफुले उपभोग गर्न नपाई किरा फट्याङ्राहरूले सखाप पारेको टुलुटुलु हेरेर बस्नु सिवाय केही उपाय भएन र जस्ले गर्दा व्यापक खाद्य असुरक्षा र भोकमरीको समस्या समेत आईलाग्यो ।
त्यसपछी बालिनाली लाई किराफट्याङ्राहरूबाट जोगाउने उपायहरूको खोजी हुनथाल्यो र कालान्तरमा कीटनाशक औषधीहरुको विकास भयो । आज हामी संग किराफट्याङ्राहरू संग लड्नकोलागी एक से एक प्रभावकारी साधन र उपायहरु उपलब्ध छन्।
यो उपलब्धी हासिल गर्न सजिलो थिएन, यस्कोलागी मानव जातीलाई हजारौं वर्ष लाग्यो । कीटनाशक औषधीको प्रयोगको ईतिहास केलाउँदै जाँदा करीब चारहजार पाँचसय वर्ष पहिलेको समयमा पुगिंदो रहेछ ।
पुरातात्विक उत्खनन् र अन्यश्रोतहरुबाट प्राप्त जानकारी अनुसार त्यसबखत सुमेरियन सभ्यताको समयमा पुरानो मेसोपोटामिया हालको ईराक, टर्की, सिरिया र जोर्डन देशहरुले ओगटेको क्षेत्रमा पहिलो पटक कीटनाशक औषधीको प्रयोग भएको रेकर्ड भेटिंदो रहेछ र त्यसबेलाका मानिसले यस प्रयोजनको लागी सल्फरजन्य रसायन र यौगिकहरू प्रयोग गरेको प्रमाण पाईंदोरहेछ ।
यता नेपाल लगायत बृहत् भारतबर्षमा पनि बालीनालीमा लाग्ने किरा नियन्त्रण गर्न विषालु वनस्पतिको प्रयोग गर्ने चलन रहेको तथ्यबारे करिब चारहजार बर्ष पहिले लेखिएको हिन्दु धर्मको संभवतः सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदमा उल्लेख भएको पाईंदो रहेछ ।
त्यसबेला देखी उन्नाईसऔं शताब्दीको अन्त्यतिर सम्म कीटनाशक रसायनहहरुको विकास विस्तारै अघि बढ्यो तर केही नयाँ रासायनिक पदार्थहरुको प्रयोग बाहेक यस दिशामा कुनै खासै ठूलो क्रान्तीकारी परिवर्तन भएन ।
करिब सन् १९४० को दशक सम्म पनि यस प्रयोजनको लागी अकार्बनिक यौगिकहरु (अर्गानिक कम्पाउन्ड्स) को मात्र प्रयोग हुने गर्दथ्यो ।
तर सन् १९४५ मा द्धितिय विश्वयुध्द समाप्त भएपछी भने कार्बनिक रसायन शास्त्र (अर्गानिक केमिष्ट्री) को तीब्र विकाश सङ्गसङ्गै एक से एक नयाँ र अत्यन्त प्रभावकारी कीटनाशक औषधीहरुको निर्माण हुनथाले र तिनीहरुको प्रयोगमा पनि अत्यधिक बृध्दि हुन गयो ।
डिडिटी जस्ता अत्यन्त विषालु र शक्तिशाली कीटनाशकहरुको प्रयोग संसार भरी तीब्र रूपमा फैलियो ।
त्यसपछी नेपालमा त्यस्ता औषधीहरूको प्रयोग वर्षेनि निरन्तर रूपमा बढ्दै गईरहेको पाईन्छ । पछिल्लो सरकारी आँकडा अनुसार अहिले वर्षेनी सालाखाला २७ टन को दरले कीटनाशक औषधीहहरूको आयात बढ्ने गरेको देखिन्छ र २०७३/७४ को आर्थिक वर्षमा ७५ करोड मूल्य बराबरको ६३६ टन औषधी आयात भएको सरकारी तथ्याङ्क प्रकाशित भएको छ ।
हामीकहाँ कीटनाशक औषधीको खपत ज्यादै न्यून छ भन्ने गरिन्छ । हुन पनि अन्य देशहरूको तुलनामा हाम्रो सालाखाला प्रयोग दर निक्कै कम देखिन्छ पनि ।उदाहरणको लागी छिमेकी राष्ट्र भारतमा कीटनाशक औषधीको प्रयोग दर प्रति हेक्टर ०.५ किलोग्राम छ भने जर्मनीमा ३ किलोग्राम, अमेरिकामा ७ किलोग्राम, जापानमा १२ किलोग्राम र ताईवानमा १७ किलोग्राम सम्म रहेको देखिन्छ । नेपालमा भने पछिल्लो तथ्यांक अनुसार यसको प्रयोग सालाखाला ०.४ किलोग्राम प्रति हेक्टर मात्रै रहेकोछ ।
यसरि हेर्दा हाम्रो देशमा कीटनाशक औषधीको खपत एकदमै न्यून मात्रामा रहेकोले अरु देशको दाँजोमा हामी लगभग खतरामुक्त छौं भन्ने भान हुन सक्छ । तर के वास्तवमा स्थिती त्यही हो त रु यसको सही उत्तर प्राप्त गर्नकोलागी नेपालमा कस्ता किसिमका कीटनाशक औषधीहरू के प्रयोजनको लागी र कसरि प्रयोग भईराखेकाछन् भन्ने विषयमा विश्लेषण गर्नु आवश्यक छ ।
पहिले नेपालमा कस्ता किसिमका कीटनाशकहरू उपलब्ध छन् भन्ने कुरा हेरौं । मानव स्वास्थ्यमा र वातावरणमा पार्ने प्रतिकूल प्रभावको आधारमा कतिपय मुलुकहरूले धेरै हानीकारक कीटनाशकहरू लाई प्रतिबन्धित गरेकाछन् ।
छिमेकी भारतले २८ किसिमका र थाईल्यान्ड ले ८४ किसिमका त्यस्ता हानीकारक विषादिहरू लाई प्रतिबन्ध लगाएकाछन् भने नेपालले चाहिं हाल सम्म केवल १४ किसिमका खतरनाक कीटनाशकहरू लाई मात्रै प्रतिबन्धित गरिएकोछ ।
ज्यादै शक्तिशाली, मानिसको स्नायुप्रणालीमा असर पार्न सक्ने र क्यान्सर जस्तो खतरनाक रोग निम्त्याउन सक्ने औषधीहरू सजिलैसंग बजारमा ऊपलब्ध छन् । त्यसमाथी यदाकदा डिडिटि जस्ता अत्यन्त खतरनाक प्रतिवन्धित विषादी हरू पनि सीमा क्षेत्रमा उपलब्ध हुन्छन् भन्ने समाचारहरू सुन्नमा आईरहेकाछन् ।
दोश्रो, के को लागी भन्ने विषयमा धेरै जसो कीटनाशकहरु कृषि क्षेत्रमा र केहि मात्रामा घरेलु प्रयोजनमा खपत हुनेगरेकाछन् ।
कृषिमा पनि परंपरागत अन्न बालीमा भन्दा व्यावसयिक तरकारी र फलफूल खेतीमा अत्यधिक मात्रामा यसको प्रयोग देखिन्छ ।
व्यावसायिक कृषिमा प्रशस्त लगानी गर्नुपर्ने र अत्यधिक मेहनत पनि लाग्ने हुनाले त्यस्ता कृषक हरुले आफ्नो लगानी र मेहनत खेर नजाओस् भनेर हरसंभव प्रयास गर्नु स्वाभाविकै हो ।
त्यसैले बाली सखाप पार्ने किरा फट्यांग्रा र रोगहरुबाट बचावट गर्नको लागी उनीहरुले कीटनाशकहरुको प्रयोग गर्नु लाई नाजायज भन्न पनि मिल्दैन ।
तर थोरै औषधी प्रयोग गरे पुग्ने ठाउँमा जति धेरै औषधी हाल्यो उति धेरै रोग र किराहरु नियन्त्रण हुन्छन् र बढी फाईदा हुन्छ भन्ने गलत बुझाईले गर्दा चाहिनेभन्दा कैयौं गुणा बढी मात्रामा कीटनाशकको प्रयोग गर्ने प्रवृत्ति देखापरेकोछ ।
केहि अनुसन्धानहरुले व्यावसायिक तरकारी खेती हुने ठाउँमा चाहिनेभन्दा चार पाँच गुणा बढी कीटनाशक प्रयोग भईरहेको देखाएका छन् ।
वास्तवमा त्यस्तो अत्यधिक मात्रामा प्रयोग गरेको कीटनाशक न प्रभावकारिताको दृष्टिकोणले न त आर्थिक दृष्टिकोणले फाईदाजनक हुन्छ ।
त्यसमाथी पनि नेपालमा विषादिको प्याकेटमा लेखिएको निर्देशिका हेरेर त्यसमा सिफारिस गरेको मात्रा र तरिका अपनाएर प्रयोग गर्ने चलन धेरै कम छ । हद भयो भने स्थानीय एग्रोभेट, जो संग औषधी किनेको हो, उसैको सल्लाह वमोजिम गर्ने हो, नत्र धेरैजसो अन्दाजकै भरमा काम चलाउने चलन छ ।
अनि एग्रोभेटले एक लिटर पानीमा एक बिर्को हाल्ने भन्यो भने उपभोक्ताले धेरै किरा मार्ने भनेर दुई बिर्को हालीदिने चलन पनि नभएको हैन । यसबाट के देखिन्छ भने तथ्यांकले सालाखालामा अत्यन्तै न्यून मात्रामा खपत भएको देखाएतापनि खासमा जहाँ त्यस्ता विषादीहरुको प्रयोग हुन्छ त्यहाँ चाहिने भन्दा धेरै बढी मात्रामा प्रयोग भईरहेको देखिन्छ र थोरै मात्रामा प्रयोग गरेकोले खतरा छैन भन्ने बुझाई गलत सावित हुन आउँछ ।
तर धेरैजस्ता प्रयोगकर्ताहरुले यस्ता विधीहरु अपनाएको देखिंदैन । यहाँ सम्म कि, कति ठाउँमा त एक हात ले चुरोट तान्दै अर्को हातले औषधी छर्किरहेको दृष्य पनि देख्न पाईन्छ ।
यस्तो लापर्वाहीले गर्दा तत्कालै गम्भीर दुर्घटना निम्त्याउन सक्छ र यदाकदा त्यस्ता प्रकृतिका समाचारहरु पनि आईरहेकैछन। । केहिगरी तुरुन्तै असर नदेखाएतापनि यस्ता बानीले कालान्तरमा क्यान्सर जस्ता अत्यन्त जटिल र असाध्य रोगहरु निम्त्याउन सक्छन् । त्यसैले यस्ता बानी र प्रवृत्तिहरुमा तुरुन्तै सुधार ल्याउनु अति आवश्यक छ ।
हालसालै क्यानाडा स्थित अन्तर्राष्ट्रिय विकास तथा अनुसन्धान केन्द्र (आईडिआरसी) सङ्गको सहकार्यमा नेपाल पानी सदुपयोग फाउन्डेशन ले गरिरहेको जल उत्पन्न प्रकोप सम्बन्धी अध्ययनको सिलसिलामा के देखियो भने ग्रामीण समाजका अरु सदस्यहरुको दाँजोमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र शारिरीक अपाङ्गता भएका ब्यक्तिहरु कीटनाशकको गलत प्रयोगबाट स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव बढी मात्रामा झेल्न वाध्य छन् ।उदाहरणको लागी पुरुषहरु भन्दा कम शिक्षित भएकाले महिलाहरु कीटनाशकहरुको बोतल अथवा प्याकेटहरुमा तिनीहरुको सही प्रयोग गर्ने तरिका लेखिएको सन्देश पढ्न सक्तैनन् र परिवारका अन्य सदस्यहरुले पनि उनीहरुलाई त्यसबारे जानकारी दिनुपर्छ भन्ने ठान्दैनन् ।
यस्तो परिस्थितीमा महिलाहरुले त्यस्ता औषधी प्रयोग गर्दा सामान्यतया अपनाउनुपर्ने सावधानी अपनाउन सक्दैनन् र दुर्घटनाको शिकार हुन पुग्दछन् । त्यस्तै, बृध्द(बृध्दा, बाल(बालिका, र आँखा कमजोर भएका व्यक्तीहरु पनि झुक्किएर त्यस्तो दुर्घटनाको जोखिममा परेका उदाहरणहरु पनि प्रशस्तै भेटिन्छन् ।
यस बाहेक अर्को एउटा अत्यन्त गंभीर तर ओझेलमा परेको विषय के छ भने एक ठाउँमा प्रयोग गरेको कीटनाशकको केही अंश हावा र पानीको माध्यम बाट धेरै टाढा टाढा सम्म पुग्न सक्छ ।
वैज्ञानिक अनुसन्धान बाट के देखिएकोछ भने झोल अथवा धुलोको रूपमा छर्केको कीटनाशक औषधीको बढीमा पाँच प्रतिशत मात्रै बोट बिरुवाहरूमा पर्दछ र बाँकी ९५ प्रतिशत मध्ये केही अंश हावाले उडाएर अन्यत्रै पुर्याउँछ, केही अंश पानीमा मिसिएर खोलानाला र जलाशयहरुमा पुग्दछ र बाँकी अँश माटोमा मिसिएर रहन्छ अथवा भूमिगत पानीमा मिसिएर फेरि जलाशयहरुमा पुग्दछ ।
यसरि जलाशयमा मिसिएको विषादिले पानी लाई विषाक्त पार्ने मात्रै हैन पूरै वातावरण, जैविक प्रणाली र मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्दछ ।
माथी उल्लेखित अनुसन्धानको क्रममा केही अनुत्तरित प्रश्नहरू उजागर भए । जस्तै, केही वर्ष अघि सम्म राम्रोसङ्ग फस्टाएको ईन्द्रसरोवरमा माछा पालन गर्ने व्यवसाय पछिल्ला केही वर्षहरूमा विना कारण माछाहरू मर्न थालेकाले लगभग धराशायी हुन पुग्यो ।
त्यस्तै, चितवनको राष्ट्रीय निकुञ्जहरूमा वर्षेनी धेरै संख्यामा गैंडाहरू अज्ञात कारणले मर्ने गरेको पाईयो, जुन कुरा हालसालै समाचार पत्रहरूले पनि पुष्टी गर्दै आईरहेकाछन् ।
यस्ता घटनाहरू के कारणले भईरहेछन् भन्ने विषयमा विभिन्न व्यक्तीहरूको वेग्लावेग्लै विचार र विशलेषणहरू रहेकाछन् जस्तै वर्षाको भेलको प्रभावले अथवा विषालु घाँस र प्लास्टिक खानाले, ईत्यादि । यी सवै कारणहरुमा आँशिक सत्यता नभएको हैन, तर कृषिमा विषादीको प्रयोग र त्यसले पानीलाई प्रदूषित पारेर यस्ता घटनाहरु हुन सक्ने बारै धेरै कम मानिसहरुको ध्यान गएको पाईयो ।
हाम्रो स्थलगत अध्ययन र विष्लेषणको आधारमा विषादीको प्रयोग र पानीको प्रदूषण बीचको यो अन्तर्सम्बन्ध बलियो रूपमा देखापर्यो ।
उदाहरणको लागी त्रिभुवन राजपथको नजिकै पर्ने पालुङ्ग उपत्यका व्यावसायिक तरकारी खेतीको लागी प्रसिद्ध छ जहाँ अत्यधिक मात्रामा कीटनाशक औषधीहरुको प्रयोग हुन्छ । त्यसरि प्रयोग भएको विषादीको ठूलो अँश नजिकैको खोल्सा र खोला(नाला हुँदै तल रहेको कुलेखानीको ईन्द्रसरोवरमा मिसिन पुग्दछ र स्वभावतः त्यहाँको पानीलाई प्रदूषित पार्दछ ।
यसरि विषादीले पानी त प्रदूषित हुन्छ नै, तर त्यसभन्दा बाहेकको अर्को जैवीक प्रकृया पनि निरन्तर चलिरहेको हुन्छ, जस्को बारेमा खासै चर्चा र बहस भएको पाईंदैन । त्यो विषय हो, प्राकृतिक खाद्य श्रृंखलामा विषादीको असर । ठूला प्राणीले क्रमशः आफुभन्दा साना प्राणीलाई आहारा बनाएर जीवनयापन गर्ने प्राकृतिक प्रकृयालाई खाद्य श्रृंखला भनिन्छ र यो प्रबृत्ति जलचरहरूमा बिशेष प्रबलताको साथ देखा पर्छ ।
उदाहरणकोलागी, पानीमा पाईने सूक्ष्म बनस्पति , त्यहाँ पाईने सूक्ष्म जिवाणु, किरा फट्याङ्रा र साना माछाका आहार हुन् र ती किरा फट्याङ्रा र साना माछा चाहिं ठूला माछाका आहार हुन पुग्दछन् ।
यसैगरी जलाशयहरूमा खाद्य(श्रृंखला निरन्तर चलिरहन्छ । वैज्ञानिक अनुसन्धानले के देखाएकोछ भने जव यो खाद्य(श्रृंखलामा विषाणु प्रवेश गर्छ र आहारको माध्यमबाट सानो जीव देखी ठूलो जीवहरूमा स्थानान्तरण हुँदै जान्छ तव त्यसको घुलित मात्रा क्रमशः बढ्दै जान्छ ।
अर्थात, ठूलो जलाशयको पानीमा विषादीको घुलित मात्रा कम देखिएतापनि आहारको माध्यमबाट ठूलो माछामा पुग्दा सम्म त्यसको मात्रा कैयौंगुणा बढी हुन पुग्दछ र त्यस्तो दुषित माछा खानु स्वास्थ्यको लागी हानीकारक हुन सक्दछ ।यी त भए समस्याहरू ।
अव यी समाधान कसरि गर्ने भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिन्छ । भनिन्छ, समस्याको राम्रो पहिचान नै त्यसको समाधानको तर्फको पहिलो कदम हो । हो, समस्या जटील छ, तर समाधानका उपायहरू पनि नभएका हैनन् र केही हद सम्म विभिन्न निकायहरूबाट राम्रा प्रयासहरू पनि भएकाछन् ।
उदाहरणको लागी, सरकारले विषादी नियंत्रण, अनुगमन र नियमनको लागी राम्रा योजनाहरू बनाएकोछ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैह्र(सरकारी संस्थाहरूले स्थानीय निकायहरू संगको सहकार्यमा विषादी प्रयोग सम्वन्धी सूचना प्रवाह, एकीकृत कीट व्यवस्थापन, ईत्यादी विभिन्न कार्यक्रमहरू संचालन गरेकाछन् । कृषक र अन्य प्रयोगकर्ताहरू पनि पहिले भन्दा धेरै सुसूचित र सजग भएकाछन् ।
तर यत्तिकैमा चुप लागेर बस्ने अवस्था छैन किनभने कीटनाशकको अत्यधिक प्रयोग र दुरुपयोग संबन्धी समाचारहरुमा कुनै कमी आएको देखिंदैन । अझ त्यसमाथी पनि यसको प्रयोग बाट हुने दूरगामी प्रभाव तथा जलाशयहरु र भूमीगत पानीको माध्यमबाट स्थानान्तरण हुने जस्ता विषयहरूमा उचित ध्यान पुग्न सकेको छैन ।
जटील समस्या भएकोले एउटै निकायबाट समाधानको अपेक्षा गर्नु पनि न्यायसंगत हुंदैन । यस्को लागी सरकारी तथा गैह्रसरकारी निकायहरू, स्थानीय सामाजिक सङ्घ संस्थाहरू र सबै सरोकारवालाहरू बीच बलियो समन्वयात्मक सहकार्यको खाँचो छ ।
सरकारको तर्फबाट हाल उपलब्ध नीति नियम अन्तर्गत अथवा आवश्यक परेमा नयाँ नीति नियमहरू बनाएर चुस्त तरिकाले कार्यान्वयन गर्नमा विशेष ध्यान पुर्याउनु पर्दछ । श्रोत, साधन र जनशक्तीको अभाव देखाएर पन्छिन मिल्दैन ।
आम नागरिकले पनि एकातिर सरकारले कामै गर्दैन भनेर सरकारको निन्दा गर्ने र अर्कोतिर आफु चाहिं सजग नहुने, हेलचक्रयाईं गर्ने र जथाभावी तरिकाले काम गर्ने बानी त्यागेर आफ्नो तहबाट न्यूनतम मापदण्डहरू पालन गर्नु जरूरीछ । हाल मुलुकले अपनाएको संघीय शासन व्यबस्था अन्तर्गतका नगरपालिका गाउँपालीका र ती अन्तर्गतका वडाहरूले यस कार्यममा प्रभावकारी समन्वयात्मक भूमिका निभाउन सक्दछन् ।
साँच्चिकै उच्च मनोवल भएको नेतृत्वले समस्याको सही पहिचान गरी सवै सरोकारवालाहरूलाई साथमा लिएर अघी बढ्ने हो भने सहजै समस्याको समाधान हुनेछ भन्नेमा कुनै शंका छैन, केवल ईच्छाशक्तीको खाँचो छ । यस्तो प्रभावकारी नेतृत्व माथीबाट थोपरेर आउने हैन स्थानीय तहबाटै प्रादुर्भाव हुनु पर्छ र हुन सक्दछ भन्नेमा विश्वास गरौं । अस्तु ।
लेखक नेपाल पानी सदुपयोग फाउण्डेशनसंग आबद्ध छन् ।