नेपालमा बाघको संख्या बढेर २६५ पुग्यो, लक्ष्यभन्दा बढी

२७ जेठ, २०७९   |  इकोखबर

नेपालमा बाघको संख्या २६५ पुगेको छ । सन २०१८ को गणनामा नेपालमा २३५ बाघ पाइएकोमा यसवर्ष गरिएको गणनामा बाघको संख्या बढेर २६५ पुगेको हो । “अहिले सम्मको डेटा विश्लेषणको आधारमा बाघको संख्या २६५ भन्दा बढी पुग्ने देखिएको छ” वन तथा वातावरण मन्त्रालय स्रोतले भन्यो । 

गणनामा अपेक्षा गरेभन्दा बढी बाघको संख्या बढेको पाइएपछि वन तथा वातावरण मन्त्रलयका अधिकारी हौसिएका छन् । यसवर्ष बाघको संख्या २५० को हाराहारीमा पुग्ने अनुमान गरिएको थियो । तर, अनुमान गरिएभन्दा बढी बाघ गणनामा भेटिएका छन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत मंसिर १९ देखि बाघ गणना सुरु गरेको थियो । 

पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा बाघको वासस्थान भएका राष्ट्रिय निकुञ्ज हुन् । कुन निकुञ्जमा कति बाघको संख्या घटबढ भयो भन्ने अध्ययन अझै सकिएको छैन । “समग्रमा बाघको संख्या बढेको छ, कुन निकुञ्जमा कति बाघ बढे हामीले त्यो छिट्टै सार्वजनिक गर्छौ,” आफ्नो नाम उल्लेख गर्न नचाहने मन्त्रालयका ती अधिकारीले भने । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेल भने प्राविधिक टिमले तस्वीरहरुको विश्लेषण गरिरहेको र असारको अन्त्यसम्म त्यो काम सक्ने बताए । “जहाँ गएपनि बाघ देखिएको छ । बाघको संख्या त बढ्नै पर्यो नि,” उनले भने । 

विश्व बाघ दिवसको अवसरमा आउँदो २७ जुलाईमा बाघ गणनाको नतिजा सार्वजनिक गर्ने सरकारको तयारी छ । 

सन २०१० मा रुसको पिट्सवर्गमा भएको बाघ सम्मेलनमा बाघ पाइने १३ देशका कार्यकारी प्रमुखहरुले सन २०२२ सम्ममा बाघको संख्या दोहो¥याउने प्रतिबद्धता जनाएका थिए ।

सन २०१० मा नेपालमा बाघको संख्या १२१ रहेको थियो ।  सन २०१८ को गणनामा  चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ पाइएका थिए । 

सन २०१३ मा गरिएको गणनामा  चितवनमा १ सय २०, बर्दियामा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सामा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा गरी नेपालमा १ सय ९८ वटा बाघ पाइएको थियो । 
बाघको संख्यामा वृद्धिभएसंगै पछिल्ला वर्षमा बाघको आक्रमणबाट हुने घटनामा पनि वृद्धि भएका छन् । 



Developed by Smart Innovation