बर्खामा भेल, अघिपछि हात्ती र बाघको गर्जन

२६ मंसिर, २०७९   |  रमेशकुमार पौडेल

चितवन — दुईतिर फर्काएर माइकका ठूला ढ्वाङ राखेको झन्डै डेढ सय मिटर अग्लो टावरमा जब साइरन बज्छ, गाउँले कान ठाडा पार्छन् । केहीबेर साइरन बजेपछि ४२ वर्षीय जोखन महतोले माइकमा फुक्छन्, ‘ल है हात्ती निस्केको छ, सतर्क रहनुहोस् ।’ माडी नगरपालिका ३ मा पर्ने सिमरामा जंगली हात्तीले क्षति नपुर्‍याओस् भनेर जोखन माइकमा चिच्याउने गरेका हुन् ।

सिंगो माडी नगरपालिका चितवन राष्ट्रिय निकुञ्ज र वनले घेरिएको छ । वन्यजन्तुले स्थानीयलाई दिनुसम्म दुःख दिन्छन् । यहाँ दर्जनौं खहरेले बर्खायाममा अर्को पीडा थप्छन् । यस्तो दोहोरो मारमा सबैभन्दा बढी परेको बस्ती हो सिमरा । सिमराको उत्तरी सिमाना निकुञ्जसँग जोडिएको छ । दक्षिणमा रिउ खोला बगेको छ । हिउँदमा शान्त रहने रिउ बर्खामा उर्लेर आउँछ । बाढी आएपछि गाउँ जलमग्न हुन्छ । आपत् परे पनि गाउँबाट निस्कन गाह्रो हुन्छ ।

माडी–३ का वडाध्यक्ष पुरन महतो सिमरा निकै पुरानो थारू बस्ती भएको बताउँछन् । माडीमा बस्ती रहेका बेला सिमरामा पनि बसोबास सुरु भएको उनले सुनाए । १९९० सालसम्म त उनका बाबुबाजे पनि त्यतै बस्थे । खोला र वन्यजन्तुले दुःख दिन थालेपछि बिस्तारै बसाइँ सर्न थाले । वडाध्यक्ष महतोका अनुसार १५ वर्षअघिसम्म यहाँ करिब १ सय ५० घर थिए, अहिले ७७/७८ मात्रै छन् । ‘एक परिवार दलितबाहेक सबै थारू समुदायका हुन् । यो निकै नै पुरानो थारू बस्ती हो । थारूहरू मर्का सहेर पनि आफ्नै ठाउँमा बस्ने स्वभावका हुन्छन् । यहाँ थारू मात्रै नभएको भए वर्षौंअघि यो बस्ती खाली हुने थियो,’ वडाध्यक्ष महतोले भने ।

रामकिशोर महतो ७३ वर्षका भए । उनीहरू यहाँ २०२५ सालदेखि बस्दै आएका हुन् । पहिला माडी वसन्तपुर नजिकको इनरबरुवा भन्ने थारू गाउँमा बसेका थिए । ‘त्यहाँ आफ्नो नाममा जग्गा थिएन । बाले हामीलाई यो ठाउँमा ल्याएर राख्नुभयो । यो ठाउँको दुःख देखेर सक्नेहरूले घडेरी किनेर अरू ठाउँमा घर बनाएका छन् । तर, हामी सक्दैनौं । जस्ताको छाना राख्न त सकिएन । कसरी बाहिर घडेरी किनेर घर बनाउने ?,’ रामकिशोरले सुनाए । यहीं बस्नु भनेको बाढी र वन्यजन्तुको सास्ती खेप्नुपर्ने उनी सुनाउँछन् । निकुञ्ज आडैमा भएका कारण सबैखाले जनावरको डर छ, हात्तीले बढी सताउँछ । ‘यो मेरो घर पनि हात्तीले पटक–पटक भत्काएको छ । दुई वर्षअघि सबै कुचुकमुचुक पार्‍यो । ज्यान त जोगियो तर घर भत्कियो,’ उनले सुनाए । यसपालि २५ दिनअघि उनको घरदेखि पर मनमाया नेपालीको घर हात्तीले भत्कायो । हात्ती गाउँ पसेको सूचना दिने जिम्मेवारी पाएका जोखन महतोका अनुसार वर्ष दिनका बीचमा हात्तीले मनमायाको घर दोस्रो पटक भत्काएको हो । ‘सिमरामा हात्तीले नहानेको एउटै घर छैन,’ जोखनले भने, ‘धान पाक्ने पाक्ने बेला हूलका हूल आउँछन् । धान जोगाउने कि मान्छेले जीउ जोगाउने भन्ने डर हुन्छ ।’

एक गैरसरकारी संस्थाको सहयोगमा यहाँ हात्तीबारे सूचना दिने व्यवस्था भएको हो । गाउँतिर हात्ती आएको देखेपछि जोकोहीले पनि जोखनलाई भन्छन् । उनी माइकबाट फुकेर टाढासम्म खबर पुर्‍याउँछन् । ‘धान खान पसेको हात्ती धपाउन निकै गाह्रो छ । ट्र्याक्टर नै लगेर लखेट्दा त टेर्दैन । मान्छे मात्रैले कसरी लखेट्नु ?’ स्थानीय प्रेमनारायण महतोले भने । ७३ वर्षकी सुभगिया महतो घाँसदाउरा गर्दा भालु र कुनै बेला बाघसँग पनि जम्काभेट भएको बताउँछिन् ।

गाउँमा ३ कक्षासम्म मात्रै पढाइ हुने स्कुल छ । यहाँका बालबालिका ४ कक्षा पढ्न चार–पाँच किलोमिटर पर वसन्तपुर जान्छन् । ‘हामी लौरो बोकेर बच्चाहरूलाई खोला तारेर स्कुल पठाउँछौं । बाढी आउने समयमा तर्न सकिँदैन । अरू बेला पनि खोला आडको खर र काँसको ढड्डीमा बाघ, भालु लुक्न सक्ने भएको हुँदा केटाकेटीहरूलाई एक्लै पठाउँदैनौं,’ प्रेमनारायणले भने । ६३ वर्षका गोपी महतो बच्चादेखि भोग्दै आएको दुःख यो उमेरमा पनि कम नभएको सुनाउँछन् । ‘बाघ, भालु, हात्ती–गैंडाको डर त यथावतै छ । बाढीको समस्या पनि उस्तै छ । कम्तीमा रिउ खोलामा एउटा पुल त बन्नुपर्ने नि, बाढी आएका बेला कोही बिरामी परे यता मान्छे छटपटिने उता रिउ उर्लेर तार्न नसकिने हुन्छ,’ गोपीले भने ।

वडाध्यक्ष पुरन महतो रिउमा पुल बनाउन गतवर्ष ठेक्का लागेको बताउँछन् । मंसिरभित्र सकिनुपर्ने ३ सय ३६ मिटर लामो झोलुंगे पुलको कामको बल्ल सुरसार भइरहेको उनले बताए । ‘रिउमा एक किलोमिटर जति तटबन्धन भएको छ । यसले धेरै राहत दिएको छ । तर अझ कमसेकम सात–आठ किलोमिटर तटबन्धन नगरी सिमरा सुरक्षित हुन्न । हामी त्यो योजना यहाँ ल्याउने प्रयासमा छौं,’ वडाध्यक्ष महतोले भने । निकुञ्जतर्फ अग्लो बाँध बाँधेर तारबार गरेका कारण धेरै जनावर आउन नपाएको उनले बताए । यहाँको दुःखले हैरान भएका छलाही महतो सरकारले कि बस्ती पूरै सुरक्षित बनाउनुपर्ने नभए सार्नुपर्ने बताउँछन् । तर, वडाध्यक्ष महतो बस्ती स्थानान्तरणको सम्भावना नै नभएको बताउँछन् । ‘माटो मलिलो छ । उब्जाउ राम्रो हुन्छ । वन्यजन्तुबाट मान्छे र बाली जोगाउन सके बाढी बस्ती पस्नबाट रोके अनि रिउमा झोलुंगे पुल राखे यो ठाउँ सुरक्षित पनि हुन्छ । बसाइँ सर्ने हैन यहाँ पर्यटक घुम्न आउने क्षेत्र बन्छ,’ वडाध्यक्ष महतोले भने ।



Developed by Smart Innovation