पृथ्वीको कथा : सृष्टिदेखि प्रलयसम्म !

६ भदौ, २०७९   |  घनश्याम खड्का

प्रत्येक दिन सूर्य हामीलाई भेट्न आइपुग्छ, प्रत्येक रात आकाशगंगा टिमटिमाउँछ, टाढा कतै तारा खस्छ ! यस्तो मोहक ग्रह, तारा, घाम, जून र यो सारा ब्रह्माण्डको जन्म कहिले भयो होला ? विज्ञान भन्छ– १३ अर्ब ७० करोड वर्षअघि । त्यसअघि विशाल शून्यताको समय थियो । न त्यहाँ ग्रह थियो, न तारा थिए, न थियो प्रकाश नै ।

हावा, माटो, पानी र आगो हुने त झन् कुरै थिएन । जीवनको यहाँ कल्पना गर्न पनि सकिने अवस्था भएन । यस्तैमा अकस्मात महाविस्फोट अर्थात् बिग ब्याङका कारण पदार्थ र ऊर्जाको उदय भयो । त्यसपछि अणु र परमाणुहरू देखापरे (एन्ड्रियु मार्, ए हिस्ट्री अफ द वर्ल्ड, प्यान बुक्स, २०१२) ।

 

संसारको सुरुवात कसरी भयो भन्ने अनेकौं परिकल्पनामध्ये महाविस्फोटको सिद्धान्त एउटा हो । मानिसले ब्रह्माण्ड–उत्पत्तिको रहस्यलाई हेर्न दुई बेग्लाबेग्लै चस्माको प्रयोग गर्दै आएको छ । एउटा चस्माको नाम धर्म हो, अर्को विज्ञान । धर्म भन्छ– यो ब्रह्माण्ड र जीवन ईश्वरको सृष्टि हो । यसमा प्रशस्त सन्देह गर्ने विज्ञानले उत्तरमा तेर्स्याएको महाविस्फोटको परिकल्पना पनि एक विश्वास मात्रै हो, निश्चय होइन । वैज्ञानिक आविष्कारको अनेक चमकधमकपछि मंगल ग्रहमा बसाइँ सर्ने तयारीमा जुटिसक्दासमेत मानव मस्तिष्कले अलिकति पनि भेउ पाउन नसकेको कुनै रहस्य छ भने त्यो यही सृष्टिको रहस्य हो, जसको शून्यबाट सुरुआत कसरी भयो भन्न सकिन्न । अहिलेलाई विज्ञानको चस्माले देखेको महाविस्फोटकै कल्पनालाई यसको सुरुआतको आधार मानौं । किनभने यसको निचोड मधुकैटबको हाडमासुबाट बनेको पृथ्वी (जमिन) र रगतबाट बनेको पानी (समुद्र) भन्दा बढी तर्कपूर्ण छ ।

जे होस्, एक महाशून्यबाट ऊर्जा अनि ऊर्जाबाट अर्बौं वर्षसम्म अणु र परमाणुको अन्तरघुलनले पदार्थको जन्म भयो र ती आपसमा खाँदिन पुग्दा ग्रहहरू जन्मिए । त्यसमा पृथ्वी पनि सामेल भयो । यो थियो साढे चार अर्ब वर्षपहिलेको परिघटना (एन्ड्रियु मार्... प्यान बुक्स, २०१२) । त्यसपछि ७० करोड वर्षसम्म अनेक किसिमका ग्यासले कहिले तात्दै र कहिले सेलाउँदै पृथ्वीमा यस्तो पर्यावरणको सृजना भयो, जहाँ जीवनको प्रादुर्भाव सम्भव हुन गयो । जीवाश्म विज्ञानको खोजले भन्छ– यही तीन अर्ब ८० करोड वर्षपहिले पानीमा जीवको उदय भयो, एक कोषका रूपमा । घाम, पानी, हावा र अनेक रसायनसँगको प्रतिक्रियाले करोडौं वर्षमा एक कोषबाट बहुकोषयुक्त जीवको विकास भयो । विकासको यसै अनुक्रमले के भन्छ भने साठी लाख वर्षपहिले आजको मानवको आदिम रूप चिम्पान्जीको एक अलग प्रजाति देखा पर्‍यो (कार्ट मिल, न्यु भ्युज अन प्राइमेट्स वरिजिन, इभोलुसनरी एन्थ्रोपोलेजी, १९९२) ।

यो थियो डाइनोसोर विलुप्त भएको साठी करोड वर्षपछिको कुरो । त्यसको धेरैपछि आएर पच्चीस लाख वर्षपहिले अफ्रिकामा मानव सदृशः प्रजातिको उदय भयो । त्यसको ५ लाख वर्षपछि मानवहरू अफ्रिकाबाहिर निस्केर युरोप पुगे, जहाँ नियान्डरथल र अन्य मानव प्रजातिको विकास भयो । नियान्डरथल त्यतिबेलाको शक्तिशाली मानव थियो, जसले पृथ्वीमा कम्तीमा तीन लाख वर्षसम्म एकछत्र राज गर्‍यो । तीन लाख वर्षअघि उसले आगोको आविष्कार गर्‍यो । त्यसको एक लाख वर्षपछि मानिसले दिनहुँ आगोको प्रयोग गर्न थाल्यो (हरारी, सापियन्स, ए ब्रिफ हिस्ट्र अफ म्यानकाइन्ड, २०१४) ।

आज हामीले मानव भनेर आफूलाई बुझ्ने प्रजाति होमो सापियन्स हो । यद्यपि आजसम्मको खोजले के देखाउँछ भने तीन लाख वर्षपहिले यस ग्रहमा कम्तीमा ९ प्रजातिका मानिस अस्तित्वमा थिए । जस्तो कि नियान्डरथल, डेनिसोभा, होमो इरेक्टस, होमो रोडेसियन्सिस, होमो नलेदी, होमो लुजोनेसिस, होमो फ्लोरोसिएन्सिस तथा चीनका गुफाहरूमा बस्ने रहस्यमयी राता मानव र होमो सापियन्स(निक लङग्रिच, दिअर युस्ड टु बी नाइन स्पेसिस अफ ह्युमन, ह्वाट ह्यापेन्ड टु देम ?, नेसनल पोस्ट, २३ नोभेम्बर, २०१९) । अरू सबै जीवाश्मशास्त्रीजस्तै बेलायतको प्रसिद्ध बाथ विश्वविद्यालयका प्राध्यापक लङग्रिच पनि प्रश्न गर्छन्– आखिर बाँकी मानव प्रजाति कसरी विलुप भए ?

वंश नै विनाश हुनेगरी ज्वालामुखी विस्फोटन, भूकम्प वा कुनै त्यस्तै महाविपद् आइलागेको प्रमाण जीवाश्म विज्ञानले भेटेको छैन । बरु उत्खननहरूबाट प्राप्त प्रमाणले यी सबैको वंश विनाशको एउटै अभियुक्तलाई संकेत गरेका छन्– होमो सापियन्स। परिस्थितिको आकलन गरी सम्भावित परिदृश्य सोच्न सक्ने अनि रणनीति बनाउन, फेर्न र अरूलाई छक्याउन, आफूहरूबीच समूहमा काम गर्न सक्ने खुबीले होमो सापियन्स अब्बल साबित भयो । एउटै जंगलमा दुई सिंह बस्न सक्दैन र एक म्यानमा दुई तरबार अट्न सक्दैन भन्ने उखान हाल्ने हाम्रा आदिम पुर्खाले अरू मानवको अस्तित्वमा आफ्नो विनाशको आशंका गरे । अनि साम, दाम, दण्ड र भेदको उपाय अवलम्बन गरी प्रत्येकको वंश विनाश गरे (निक लङग्रिच... नेसनल पोस्ट,...) । ‘हो, हामी होमो सापियन्स डरलाग्दो सिकारी हौं,’ लङग्रिच भन्छन्, ‘खुंखार जनावरलाई मात्रै होइन, हामीले अरू मानव जातिलाई पनि परास्त गर्‍यौं र पृथ्वीको एक्लो विजेता बन्यौं ।’

मान्छे यसरी शक्तिशाली हुनुका कारणमाथि इजरायलको तेल अभिभ विश्वविद्यालयका प्राध्यापक युवल नोहा हरारीले लेखेको माथि उद्धृत चाखलाग्दो पुस्तकमा तीन मूल कारण भएको निष्कर्ष निकालेका छन्– संज्ञानात्मक क्रान्ति, कृषि क्रान्ति र वैज्ञानिक क्रान्ति ! बाह्र हजार वर्षदेखि पृथ्वीमा एक्लै राज गर्दै आएको होमो सापियन्स कुनै समय बाघका अघिल्तिर मृग वा खरायोजस्तै अन्य बलिया प्राणीका अघिल्तिर दुर्बल थियो । कम्तीमा २ लाख ७० हजार वर्षसम्म हाम्रा पुर्खा अरूको सिकारका कारण वंश विनाश हुनबाट जोगिन कष्टपूर्ण समयबाट गुज्रनुपर्‍यो ।

सत्तरी हजार वर्षअघि भने उनीहरूको विकासमा अभूतपूर्व चमत्कार भयो किनभने उनीहरूमा संज्ञानात्मक क्रान्ति अर्थात् सोचविचार गर्न सक्ने खुबीको उदय भयो । यही खुबीकै कारण यस प्रजातिलाई जीवशास्त्रीहरूले नाम दिए– होमो सापियन्स अर्थात् बुद्धिमान मानिस । नियान्डरथल, डेनिसोभालगायत अरू प्रजातिका मानिस सापियन्सभन्दा शारीरिक रूपले सुगठित र बलिया भए पनि बुद्धिमान थिएनन् । त्यसैले उद्विकासको अनुक्रममा ७० हजार वर्षअघि हाम्रा पुर्खाको उन्नति अरूको भन्दा ज्यादा हुन थाल्यो । नियो कर्टेक्स (सोचविचार गर्न सक्ने मस्तिष्क जो अरू प्राणीमा पाइन्न) को उदयपछि होमो सापियन्स हतियार बनाउने, लुकेर आक्रमण गर्ने, समूह शक्तिलाई प्रयोग गर्ने र आफूभन्दा बलिया प्रजातिलाई एक्लो पारी घेरा हालेर मार्ने कौशलमा बेजोड भएर निक्लिए ।

उद्विकासको यो लाखौं वर्षको यात्रामा पनि अरू प्राणी पहिले जस्ता थिए, बुद्धिका हिसाबले ती अहिले पनि त्यस्तै छन् । जतिसुकै बलियो भए पनि सिंह सुसेली हालेर गाउन सक्दैन, मासु पोलेर खान सक्दैन, न आफ्ना अनुभवलाई अक्षरमा उधिनेर पुस्तक नै लेख्न सक्छ । हात्ती जति बलिष्ठ भए पनि ऊ रोटी पकाएर खान सक्दैन । सारा प्राणीको आदिम स्वभावजस्तो थियो अहिले पनि त्यस्तै छ । मानिसले चाहिँ आफूलाई तीन सय असी डिग्रीले बदल्यो, जसले गर्दा ऊ यस भूमण्डलको अधिपति भयो । परिणामतः ऊ जहाँ पुग्यो, त्यहाँका धेरै प्राणी र वनस्पतिको नाश भयो । अनुसन्धानले के देखाएको छ भने बौद्धिक उद्विकास भएको २५ हजार वर्षपछि सापियन्सहरू अफ्रिकाबाट अस्ट्रेलिया पुगे । छिट्टै नै त्यहाँ थुप्रै वनस्पतिको लोप भयो । त्यसको पाँच हजार वर्षअघि नै युरोपमा नियान्डरथलको वंश लोप भइसकेको थियो । सोह्र हजार वर्षअघि सापियन्सहरू अमेरिका पुगे र त्यहाँ पनि अनेक वनस्पतिहरू लोप भयो । १२ हजार वर्षअघि होमो फ्लोरोसियन्सिस् प्रजातिका मानिस लोप भए । अब होमो सापियन्स मात्रै पृथ्वीको एक्लो मानिस बन्यो (युवल नोहा हरारी...) ।

यहाँसम्म आइपुग्दा घुमन्ते सिकारी जीवनबाट मानिस सायद थाकिसकेको थियो । बिस्तारै उसले जंगल फाँडेर खेती गर्ने काइदा सिक्यो । अनि गहुँ, धान, मकै, दलहन र अरू थुप्रै वनस्पतिलाई घरेलुकरण गरी १० हजार वर्षअघि मानिस कृषि युगमा प्रवेश गर्‍यो (

(रिड चार्ल्स, वरिजिन अफ एग्रिकल्चर, २०११) । लगत्तै कुकुर, घोडा, गाई, बाख्राजस्ता जनावर मानिसका सदाकालका लागि दास बने । गुफा अब रित्ता भए र घरहरू बन्न लागे, समुदायको विकास भयो । खेतीको सुरक्षाका लागि सुरक्षा दस्ता तयार भयो, योद्धाहरूको संगठित जमात जन्मियो । क्रमशः सहरको विकास भयो अनि विकास भयो राज्यको । लाखौं वर्षको घुमन्ते जीवनले देख्न नसकेको विकासको चमकधमक केही हजार वर्षमै गर्न सक्ने कृषि युगलाई हरारी ‘मानिस यस ग्रहको सर्वेसर्वा हुनुको दोस्रो कारण’ मान्छन् । घुमन्ते सिकारी युगमा हाम्रा पुर्खाको सबै समय लगभग खाना खोज्न र परिवारको सुरक्षा गर्न व्यतीत हुन्थ्यो । कृषि युग सुरु भएपछि केही मानिसले काम गरेर धेरैभन्दा धेरै मानिस बाँच्न सक्ने भए, खानेकुराको जोगाड हुन थाल्यो । यसले श्रमको विशिष्टीकरण गर्‍यो । विनिमयको समय आयो र व्यापार फस्टायो । कला, कौशल, साहित्य अनि धर्ममा मान्छेले समय दिन सक्यो र सभ्यताको जन्म भयो । यसै उपक्रममा पाँच हजार वर्षअघि राज्यहरूको जन्म भयो ।

पाँच सय वर्षअघि विज्ञानको र तीन सय वर्षअघि औद्योगिक क्रान्तिको विकास भयो । मानिस विज्ञान र उद्योगको सुखको चरम चुलीमा छ । र, अब ऊ पृथ्वीको सिमाना पार गरेर अन्तरिक्षमा बस्ती बसाल्ने योजनाको सुरुवाती अवस्थामा पुगेको छ । यसरी पछिल्लो १२ हजार वर्षयता पृथ्वीको एक्लो अधिपति बनेको होमो सापियन्सको राज कहिलेसम्म चल्ला ? विज्ञानसम्मत खोजले भन्छ, बहुतै छिटो मान्छेको यो सत्ता ढल्दै छ किनभने पृथ्वी मान्छेकै कारण नष्ट हुने विन्दुमा पुगेको छ ।

संसारमा के नित्य छ ? बुद्ध भन्छन्– केही छैन । उनको महापरिनिर्माण भएको पाँच वर्षपछि गोलार्द्धको अर्को छेउमा जन्मेका युनानका दार्शनिक हेराक्लिटसलाई बुद्धको अनित्यवाद थाहा थियो/थिएन भन्न सकिन्न । तर, उनले बुद्धकै बोलीमा लोली मिलाए र भने– संसारमा नित्य भन्नु परिवर्तन मात्रै हो ।

मिलन विछोडमा, जीवन मृत्युमा, निर्माण ध्वंसमा र सृष्टि विनाशमा टुंगिन्छ भन्ने आम दर्शनको प्रादुर्भाव हुनुको पृष्ठभूमिमा बदलिइरहने यही जगत्को चरित्र चित्रित छ । संसारका हरेक धर्मले यो पृथ्वीको अन्त्य मनुष्यको अत्याचार र पापकै कारण हुने ठोकुवा गरेका छन् । पापको परिभाषा धर्म र मनुष्यको बुझाइपिच्छे फरक हुन सक्ला । अलि साँघुरो दृष्टिले चियाए, एउटाको पाप अर्कोको धर्मसमेत पनि ठहरिन सक्ला । र, धर्महरूको एउटा हाइपोथेसिस कस्तो छ भने मानिसकै कारण पृथ्वीमा प्रलय हुनेछ । दर्शनशास्त्रले प्रलयलाई पापबाट अलग गरी पृथ्वीको विनाश हुने कारणबारे विमर्श गरेको छ ।

युनानी दार्शनिकहरू प्लेटो र अरिस्टोटलले दर्शनमा मानव वंश लोप हुने आशंका प्रक्षेप गरेका छन् । उनीहरूले मानवबिनाको संसार कस्तो होला भनी परिकल्पना पनि गरेका छन् । विज्ञानले ‘प्रजातिहरू लोप हुन सक्छन्’ भन्ने थाहा पाएको चाहिँ १७ शताब्दीमा हो, जतिबेला युरोपमा पुनर्जागणको समय थियो । जीवाश्म विज्ञानका पिता मानिने फ्रान्सेली अन्वेषक जश कुभिएले प्राग्ऐतिहासिक समयमा लोप भएका २३ प्रजाति पत्ता लगाए (कुभिए जश एन्ड डेभिड नाइट, एस्से अन द थ्यौरी अफ द अर्थ, राउटलेज, २०१८) । त्यसबेला उनको खोजले एउटा तहल्का ल्याएको थियो । त्यसपछि वैज्ञानिकहरूमाझ ‘मानव पनि एक दिन लोप हुन सक्छ’ भन्ने विषयले निकै चर्चा पायो । यही सेरोफेरोमा माल्थसले एउटा सनसनीपूर्ण निबन्ध लेखे, ‘एन एस्से अन द प्रिन्सिपल अफ पपुलेसन’ । त्यस निबन्ध पछि यही शीर्षकमा व्यापक परिमार्जनका साथ पुस्तकको रूपमा पनि छापियो ।

जनसंख्याको वृद्धि ज्यामितीय अनुक्रममा हुने, तर खानेकुरा वृद्धिको अनुक्रमचाहिँ अंकगणितीय हुने प्रवृत्तिलाई उजिल्याउँदै माल्थसले मानव जाति आफ्नै वंश विस्तारले संकटमा आइपुगेको तथ्यलाई पेचिलो गरी सतहमा ल्याए । बढ्दो मुख, तर खानाको अभावले पृथ्वीमा भोकमरी, युद्ध, अनिकाल र अनेक महाव्याधि आउँछ र मान्छेलाई दुःख दिन्छ भन्ने प्रक्षेपण उनले गरे । हरेक २५ वर्षमा जनसंख्या दोब्बर वृद्धि हुने तर्क उनको थियो, जो ठ्याक्कैचाहिँ मिल्दैन । उनको समय (सन् १७६६–१८३४) ताका जनसंख्या एक अर्ब पुगिसकेको थिएन । यो ज्यामितीय हिसाबले बढेको भए अहिले सबा खर्ब पुगिसक्थ्यो, जसलाई खुवाउने अन्न पृथ्वीसँग सायद हुने थिएन । तर, पनि जनसंख्याको वृद्धिदर अत्यासलाग्दो छ । आठ अर्बको हाराहारीमा पुगिसकेको मानव जनसंख्यामा प्रत्येक दिन ३ लाख ८५ हजार बच्चा थपिन्छन् (करेन माइल्स, हाउ मेनी बेबिज आर बर्न इन अ डे ?, बेबी सेन्टर डट कम, १३ जुलाई २०२१) । यी प्रत्येकलाई माना, नाना र छानाको व्यवस्था गर्न भएको प्रयासले पृथ्वीको पूरै पर्यावरण खलबलिएको छ, जंगलहरू मासिएका छन् ।

वैज्ञानिक अन्वेषकहरू प्रत्येक वर्ष झन् ठूलो स्वरमा चेताउन थालेका छन्– पृथ्वी मान्छेकै व्यवहारका कारण नष्ट हुने विन्दुमा पुग्दै छ । र, त्यो मुख्य कारण भइदिएको छ– वातावरण विनाशले निम्त्याएको विश्वव्यापी तापमानको वृद्धि (नाथानियल रिच, लुजिङ अर्थ ः द डिकेड वी अलमोस्ट स्टप्ड क्लाइमेट चेन्ज, १ अगस्ट २०१८, न्युयोर्क टाइम्स) । भर्खरै सकिएको विश्व वातावरण सम्मेलनमा संसारका २ सयभन्दा बढी देशका प्रतिनिधिले वैज्ञानिकका यही चेतावनी सुन्न खोजेजस्तो गर्दै तीन मुख्य प्रतिज्ञा गरे– कार्बन उत्सर्जन कम गर्ने, पेट्रोलियम पदार्थको खपत घटाउँदै जाने र गरिब देशलाई यसो गर्न सक्ने बनाउन मद्दत गर्ने ।

तर, जति नै गरे पनि यही अवस्था रहिरहे विश्व ब्रह्माण्डमा जीवनको एक मात्रै धुकधुकी यो ग्रह विनाश हुने क्षणको ज्यादै नजिक रहेको संकेत देखिन थालेको छ । यस्तो सन्निकट विनाशको भविष्यवाणी स्टेफन हकिन्सले एक दशकअघि नै गरिसकेका छन् । सन् २०१० मा उनले दिएको एउटा वक्तव्यले सनसनी मच्चायो । पृथ्वीको नाश हुने बेला आएकाले आफ्नो नस्लको निरन्तरता चाहने हो भने जतिसक्दो चाँडो अर्को ग्रहमा बसाइँ सर्नुपर्ने उनको तर्क र प्रमाणसहितको व्याख्यानले धेरैलाई झस्क्याइदिएको थियो, छ ।

‘अर्को हजार वर्षको कुरा छाडिदिनुस्, आउने सय वर्षकै विपत्तिलाई हामीले टार्न सक्नेछैनौं,’ बिग आइडियाज नामको टेलिभिजनलाई दिएको अन्तरवार्तामा हकिन्सले भनेका थिए, ‘पृथ्वीमा बसेर होइन, अन्तरिक्षभरि फैलिएर मात्रै हाम्रो (मानव जातिको) अस्तित्वको चिर रक्षा हुनेछ ।’

एकातिर जलवायु परिवर्तनको प्रकोप र अर्कोतिर आणविक हतियारले पृथ्वीको अस्तित्व दाउमा लागेका बेला कुनै सुरक्षित घर खोज्ने उपक्रमलाई टुंगोमा पुर्‍याउनुपर्ने चुनौती सामना गरिरहेका छन् एकथरी वैज्ञानिक । होमो सापियन्सको वंशलाई निरन्तरता दिने भए पृथ्वीमा प्रलय नहुँदै र जीवनको ढोका सदाका लागि नलाग्दै अर्को ग्रहमा बसाइँ सर्नुपर्ने उनीहरू ठान्छन् (सिमोन वार्रल, देअर इज वन्ली वल वे फर हुम्यानिटी टु सर्भाइव, गो टु मार्स, नेसनल जिओग्राफी, ३ मार्च, २०१८) ।

दुई वर्षदेखि कोरोना महामारीले होमो सापियन्स त्राहिमामा भइरहेका बेला बढ्दो तापमानले आउने दिनहरू अझै बढी विपदपूर्ण हुनेछन् । एकातिर बढ्दो जनसंख्यालाई धान्न पृथ्वीको क्षमता घट्दै जानु, आणविक हतियारको विस्फोटले पृथ्वी जतिखेर पनि धुजाधुजा हुने अवस्थाको सृजना हुनु र अर्कोतिर जलवायु परिवर्तनकै कारण बढेको तापमानले उथलपुथल हुने परिस्थितिको निर्माण हुनु होमो सापियन्सको मात्रै नभएर समग्र जीवनकै अस्तित्व दाउमा छ ।

स्टेफन हकिन्सले भनेझैं साँच्चै नै यसै शताब्दीमा प्रलय आउला त ? अनि उनले सुझाएझैं हामी अर्कै ग्रहमा बास बस्न सकौंला ?

Source: Ekantipur



Developed by Smart Innovation