केही दिनअघि म एक मित्रको साथ बनेपा–जनगालमा अवस्थित हँसदा योगाश्रम पुगेको थिएँ । आश्रमका पीठाधीशले गीता उपदेशको विवेचना गरिरहेका थिए, हामी पनि श्रोतालहरमा बस्यौं । उनको प्रवचन आजको जलवायु परिवर्तनका विषयमा सान्दर्भिक थियो, जसलाई आधार बनाएर मैले आफ्नो शैलीमा यो आलेख तयार गरेको हुँ ।
कुनै संकल्प लिएर गरिएको कर्मलाई यज्ञ भन्ने बुझिन्छ । पृथ्वीमा जन्म लिएपछि हामीले विभिन्न प्रकारका ऋण–भार बोकेका हुन्छौं । सो ऋणको भार हटाउन हाम्रो शास्त्र अनुसार गृहस्थले विभिन्न प्रकारका यज्ञ गर्न आवश्यक छ । तीमध्ये पाँच प्रकारका ऋणको भार अत्यन्त गहन छ । ती पञ्च यज्ञ हुन्- पितृ यज्ञ, ऋषि यज्ञ, देव यज्ञ, भूत यज्ञ र अतिथि–मनुष्य यज्ञ ।
पितृ यज्ञ : हामीमाथि हाम्रा मातापिता तथा बाजे–बराजुको ऋण छ । यसर्थ माता, पिता वा पुर्खालाई यथोचित सम्मानका साथ उनीहरूले हामीमाथि लगाएको ऋण चुक्ता गर्नु हाम्रो परम कर्तव्यमा पर्छ । यो ऋणको चुक्ता हामीले मनुष्य चोलाको संरक्षण तथा विस्तारबाट गर्न सक्छौं । यसर्थ, हाम्रा सन्तानले मनुष्य चोला अझ पौरखी र सम्मानयोग्य बनाउन मद्दत गरून् ।
ऋषि यज्ञ : हामीमाथि ऋषि ऋण पनि लागेको छ । ऋषि ऋण भन्नाले हाम्रा पुर्खाले आर्जेको ज्ञानको भार । तिनै ज्ञान र ध्यानबाट हामीले विद्या आर्जन गरिरहेका छौं । वेद व्यास होऊन् वा आइन्स्टाइन, हामीमाथिको हरेक पुस्ताले केही न केही ज्ञानको भण्डार थपिदिएर गएको छ । आज पनि विद्यालय शिक्षकहरूले हामीलाई ज्ञान आर्जन गर्न ठूलो मद्दत पुर्याएका छन् । तसर्थ उनीहरूले हामीमाथि लगाएको ऋणको भार कम गर्न ऋषि यज्ञ गर्न आवश्यक छ । यस अन्तर्गत हामीले जानेका ज्ञानका कुराहरू मित्र वर्गमा र समाजमा फिँजाउनुपर्छ, हाम्रा भावी पुस्ताका लागि ज्ञानको भण्डार बढाउने कोसिस गर्नुपर्छ ।
देव यज्ञ : धेरैजसो पाश्चात्य बुद्धिजीवीले प्रकृतिमाथि मनुष्यको विजय हुनुपर्छ भन्ने धारणा राखेका छन् भने पूर्वीय दर्शनशास्त्रीहरूले प्रकृति र मनुष्य सामञ्जस्यमा चल्नुपर्छ भनेका छन् । वैदिक युगदेखि नै पूर्वीय दर्शनमा प्रकृति नै देव हो भन्दै आइएको छ । जल, सूर्य–अग्नि, वनस्पति, वायु, पृथ्वी र आकाश आदिलाई देवता मानिन्छ । विश्व ब्रह्माण्डमा यी तत्त्व नरहने हो भने जीवन सम्भव छैन । यी तत्त्वमा अलिकति पनि गडबडी आएमा जीवको विनाश निश्चित छ । तसर्थ यिनलाई हाम्रो शास्त्र अनुसार देवताका रूपमा पुज्ने चलन छ । हाम्रा पुर्खाले उचित श्रद्धा र सम्मान पुर्याएर मात्र यिनको प्रयोग गर्थे, जसका कारण पृथ्वीको जलवायु सन्तुलनमा थियो । एउटा रूख काटेपछि अर्को रूख रोप्ने प्रचलन थियो । पछिसम्म पनि नदी वा तालमा साबुन प्रयोग गरेर लुगा धोएमा जलचरलाई नकारात्मक असर पर्छ भनेर धोइँदैनथ्यो । आजका मनुष्यमा देव तत्त्वलाई उचित सम्मान दिने प्रचलन हराएको छ । फलस्वरूप आज पृथ्वीमा जलवायु परिवर्तनको भयानक असर खप्नुपर्दै छ र भावी पुस्ताले अझ बढी झेल्नुपर्नेछ ।
वातावरणमा आएको असन्तुलनका कारण पृथ्वीको जैविक विविधता नष्ट हुँदै गएको छ । पृथ्वीको ताप बढ्नाले समुद्र सतह माथि उठ्ने क्रम जारी छ र तटीय राष्ट्रहरूमा डुबानको सम्भावना बढ्दै गएको छ । वर्षातको कुनै ठेगान छैन । कतै अति वृष्टि छ त कतै सुक्खा खडेरी । बढ्दो तापक्रमका कारण मनुष्य, पशु, वनस्पतिमा अनेक प्रकारका नयाँ जीवाणुहरूको संक्रमण बढ्दो छ ।
भूत यज्ञ : परापूर्वकालदेखि यस पृथ्वीको जैविक विविधता कायमै राख्न कीराफट्यांग्रादेखि पन्छी, जनावर आदिसम्मको ठूलो भूमिका छ । जमिनमुनि हुने जीवहरूले माटाको जैविकता कायम राख्न मद्दत गरेका छन् भने जमिनमाथिका जीवहरूले फूल तथा बिरुवाको पराग र बीउबिजनलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्ने लगायतका सहयोग पुर्याइरहेका हुन्छन् । एक अध्ययन अनुसार मौरी मात्र यस पृथ्वीबाट लोप हुने हो भने केही वर्षमै मनुष्यको अस्तित्व पनि लोप हुनेछ । तसर्थ यी जीवहरूको पनि मनुष्यमाथि ऋण छ । तर आजकल खेतीमा रासायनिक मल र कीटनाशक औषधिको अत्यधिक प्रयोगले एकातर्फ माटाको जैविकतामा ह्रास आउँदै गएको छ भने अर्कातर्फ बीज तथा परागको ओसारपसारमा नकारात्मक असर परेको छ । नेपालमा केही वर्षअघि मात्र तोरीमा छरेको कीटनाशक औषधिले धेरै मौरी मरेको समाचार आएको थियो भने विश्वमा यो क्रम यथावतै छ । तसर्थ हामीले माटोमुनि र माथिका जीवहरूको ऋण तिर्न भूत यज्ञ अर्थात् यिनीहरूलाई संरक्षण गर्न भरमग्दुर कर्म गर्न आवश्यक छ ।
अतिथि/मनुष्य यज्ञ : सनातन प्रचलनमा अतिथिलाई देवता मानिन्छ । हामीमाथि समाज र सम्पूर्ण मानव जातिको ऋण छ । करुणा, दया, ममता, मर्यादा आदि गुणले हामी हाम्रो परिवार, हुर्केको समाज र समग्र मानवताप्रतिको ऋणबाट मुक्त हुन सक्छौं । तर आज हामी पैसा र शक्तिको होडमा एकले अर्कोलाई चिन्दैनौं । अझ हामीले मानवप्रति अन्याय र अत्याचार हुन दिइराखेका छौं । यस यज्ञले हामीलाई समाज र मानवताप्रतिको दायित्व पूरा गर्न मद्दत गर्छ ।
माथि उल्लिखित यज्ञहरू आफ्नो जीवनमा उतार्नु हरेक मनुष्यको परम कर्तव्य हो । अन्यथा अब आउने पुस्ताले विकासका नाममा हामीले गरेको विनाशको ठूलो मोल चुकाउनपर्नेछ । अबका केही दशकमै पिउने पानीको हाहाकार हुनेछ भनेर वातावरणविद्हरूले भनी नै रहेका छन् भने अहिल्यै जलवायुजन्य विपत्हरूले धेरै क्षति पुर्याइरहेका छन् । तसर्थ, पृथ्वी–प्रकृतिको संरक्षणमा जुट्नु हामी सबैको दायित्व हो । अबको विश्वले प्रकृतिको घोडा चढ्ने नभएर यसको सामञ्जस्यमा विकासलाई अघि बढाउनु आवश्यक छ । देशको आर्थिक उन्नतिको मापन गर्न कुल गार्हस्थ्य उत्पादनको साटो नयाँ मापदण्ड अपनाउनुपर्छ ।