भोटेकोशी नदीमा बाढी आउनुको कारण त्यहाँ रहेको हिमताल विस्फोट भएर खुलेको छ । नेपालको हिमाली क्षेत्रकै बारेमा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता एवम् युनिभर्सिटि अफ अलास्कामा विद्याबारिधि गरिरहेका नेपाली बैज्ञानिक अमृत थापा र ग्राज विश्वविद्यालयका पोष्टडक फेलो ज्याकोब स्टनर सहितका वैज्ञानिकहरुले नेपाल–चीन सीमा मितेरीपुल भन्दा झण्डै ३५ किलोमिटर माथि लेन्दे खोलाको जलाधार क्षेत्रमा रहेको हिमताल विस्फोट भएर उक्त बाढी आएको पत्ता लगाएका हुन् । विस्फोट भएको उक्त ताल चिनको सिमानाभित्र पर्दछ
उक्त ठाउँमा गत मार्चदेखि हिमनदीको सतहमा ताल बन्न सुरु गरेको र उक्त ताल बढ्दै गएर तालमा रहेको पानी बाहिर आउँदा त्यसले बाढीको रुप लिएको थापा बताउँछन् । “ढुँगा माटोले कभर गरेको ग्लेसियर मार्चदेखि बन्न थालेको देखिन्छ,” उनी भन्छन् “त्यसपछि उक्त ताल ठूलो हुँदै गएर त्यहाँ भएको पानी रिलिज भएको पाइयो ।”
स्याटलाइट तस्वीर स्रोत : अमृत थापा
थापा सहितका वैज्ञानिकहरुले भू–उपग्रहबाट प्राप्त तस्वीर विश्लेषण गर्दा मार्चदेखि बढ्न सुरु गरेको हिमतालको आकार जुन २८ सम्म ५२५००० बर्गमीटर पुग्यो । उक्त पोखरीको आकार जुलाई ७ सम्म बढेर ६३८००० बर्गमीटरको आकार लियो ।
तर, जुलाई ८ मा उक्त पोखरीको आकार ४३५००० बर्गमीटरमा खुम्चिएको पाइएको छ । विश्वव्यापी रुपमा तापक्रम वृद्धि हुँदै जाँदा उच्च हिमाली क्षेत्रमा रहेको हिउँ पग्लिने र पोखरी बन्ने प्रक्रिया तिव्र रुपमा अघि बढेको छ । जसका कारण तल्लो तटीय क्षेत्रमा बाढीहरुको जोखिम बढेको छ ।
उक्त ताल विस्फोटका कारण आएको बाढीका कारण अहिले सम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तिमा १८ जना हराइरहेका छन् । बाढीले नेपाल–चीन जोड्ने प्रमुख व्यापारी नाका रसुवागढीको प्रमुख व्यापारीक नाकालाई क्षति पुराएको छ।