जलवायु परिवर्तनले प्रवासी कामदारको स्वास्थ्यमा पर्नसक्ने असरबारे कार्यशाला

७ बैशाख, २०७९   |  इकोखबर

काठमाण्डौ । नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला आयोजना गरेको छ। 

गत अप्रिल १५ मा भिभान्ता होटेल ललितपुरमा आयोजना गरिएको कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताका रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए। ला इस्ला नेटवर्क एउटा अनुसन्धान र परामर्ष संस्था हो। जसले विश्वभर रहेका कामदार तथा तिनीहरुको समाजमा हुनसक्ने तापक्रमसम्बन्धी रोगहरु जस्तै– परम्परागतबाहेकका पुराना मिर्गौला रोगहरुको रोकथाम गरी समाजबाट मिर्गौला रोग निर्मूल पार्न काम गरिरहेको छ। 

जलवायु परिवर्तनको समयमा यो संस्थाले कामदारको स्वास्थ्यलाई सम्बोधन गर्न प्रमाणमा आधारित समाधानहरुको विकास तथा कार्यान्वयन गर्दै आइरहेको छ।

प्रवासी कामदार र विप्रेषण नेपाली अर्थव्यवस्थाको निकै महत्वपूर्ण भाग रहेको छ र यिनै विषयलाई मध्यनजर राखी नबिल बैंकद्वारा सञ्चालन गरिएको यो कार्यशाला नेपाली बैंकिङ क्षेत्रमै पहिलो कार्यशाला हो। नबिल बंैकले दिगो विकासका पहलहरुलाई समर्थन तथा कार्यान्वयन गर्दै आइरहेको छ र यो कार्यशाला पनि समाजमा दिगो विकासका लागि महत्वपूर्ण रहने विश्वास गरिएको छ। 

उक्त कार्यक्रमलाई नेपाली मुद्रा विप्रेषक संघको सहयोगमा सञ्चालन गरिएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, बैदेशिक रोजगार विभाग, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वयन समिति तथा विदेशी कूटनीतिक संघसंस्थालगायतका श्रम मामिलामा आबद्ध विभिन्न संघसंस्थाका उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो।

कार्यशालाका बारेमा बोल्दै नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसनबाट भएका अनुसन्धान तथा विभिन्न काम नेपाली प्रवासी कामदारका लागि निकै महत्वपूर्ण रहेको र यो अनुसन्धानको निष्कर्ष र समाधानहरुले जलवायु परिवर्तनका कारण नेपाली प्रवासी कामदारहरुको स्वास्थ्यमा पर्न जाने असरलाई समयमै पहिचान गरी सो को आवश्यक समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

कार्यशालाका क्रममा जेसनले बढ्दैै गएको तापक्रमको कारण धेरै स्वास्थ्य समस्या थपिँदै गएको र प्रवासी कामदारमा जलवायु परिवर्तनले पार्न गएको असर सम्बन्धमा सहभागीको ध्यानाकर्षण गराएका थिए। बढ्दो तापक्रम र गर्मीका कारण मिर्गाैलामा आउन सक्ने समस्या जलवायु परिवर्तनका कारण सिर्जना भएको पहिलो महामारी हुन सक्नेसमेत उनले बताए। ‘त्यसैले सरोकारवालाले कामदारको कार्यस्थलको अवस्था, पर्याप्त पिउने पानीको व्यवस्था सुनिश्चित गर्नसकेमात्र जलवायु परिवर्तन र तापक्रम कारण सुरु भएका नयाँ रोगहरुबाट प्रवासी कामदारहको स्वास्थ्यलाई जोगाउन सकिन्छ’, उनले भने। 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले जलवायु परिवर्तनको प्रभाव सबै जीवित जीवमा उच्च मात्रामा देखिन थाले पनि यसलाई कम गर्नेतर्फ सामान्य ध्यान केन्द्रित गर्नसके पनि केही हदसम्म न्यूनीकरण गर्न सकिने बताए। उनले यसका लागि प्रवासी कामदारमा चेतना फैलाउनु निकै महत्वपूण रहेको र यस सम्बन्धमा उचित सहयोग गर्न नबिल बैंक सधैँ तत्पर रहेको बताए। 

कार्यक्रममा उपस्थित सहभागीले सक्रिय सहभागिता जनाउनुका साथै नेपाली मुद्रा विप्रेषण संघका कार्यकारी सदस्य प्रवीन अधिकारी र म्यानपावर एजेन्सीको प्रतिनिधिका रुपमा सुवर्न श्रेष्ठले आफ्नो विचार व्यक्त गरेका थिए। 

कार्यशालाको समापनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर भुसालले कामदारको स्वास्थ्य सुधार गर्न कुनै अनुसन्धान गर्न चाहने संस्था तथा व्यक्तिलाई सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सबै सरोकारवालालाई सँगै राखी यस्तो गम्भीर विषयमा छलफल गर्ने वातावरण मिलाइदिएकोमा नबिल बैंकलाई विशेष धन्यवाद दिए। 



Developed by Smart Innovation