स्याउ हेर्न जुम्ला हैन अव रुकुमका किसान आफ्नै बारीमा

११ फागुन, २०७६   |  कृषि खबर सम्बाददाता

रुकुमपूर्व। पुथाउत्तरगंगा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखी यस क्षेत्रमा रू. ८६ लाख बजेट खर्चिने भएको छ ।

कृषिलाई व्यावसायिक, कृषकलाई विभिन्न किसिमका तालिम, कृषि औजारहरु वितरण र रोगको पहिचान तथा नियन्त्रण गर्न सो रकम विनियोजन गरिएको गाउँपालिकाले बताएको छ । स्याउ र सुन्तला खेती फस्टाउँदै जाँदा गाउँपालिकाका केही क्षेत्रमा पकेट क्षेत्र घोषणा गरी काम भइरहेको छ ।

गाउँपालिकाले तीन स्थानमा १७ हजार भन्दा बढी फलफूलका बिरुवा रोपेको छ । अर्गानिक उत्पादनको जिल्ला बनाउने अभियानलाई सफल बनाउन कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिइन् ।

उनका अनुसार वडा नम्बर ५ को स्याउ पकेट क्षेत्र रू. २५ लाख, वडा नम्बर ८ को चारगाउँमा सुन्तला पकेट क्षेत्रमा रू. २५ लाख तथा वडा नम्बर १० तकसेराको स्याउ पकेट क्षेत्रमा रू. २० लाख बजेट बिनियोजन भइ काम अगाडि बढेको छ ।

त्यसैगरी विभिन्न प्रकारका तरकारीका बीउबिजन वितरण, औजार खरीद, कृषकलाई आवश्यक तालिम, रोगको पहिचान तथा नियन्त्रणको लागि रू।१६ लाख बजेट रहेको उनले बताइन् ।
माटो परीक्षण र दक्ष प्राविधिकको अभावले गर्दा गाउँपालिकामा हालसम्म कृषिमा सहज वातावरण पनि नभएको जनाइएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ हुकाममा ५ हजार स्याउ र वडा नम्बर ८ को चारगाउँमा १२ हजारभन्दा बढी सुन्तलाको बिरुवा रोपिएको छ । तकसेरामा ५ हजार स्याउका बिरुवा रोप्ने तयारी रहेको छ । लगाइएका ५ हजार स्याउका बिरुवामध्ये आधा बिरुवा स्थानीय स्तरमै उत्पादन गरिएका र अन्य जुम्लाबाट ल्याइएको गाउँपालिकाले बताएको छ ।

हुकाम र चारगाउँमा सहकारी र तकसेरामा समुहमार्फत काम भइरहेको छ । गाउँपालिकाको स्याउ उत्पादन हुने ठाउँका अधिकांस घरमा ५० देखि १ हजार बोटसम्म स्याउका बिरुवा छन् ।

पहिले खानकै लागि स्याउ किन्न जुम्ला पुग्ने उनिहरु अहिले स्याउ उत्पादन गरेर जिल्ला बाहिर पठाउने अवस्थामा पुगेका छन् । तर सडकको सुविधा नभएकै कारण उत्पादीत फलफुल ढुवानीको सस्या भइरहेको स्थानीयले गुनासो गरेका छन् ।



Developed by Smart Innovation