बन्दको मौकामा वन्यजन्तु तस्करीको प्रयास, एक जना मारिए

१५ चैत, २०७६   |  

पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच भएको दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएको छ ।

उक्त घटनामा हेटौंडा उप महानगरपालिका १३ पदमपोखरीका ३५ वर्षीय भीमलाल मोक्तान रहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनका अनुसार तस्करको गोली लागेर नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सुरक्षाकर्मीले एक जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मकवानपुर पदम पोखरीकै मोहनसिंह दोङ्ग छन् । 
पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जको कोर एरियामा शुक्रबार विहान ९ बजे तस्कर र सुरक्षाकर्मीबीच भिडन्त भएको हो। सुरक्षाकर्मीले दुई थान बन्दुक समेत बरामद गरेका छन् ।

बन्दको मौका छोपेर वन्यजन्तुको चोरी सिकारी हुनसक्ने सम्भावनालाई ध्यान राखेर गस्तीलाई बाक्लो बनाइएको प्रमुख संरक्षण अधिकृत महर्जनले बताए । 



Developed by Smart Innovation