यसरी मिल्न थाल्यो मौसम पूर्वानुमान

१५ चैत, २०७६   |  


“रेडियोले घाम लाग्ने भनेको छ, छाता बोकेर नहिंडे भिजिन्छ है,” १० वर्षअघिसम्म यस्तै ठट्टा चल्थ्यो । रेडियो नेपालले हरेक दिन बिहान ७ बजेको समाचारको अन्त्यमा दिने मौसम सम्बन्धी पूर्वानुमान श्रोताले विश्वासै गर्दैनथे । रेडियो नेपाललाई जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी जानकारी दिन्छ ।

अहिले अवस्था फेरिएको छ । महाशाखाले गएको ३० फागुनमा भोलिपल्ट (१ चैत) बाट लगातार तीन दिन पश्चिम नेपालमा चट्याङ र असिनासहित वर्षा हुने जनाएको थियो । १ चैतमा कपिलवस्तु र दाङ आसपास तथा २ र ३ चैतमा अर्घाखाँची, गुल्मी र पाल्पामा चट्याङ र असिनासहित भारी वर्षा भयो ।

वायुमण्डलमा विकास हुने छिनछिनको मौसमी तथ्यको जानकारी लिन सन् २०१० देखि नयाँ प्रविधि प्रयोग हुन थालेकाले पूर्वानुमानमा सुधार भएको महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेल बताउँछन् । उनी भन्छन् “विकसित देशमा पनि मौसम शतप्रतिशत मिल्दैन, हामीले गर्ने मौसम पूर्वानुमान ८० देखि ८५ प्रतिशतसम्म मिल्छ ।” महाशाखाले अहिले तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी सूचना दिन्छ ।

पूर्वानुमान मेल खान थालेपछि स्थानीयले महाशाखामा फोन गरेर जानकारी लिने क्रम बढेको छ । स्थानीयलाई मौसमी सूचना उपलब्ध गराउन भ्याई नभ्याई हुने महाशाखाकी मौसमविद् मञ्जु बासी बताउँछिन् । विराटनगर, भैरहवा, पोखरा र काठमाडौंबाट टेलिफोन गरी बारम्बार मौसमी सूचना लिनेसँग त महाशाखाका कर्मचारी परिचित नै भइसकेका छन् ।

आधुनिक प्रविधिले पूर्वानुमान सहज

महाशाखालाई आधुनिक प्रविधि मार्फत मौसमको सूचना लिन चीन र जापानले सघाउँछन् । जापानको ‘हिमावारी–८’ भू–उपग्रहले बादल, त्यसको दिशा, तापक्रम, आद्र्रता र हावाको गतिसहितका तस्वीर हरेक १० मिनेटमा उपलब्ध गराउँछ ।

त्यसैगरी चीनको ‘एफवाई–टुजी’ भू–उपग्रहले मनसुनको समयमा हरेक आधा घण्टामा र अरू वेला एक घण्टामा वायुमण्डलको मौसमी अवस्था र तथ्य विवरण उपलब्ध गराउँछ । वरिष्ठ मौसमविद् पौडेलका अनुसार भू–उपग्रहले ‘रिसिभर’ मार्फत उपलब्ध गराएका मौसमी तस्वीर महाशाखाको कम्प्युटरमा ‘डिस्प्ले’ हुन्छन् । ती सूचनालाई गणितीय प्रविधि मार्फत विश्लेषण गरेर पूर्वानुमान गरिन्छ । यो प्रविधि अत्याधुनिक मौसम मापन प्रणाली हो ।

त्यसबाहेक नेपालका विभिन्न ठाउँमा रहेका मौसम मापन केन्द्रले प्रदान गर्ने सूचनालाई पनि आधार बनाइन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व ताप्लेजुङदेखि पश्चिमको डडेलधुरासम्म १५ वटा मौसम मापन केन्द्र छन् । मौसम मापन केन्द्र ‘म्यानुअल’ हुन् । ती केन्द्र वरपरको हावाको दिशा, बादलको प्रकार, घामको अवस्था, मानिसले नै मापन गरेर हरेक तीन घण्टामा काठमाडौंमा जानकारी पठाउँछन् ।

त्यसैगरी विभिन्न ठाउँमा ७० वटा स्वचालित मौसम केन्द्र स्थापना गरिएको छ भने अरू १८ वटा स्थापनाको प्रक्रियामा छन् । स्वचालित केन्द्रमा जडान गरिएको सेन्सरले त्यस वरपरको मौसमी अवस्थाको सूचना स्वतः उपलब्ध गराउँछ । वरिष्ठ मौसमविद् पौडेल भन्छन, “भू–उपग्रह, स्वचालित तथा म्यानुअल मौसमी केन्द्रबाट प्राप्त हुने तथ्यहरूको विश्लेषण गरेर मौसम पूर्वानुमान गरिन्छ ।”

त्यसबाहेक एक वर्षअघि सुर्खेतमा हुरी, बतास र चट्याङबारे जानकारी दिने मौसमी राडार स्थापना गरिएको छ । यस्ता राडार पाल्पा र उदयपुरमा पनि स्थापना गर्ने तयारी विभागको छ । सुर्खेतको राडारले कर्णाली र सुदूरपश्चिमलाई मात्र समेट्छ । पाल्पा र उदयपुरमा राडार स्थापना गरेपछि देशभरको हुरी, बतास र चट्याङको तत्कालैको अवस्था पूर्वानुमान गर्न सकिने पौडेल बताउँछन् ।

त्यसैगरी काठमाडौं बाहिर सुर्खेत, पोखरा, काठमाडौं, धरान, विराटनगर, ओखलढुङ्गा र सिमरा लगायत ९ ठाउँमा चट्याङ ‘सेन्सर’ र काठमाडौंसहित दिपायल, जुम्ला, सुर्खेत ६ ठाउँमा मौसमी क्यामरा जडान गरिएको छ । सेन्सर र क्यामेराले तत्कालै परेको चट्याङको अवस्था, दिशा र गति तथा भइरहेको वर्षाबारे सञ्जालमा सूचना पठाउँछन् ।

मौसम पूर्वानुमान पछिल्लो समय कसरी मिल्न थाल्यो त ? जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार, मौसमी केन्द्रले सम्बन्धित ठाउँको तापक्रम, हावाको दिशा, आद्रता, वर्षाको बारेमा जानकारी गराउँछ । स्वचालित मौसमी केन्द्रले उपलब्ध गराउने तापक्रम, हावाको दिशा, आद्रता र वर्षाको अवस्था काठमाडौंमै बसेर हेर्न सकिन्छ । त्यसबाहेक १० मिनेट र आधा घण्टामा भू उपग्रह मार्फत प्राप्त हुने तस्वीरले बादलको अवस्था, गतिको बारेमा जानकारी दिन्छ ।

प्राप्त तथ्यलाई शक्तिशाली कम्प्युटरको प्रयोग गरी गणितीय मौसम पूर्वानुमान प्रविधिमा आधारित रहेर मौसम पूर्वानुमान गरिन्छ । कँडेल भन्छिन “प्रविधिले बादललाई ट्र्याक गर्न सजिलो बनाएको छ । तीन घण्टा अघि एक ठाउँमा देखिएको बादल कता गयो, त्यसको अवस्था कस्तो छ भनेर देखिन्छ।”

मौसमविद् पौडेलका अनुसार स्थानीयस्तरमा विकसित हुने मौसमी प्रणालीले नजिकै पानी पर्ने र घाम लाग्ने हुन्छ । उनी भन्छन्, “डाँडाकाँडा र स्थानीयस्तरमा विकसित हुने मौसमी प्रणालीलाई राडार, भू–उपग्रहले समेट्न सक्दैन । त्यसकारण प्रि–मनसुनमा भने अनुमान नमिल्न पनि सक्छ।”

हेरेकै भरमा पूर्वानुमान !

नेपाल २०२३ सालमा मात्र विश्व मौसम सङ्गठनको सदस्य बनेको हो । मौसम पूर्वानुमान गर्न भने १ पुस २०२५ देखि शुरू गरेको हो । त्यतिवेला प्रविधिको अभावमा आँखाले देखिने मौसमी अवस्थाको अवलोकन गरेर सीमित ज्ञानका आधारमा पूर्वानुमान गरिन्थ्यो । त्यसअघि भारतले नेपालका विभिन्न ठाउँमा जल तथा मौसम केन्द्रहरू स्थापना गरेको थियो । ती केन्द्र मार्फत मौसमी सूचना लिएर भारतले नै नेपाललाई हवाई उडानका लागि मौसमी सूचना दिन्थ्यो ।

नेपालको मौसम प्रणाली विश्लेषण गर्न प्रविधिको प्रयोग हुन थालेको धेरै भएको छैन । फिनल्याण्डको सहयोगमा सन् २०१० देखि शक्तिशाली कम्प्युटरको प्रयोग गरी गणितीय आधारमा मौसम पूर्वानुमान शुरू भएको हो । विकसित मुलुकहरूले सन् १९५० देखि नै प्रयोगमा ल्याएको यस्तो प्रविधि विकासशील देशमा भने सन् १९९० पछि विस्तार भएको थियो ।

त्यसअघि २०४४ सालमा जल तथा मौसम विज्ञान विभागको स्थापना भएपछि मौसमी विवरण लिन विश्व मौसम सङ्गठनको सहयोगमा भू–उपग्रह राखिएको थियो । उक्त भू–उपग्रहले हरेक १२ घण्टामा वायुमण्डलमा रहेको मौसमको तथ्यहरूको श्यामश्वेत प्रिन्ट पठाउँथ्यो ।

भू–उपग्रहले पठाउने श्यामश्वेत तस्वीर र नाङ्गो आँखाले देख्ने वरिपरिको बादलको अवस्थाका आधारमा मौसमविद्हरूले मौसम पूर्वानुमान गर्थे । जसले गर्दा पूर्वानुमान मेल खाने संभावना धेरै न्यून हुन्थ्यो । त्यही कारण रेडियो नेपालले दिने मौसम सम्बन्धी सूचना श्रोताले विश्वास गर्दैनथे ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेल अहिले भू–उपग्रहले अत्याधुनिक उपकरणबाट वायुमण्डलको ठूलो क्षेत्रको मौसमी अवस्थाको सूचना उपलब्ध गराउने हुनाले पूर्वानुमानमा सजिलो भएको बताउँछिन् ।

उनी भन्छिन्, “हिजो नाङ्गो आँखाले देखिने सीमित क्षेत्रको मौसमी अवस्था हेरेर पूर्वानुमान गरिन्थ्यो । आज प्रविधिको सहायताले संसारका विभिन्न ठाउँमा विकसित भएको मौसमी अवस्थाको सूचना डिजिटल माध्यमबाट लगातार उपलब्ध हुन्छ ।” अत्याधुनिक प्रविधिको प्रयोगकै कारण पूर्वानुमान मेल खान थालेको उनी बताउँछिन्।


 (साभार हिमाल खबरपत्रिका)

 



Developed by Smart Innovation