कोभिड -१९ जसलाई सार्स (कोभ २) पनि भन्ने गरिन्छ । कोभिडले यतिवेला बिश्वनै तहस नहस बनाएको छ । कोरोना भाइरस पहिलो पटक सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट फैलियो । यो संक्रामक रोग अहिले विश्वका अधिकांस मुलुकहरुमा फैलिएको छ। आजसम्म यो रोगको कारणले ६१ लाखभन्दा धेरै मानिसहरु संक्रमित भएका छन् भने तीन लाखभन्दा धेरै को ज्यान गइसकेको छ । मानव जातिको सामाजिक, आर्थिक तथा व्यक्तिगत अवस्थालाइ त तहसनहस परेको छ नै यो रोगको कारणबाट वन्यजन्तुहरु विशेष गरेर लोपन्मुख प्रजातिहरु पनि प्रभावित भएका छन् ।
धेरै विज्ञहरू विश्वास गर्छन् कि, कोभिड १९ वुहानको अप्रशोधित बजार जहाँ जीवित तथा वन्यजन्तुहरु र घरेलु पशुहरू उपभोगका लागि मासुको रूपमा बेचिन्छ, त्यहाँबाट सुरू भयो । कोरोनाभाइरसको निश्चित स्रोतको पहिचान गर्न बाँकी छ । तर केही वैज्ञानिकहरूले सालकलाई त केहिले चमेरोलाई यो रोगसंग जोड्ने गर्छन् । केहि वैज्ञानिकहरूले चमेरो र सालकमा पाइने कोरोनाभाइरससँग अहिलेको कोरोनाभाइरसको सम्बन्धको अध्ययन गरेका छन् । अध्ययन अनुसार आनुवंशिक समानता अहिलेको कोरोनाभाइरस र चमेरोसँग ९५ प्रतिशत तथा सालकसँग ९० प्रतिशतको हाराहारीमा पाइएको छ। यद्यपि यही समानता नै यस भाइरसले चमेरो अथवा सालकसँग जोड्न प्रयाप्त हुन सक्दैन किनकी मानव र चिम्पान्जीहरूको आनुवंशिक समानता ९८ प्रतिशत पाइन्छ र पनि ती दुई प्रजातिका शारीरिक संरचनादेखि धेरै नै कुरामा फरक भेटिन्छ।
भाइरस जनावरबाट मानिसमा कसरी आइपुग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । त्यसैले अहिले नै चमेरो र सालकलाइ दोष दिँदा अनुपयुक्त हुनेछ। यसैपनि भाइरस मानिसमा सर्नको लागि कुनै माध्यमको आवश्यकता पर्दछ । यदि प्रत्यक्ष वन्यजन्तुको सम्पर्कबाट वा अप्रशोधित बजारबाट आएको पुष्टि भयो भने त्यस्ता अप्रशोधित बजारलाई विश्वव्यापी रूपमा प्रतिबन्धित गरिनु पर्छ वा कम्तिमा नियमन गर्नुपर्छ।
यस महामारीले वातवरणमा केही राम्रा कुराहरु त पक्कै नि गरेको छ । जस्तो कि वायु प्रदुषणमा गिरावट, वन्यजन्तुमा मानवीय दवाब तथा होहल्ला को कमीका साथै मानवीय गतिविधिहरू सीमित भएका छन् । त्यसैले पनि कार्बन उत्सर्जन कम भएको छ । यसका बाबजुत पनि कोभिड १९ महामारीले धेरै तरिकाले संरक्षणमा बाधा पुर्याउन सक्छ।
निकुन्जका कर्मचारी तथा सुरक्षामा खटिएका सेना र प्रहरीहरु बन्दाबन्दीको कारण तथा भाइरसको कारणले नियमित गस्ति गर्न कार्यमा ढिलाइ हुन सक्ने हुँदा चोरीशिकारी बढ्ने सम्भावना धेरै नै हुन्छ। त्यसैगरी चोरीशिकारी नियन्त्रणका लागि बनाइएका सञ्जालहरु तथा स्थानीय समुदाय प्रायजसो यो महामारी को कारण प्रभावित भएका छन् । चोरीशिकार गर्ने व्यक्ति यो समयमा सक्रिय हुन सक्ने सम्भावना धेरै नै हुन्छन् । त्यसैले नि हुन सक्छ, सायद बन्दबंदी को यो समयमा चोरीशिकारी का धेरैनै घटना हरु सुन्ने गरिएको छ। महामारीका कारणले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने समुदाय पनि वन्यजन्तुको अवैध शिकार गर्न सक्ने सम्भावना धेरै हुन सक्छ ।
अवैध चोरीशिकारी का घटना मात्र होइन यो सुख्खा समयमा जंगलमा आगलागी हुन सक्ने र भएको खण्डमा छिटो अनुगमन तथा निगरानी गर्न गाह्रो हुन सक्ने सम्भावना धेरै नै रहन्छ। पर्यटन व्यवसाय प्रायः शून्य भएको अवस्थामा वन्यजन्तु संरक्षणको लागि आर्थिक संकट हुने र अधिकांश सरकारी र गैर-सरकारी संस्थाहरुले कोभिड १९ लाई प्राथमिकतामा राखेका कारणले पनि वन्यजन्तु संरक्षणलाई आवश्यक पर्ने आर्थिक सहयोग मा कमी हुन सक्ने सम्भावना धेरै रहेको छ। जसले गर्दा भविस्यमा वन्यजन्तु संरक्षण तथा खोज अनुसन्धानमा असर पर्ने देखिन्छ।
आर्थिक तथा अनुसन्धान मा पर्ने असर का अलवा जसरी वन्यजन्तुलाई यस भाइरससँग जोडेर जुन अफवाह फैलिराखेको छ यसले पक्कै पनि वन्यजन्तुको जैविक विविधतामा नकारात्मक प्रभाब पर्ने छ। स्थानीय समुदायमा यदि जनावरहरूप्रति नकारात्मक दृष्टिकोण उत्पन्न भएर प्रतिशोधमा मार्न प्रेरित भएको खण्डमा लोपन्मुख सालक र चमेरो प्रजातिहरु थप खतरामा पर्न सक्छन् । विभिन्न स्थानहरु बिशेष गरेर दक्षिण एसियाका दुर्गम समुदायमा चमेरोहरुलाई प्रतिशोधमा मार्ने गरेका घटना हरु सुन्न थालिएको छ।
त्यसै गरेर पहिल्यै योजना गरिएको संरक्षण कार्यक्रमहरू र अनुसन्धान पनि अनिश्चित भएका छन् । उदाहरणको लागि २०२० को सुरुतिर नेपालको गैंडा जनगणना गर्ने कामको थालनी गर्ने योजना थियो । अहिलेको अवस्थामा स्थगित गरिएको छ । जसका कारण गैडा संरक्षणको लागि असर गर्ने प्रायः निश्चित छ । महत्वपूर्ण कुरा त वन्यजन्तु तथा जैविक विविधताका अनुसन्धानकर्ताहरूले नियमित अनुसन्धान गर्न सकिराखेको छैनन् । यसले पनि दीर्घकालीन् रुपमा असर गर्ने देखिन्छ। अझ भन्नु पर्दा अन्तर्राष्ट्रिय र राष्ट्रिय सम्मेलन, कार्यशाला, प्रशिक्षण कार्यक्रम र बैठक हुन नसकिरहेको अवस्थामा भविष्यको संरक्षण कार्यहरू र व्यावहारिक समाधानहरूको कार्ययोजना बनाउन असर पर्ने निश्चित छ ।
यसर्थ, जैविक विविधता र संरक्षणमा परेको प्रभावको मूल्यांकन गर्न अब ढिलो गर्नु हुँदैन। मुख्य कुरा भनेको जनावरहरूलाई चित्रण गर्दै यस रोग लिएर सामान्य मानिसहरुमा नकारात्मक धारणा आउन नदिई मानिसहरूलाई शिक्षा दिनु आवश्यक देखिन्छ । अझ भन्नु पर्दा वन्यजन्तुको भूमिका पारिस्थितिक प्रणाली र यसको कल्याणमा के कस्तो छ भन्ने जानकारी दिनु आवश्यक छ । त्यसै गरेर संरक्षण अधिकारीहरूले आफ्नो फिल्ड स्टाफहरूलाई उच्च सतर्कतामा राख्नुपर्दछ र संरक्षित क्षेत्रमा लगातार निगरानी राख्नु आवश्यक छ र त्यस्ता फिल्ड स्टाफहरूको मनोबललाई उच्च राख्नु आवश्यक छ ।