लौठसल्ला: क्यान्सर विरुद्धको औषधी

२२ जेठ, २०७७   |  सावित्रि राई

-सावित्रि राई 

 

‘ट्याक्सोल’ एकदमै मङ्गगो हुने गर्दछ । यो रसायन लौठसल्लाबाट प्रशोधन गरि निकालिन्छ । ‘ट्याक्सोल’ क्यान्सर जस्तो प्राणघातक रोग नियन्त्रण र उपचारमा बढी प्रयोग गरिएको पाइन्छ । लौठसल्लाको पात मात्र नभई यसको जरा र बोक्राहरुलाई पनि प्रशोधन गरि उक्त सारतत्व निकालिन्छ । 

लौठसल्लाको पात, जरा र बोक्राहरु मात्रै प्रशोधन गर्दा थोरै मात्र सारतत्व निकलिने हुदाँ सामान्यतया लौठसल्लाको यी सबै भागहरु प्रशोधन गर्ने गरेको पाइन्छ । गंगा दत्त भट्ट, राम चन्द्र पौडेल, तिर्थ राज पाण्डेय र रमेश बस्नेतद्वारा लिखित ‘नेपालका लौठसल्ला’ (सन् २०१७) पुस्तकमा ट्याक्सोलले क्यान्सर कोषहरुको विभाजन रोकी शरिरमा क्यान्सर फैलिएर बढ्न दिदैंन भनी उल्लेख गरिएको छ । स्तन, पाठेघर, फोक्सो, प्रोष्टेट, अन्ननली, टाउको र छाला लगायतका र अन्य क्यान्सरहरुलाई नियन्त्रण र उपचार गर्न ‘ट्याक्सोल’बाट बनेका औषधीहरु प्रयोग गर्ने गरिन्छ ।

लौठसल्लालाई तालिसपत्र, बर्मेसल्ला आदि जस्ता स्थानीय नाम र धेरै वर्ष बाँच्ने वन्सपतिका रुपमा चिनिन्छ । विभिन्न अनुसन्धानहरुका आधारमा नेपालमा लौठसल्लाका ३ प्रजाति रहेका र ती तीन प्रजाति “ट्याकसस् वालिचियाना”, “ट्याकसस् कन्टोर्टा ” र “ट्याकसस् माइरेई” हुन भनि पुष्टि भइसकेको छ । यी तीन प्रजाति छुट्टा–छुट्टै भौगोलिक अवस्थितिका आधारमा भिन्ना–भिन्नै बासस्थानमा रहेको पाइन्छ, जहाँ यी तीनै प्रजाति एकै ठाँउ प्राकृतिक रुपमा हुर्केको भने पाइदैन । लौठसल्लाको ३ प्रजातिमध्ये ट्याकसस माइरेई (माइरेइ यू) मात्र काभ्रेपलान्चोक, सिन्धुली र मकवानपुर जिल्लाहरुमा पाइन्छ । र काभ्रेपलान्चोकमा स्थानीयबासीहरु यसलाई पाते सल्ला भन्छन् । यसको काठ एकदम मजबुत हुने हुदाँ दलिन, चौकोस (चौकट) आदि बनाउँने र यसको हागांहरु गोठहरुमा सोत्तरको रुपमा प्रयोग गर्ने गरिन्छ ।

ग्रिनहुड नेपालद्वारा आयोजित ‘लौठसल्लाको दिगो सकंलन निर्र्देिशका’ सम्बन्धी छलफल कार्यक्रमहरु काभ्रेपलान्चोकको तीन स्थानमा सम्पन्न गरियो, जहाँ ‘माइरेई यू’को पात सकंलक, नर्सरी व्यवसायी, स्थानीय सरोकारवाला साथै स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो । लौठसल्लाका रुखहरुलाई पर्ने प्रत्यक्ष असरहरु बारे, यसलाई कम भन्दा कम असर हुने गरी कसरी दिगो रुपमा सकंलन गर्ने र साथै लौठसल्ला खेती विधी सम्बन्धी छलफल भएको थियो । लौठसल्लाको पात एकदमै अवैध र अप्राकृतिक मात्रामा सकंलन हुने गरेको प्रशस्तै देख्न पाइन्छ, जहाँ रुख नै नाङ्गो हुने गरी सकंलन गर्ने गरिएको पाइयो । यसरी सकंलन गर्दा रुखलाई धेरै असर पुग्ने हुदाँ रुख नै सुकेर मर्ने बढी सम्भावना रहन्छ । यसै क्रममा लौठसल्लाको पातहरुलाई ‘चालिसपत्ता’को नाम गरी धेरै नै ठूलो परिणाममा ढुवानी भएको उक्त छलफल क्रार्यक्रममा काभ्रेपलान्चोक, ढुङ्गेखर्र्कका एक स्थानियवासीले जानकारी गराउनु भयो । सायद, अवैध ओसारपोसार गर्न सजिलो र आम–मानिसहरुको ध्यान नजाने र धेरैले बेवास्ता गर्ने हुदाँ उक्त ‘चालिसपत्ता’ नामको प्रयोग गरिएको हुनसक्छ । 

माइरेइ यू कम उचाइ र मानव बस्तीको छेउछाउमा बढी पाइएको भेटिन्छ । साथै वनबाट साना विरुवाहरु उखेलेर निजी जग्गा र खेतबारिमा रोप्ने गरेको पनि पाइन्छ । तर स्थानीय प्रयोजनमा बहु–उपयोगी मानिने यस बहुमुल्य रुखको वीउको पुर्न–उत्पादन क्षमता भने अति नै कम हुने गर्दछ । ‘माइरेइ यूू’ ढिलो बढ्ने र लामो समय बाच्ने प्रजातिको रुख हो । यसको भाले र पोथी रुख भिन्ना–भिन्नै हुन्छ । यी साथै यसको पात–बोक्राको अवैध र अत्याधिक सकंलन हुने हुदाँ यसलाई नेपालको परिवेशमा ‘अति संकटापन्न’ मानिन्छ । केही वर्षयता पाते सल्लाको अवैध संकलन र चोरीपैठारी यी तीन जिल्लाहरुमा ह्वात्तै बढेको पाइन्छ । जसको प्रमूख कारण क्यान्सर रोग निको हुने प्रचारप्रसार नै भएको भनी अनुमान गर्न गलत नहुन सक्छ । जहाँ यस रुखको वरिपरिको हावा सेवन गरे मात्र धेरै रोग निको हुने र यसको पातहरुको सेवन गरे प्राणघातक रोग क्यान्सर नै निको हुनेमा बढी जनविश्वास रहेको पाइन्छ । यसै कारण स्थानीयवासीहरु वनबाट पात–हागाँहरु ल्याई केही आफू उपयोग गर्ने र केही आफ्ना इष्टमित्रहरुलाई पातहरुको चिया खान कोसेली स्वरुप दिने पनि गर्दा रहेछन् । यसको पात सेवन गरे दम, कफ, चर्म रोग र कब्जियत आदि जस्ता रोगहरु निको हुने विश्वासले लौठसल्लाका पातहरुको प्रयोग हुदैं आएको पाइन्छ । छलफल क्रार्यक्रममा लौठसल्लाबाट निकालिने “ट्याक्सोल”ले क्यान्सर जस्तो प्राणघातक रोग निको वा नियन्त्रण हुने सम्बन्धी जान्न सबैको चासो रहेको पाइयो ।

बिना केही अनुसन्धान, सोधपुछ र विचार क्यान्सर रोग निको हुन्छ भन्ने सुनेर हचुवाको भरमा लौठसल्लाको प्रयोग बढ्दो रहेको पाइन्छ । तर लौठसल्लामा क्यान्सर उपचारमा प्रयोग गरिने रसायन ‘ट्याकसोल’मात्र नभई मानव स्वास्थलाई असर गर्ने केही मात्रामा विषालु तत्व पनि हुने धेरै अध्ययनले देखाएको छ । बिना प्रशोधन र मात्राको विचार नगरी उपयोग गर्दा मानव स्वास्थमा प्रतिकूूल असर पुग्छ ।
‘लौठसल्लाको दिगो सकंलन निर्र्देिशका’  सम्बन्धी छलफल कार्यक्रममा यस सम्बन्धी थाहा नहुदाँ, पातहरुको मात्रा विचार नगरी सेवन गर्ने गरेको सुन्नमा आयो । काभ्रेपलान्चोक, ढुङ्गेखर्कका एक स्थानीय व्यक्तिले(जो क्यान्सर बिरामी थिए), लौठसल्लाको पातहरु पिनेर दैनिक सेवन गरेको दुई दिनमै अकालमा ज्यान गुमाएका थिए । छिटो भन्दा छिटो निको हुने सोचले लौठसल्लाका पातहरु धेरै मात्रामा सेवन गरिएको कारण मृत्यु भएको आशंका गरियो । धेरै स्थानहरुमा यसको पातहरुको सेवन आत्महत्या गर्नको लागी प्रयोग गर्ने गरिएको रहेछ ।

लौठसल्लाको सारतत्व ‘ट्याकसोल’ मानव स्वास्थ्यको लागि बहुमूल्य ओखती हो, तर प्रशोधित ‘ट्याकसोल’को प्रयोग गरे र निश्चित मात्राको सेवन गरे मात्र उक्त लाभ लिन सकिन्छ, नत्र विपरित नतिजा आउन सक्छ । यसबारे थाहा नै नहुँदा, हल्लाकै भरमा र मात्रा विचार नगरी पातहरुको सेवन गर्ने जस्ता कार्यहरुले धेरैले ज्यान नै गुमाएको उदाहरण प्रशस्तै भेटिने गरेको छ । लौठसल्लाको सारतत्व ‘ट्याकसोल’ले क्यान्सर जस्तो प्राणघातक रोग देखि ज्यान बचाउने अमृतको काम मात्र नभई बिना चिकित्सकको सल्लाह–सुझाव सेवन गरे र सेवनको मात्रा ध्यान नदिए वीष सरह असर गर्ने र ज्यान नै जाने खतरा हुन्छ । त्यसैले, यसका पातहरुको सेवन र भ्रमबारे मात्र नभई कति गरे, कस्ता कारणहरुले ज्यानलाई जोखिम हुन्छ र साथै अवैध संकलनले लौठसल्लाको प्राकृतिक जनसंख्यामा पर्नेे असरहरु सम्बन्धी जन–मानसमा जनचेतनाको अभिवृद्धि गर्न एकदम जरुरि छ । 
 

 (लेखक ट्याकसस माइरेईको अनुसन्धानमा ग्रिनहुड नेपालमा आवद्ध छिन्)



Developed by Smart Innovation