स्याङ्जामा भेटियो दुर्लभ अजिङ्गर

९ साउन, २०७७   |  इकोखबर

स्याङ्जाको चापाकोट नगरपालिका १० मा  दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । किसान भन्ने ठाउँमा फलेदाका रुखमा उक्त अजिङ्गर देखेपछि खेतमा पानी लगाउन गएका स्थानीयवासीले देखेर डिभिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्रहरीचौकीमा खबर गरेका थिए । 

डिभिजन वन कार्यालय स्याङ्जाका डिभिजन वन अधिकृत कोमलराज काफ्लेले सूचना पाएसँगै नजीकैको इलाका वन कार्यालय दामाचौरबाट कर्मचारी पठाइएको बताए ।  उक्त अजिङ्गर झण्डै १० फुट लम्बाइ र २५÷३० केजी तौलको रहेको जनाइएको छ ।  “कालीगण्डकी नदी नजीकै रहेकाले पनि अजिङ्गर त्यतैबाट आएको हुन सक्छ, यो प्रजातिको अजिङ्गर पानीमा पौडिन र रुखमा सजिलैसँग चढ्न सक्ने खालको हुन्छ”, काफ्लेले भने, “यो संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत भएकाले पनि यसलाई  सुरक्षित गर्नेतर्फ लागिरहेका छौंँ ।”

अजिङ्गर रहेको ठाउँमा नजान, नजिस्क्याउन र अनावश्यक भीडभाड नगर्न स्थानीयवासीलाई अनुरोध गरिएको वडा नं १० का वडाध्यक्ष रामु कोइरालाले बताए । 



Developed by Smart Innovation