विश्वमै दुर्लभ मानिएको सुनौलो तोप चरा कञ्चनपुरमा

 इकोखबर
  १० साउन, २०७७


विश्वमै दुर्लभ मानिएको सुनौलो तोप चरा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको छ । दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा संरक्षणका लागि निकुञ्जले कार्य अगाडि बढाएको छ । 

नेपालका संरक्षित क्षेत्रमध्ये सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै पाइने गरेको छ । सुनौलो तोप चरा जोगाउनका लागि नियमितरूपमा निगरानी राख्ने कार्यसँगै चराको आहारविहार र बासस्थानबारे अध्ययन कार्यमा समेत जोड दिइएको छ । निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भने, “सुनौलो तोप चराबारे एक हप्ता लगाएर सर्भेक्षणको कार्यसमेत गरेका छौँ । यसको बासस्थानलाई कसरी सुरक्षित गर्ने भन्ने बारे योजनाबद्ध रूपमा अगाडि बढेका छौँ ।”
 
सङ्कटापन्न अवस्थामा रहेका अन्य जीवजन्तु र चराचुरुङ्गी जस्तै सुनौलो तोप चरालाई जोगाउन उत्तिकै महत्व दिइएको उनले बताए । सुनौलो तोप चराको प्रजाति विश्वमै दुर्लभ भएकाले बचाइराख्नु आजको आवश्यकता भएको अधिकृत उनको भनाइ  छ । 

निकुञ्जको घाँसे मैदानका बीच भागमा बासस्थान बनाएको सुनौलो तोप चराको सङ्ख्या १०० देखि २०० को हाराहारीमा रहेको छ । झट्ट हेर्दा भँगेरा जस्तै तर पहँेलो रङको हुने भएकाले यसलाई सुनौलो तोप चरा भनिएको हो ।  तोप चराका सुनौलो, बायाँ, छातिकाले र धर्के गरी चार वटा प्रजाति पाइने गरेका छन् । तीमध्ये सुनौलो तोप चरा दुर्लभ प्रजातिका रूपमा रहेको छ ।

सुनौलो तोप चरा अन्यभन्दा पृथक किसिमको रहेको छ । सन् १९९६ मा चराविज्ञ हेमसागर बरालले शुक्लाफाँटामा सुनौलो तोप चरा पत्ता लगाएका थिए । सुनौलो तोप चरा पत्ता लागेपछि निकुञ्ज कार्यालयले यसको नियमित रेकर्ड राख्दै आएको छ । सन् २००७ मा कोशी टप्पुमा सुनौलो तोप चरा देखिए पनि त्यसपछि यो चरा देखिएको छैन ।

“सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै रहेकाले यसको संरक्षणमा चासो दिइएको छ”, निकुञ्जका मुख्य संरक्षण अधिकृत पौड्यालले भने । 
खेतबारीमा हालिने विषादी र अनावश्यकरूपमा मार्ने कार्यले यसको संरक्षणमा अवरोध भएको छ । निकुञ्जको घाँसे मैदानक्षेत्र नजिकैका ताल र सीमसार क्षेत्र नजिकका काँडेदार रुखमा सामूहिकरूपमा सुनौलो तोप चराले गुँड बनाउने गर्दछ ।
 
तोप चरालाई सामाजिक चराका रूपमा समेत लिइने गरिन्छ । सामूहिकरूपमा गुँड लगाउने र समूहमै रहन मनपराउने हुनाले यसलाई सामाजिक चराका रुपमा लिइन्छ । आहाराको खोजीका लागि पनि यो चरा समूहमै उड्ने गर्दछ । अलगअलग प्रजातिका तोप चराले अलग्गै किसिमका आकर्षक गुँड बनाउने गर्दछन् । 

 एउटै रुखमा सुनौलो तोप चराले सामूहिकरूपमा २० देखि १०० बढी गुँड लगाउने गरेको पाइएको छ ।  मनसुनको समयमा तोप चराले प्रजनन गर्दछन् । प्रजननको समयमै तोप चराको भालेले घाँसलाई बुनेर आकर्षक गुँड बनाउने गर्दछ । मे महिनादेखि सेप्टेम्बर महिनामा सुनौलो तोप चराले गुँड बनाउने, अण्डा पार्ने र बच्चा हुर्काउने गर्दछ । एक अध्ययनअनुसार तोप चराले २० दिनदेखि २८ दिनमा गुँड तयार गर्दछ । बाह्य आक्रमणबाट अण्डा र बच्चालाई जोगाउन गुँड विशेष प्रकारले बनाइएको हुन्छ । 

नेपालमा ८७७ प्रजातिका चरा पाइने गरेका छन् । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा भने ४२३ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये १९ प्रजातिका चरा दुर्लभ प्रजातिका रहेका छन् । आगन्तुक साइबेरियन चराका लागि पनि शुक्लाफाँटा प्रसिद्ध रहेको छ । क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ । 


विराटनगरमा वायु प्रदुषण मापन सुरु

विराटनगरमा वायु प्रदुषण मापन सुरु

  १५ साउन, २०७७

स्याङ्जामा भेटियो दुर्लभ अजिङ्गर

स्याङ्जामा भेटियो दुर्लभ अजिङ्गर

  ९ श्रावण, २०७७

बर्दियामा जंगली हात्तिको आतङ्क (हेर्नुहोस भिडियो)

बर्दियामा जंगली हात्तिको आतङ्क (हेर्नुहोस भिडियो)

  ९ श्रावण, २०७७

नेपालमा मिचाहा वनस्पतीको प्रकोप, आधुनिकिकरण मुख्य कारण

नेपालमा मिचाहा वनस्पतीको प्रकोप, आधुनिकिकरण मुख्य कारण

  ८ श्रावण, २०७७

बाघको आक्रमणबाट बंचेका मायाराम खनाल भन्छन् : भैंसीले बचाए

बाघको आक्रमणबाट बंचेका मायाराम खनाल भन्छन् : भैंसीले बचाए

  २२ असार, २०७७

लौठसल्ला: क्यान्सर विरुद्धको औषधी

लौठसल्ला: क्यान्सर विरुद्धको औषधी

  २२ जेठ, २०७७

कोरोना भाइरसले यसरी गर्दैछ, जैविक विविधताको क्षति

कोरोना भाइरसले यसरी गर्दैछ, जैविक विविधताको क्षति

  १८ जेठ, २०७७

विद्युतीय सवारीमा वृद्धि गरिएको करको वातावरण अभियानकर्मीद्वारा विरोध

विद्युतीय सवारीमा वृद्धि गरिएको करको वातावरण अभियानकर्मीद्वारा विरोध

  १६ जेठ, २०७७

सरकारको नीति तथा कार्यक्रमले वातावरणीय मुद्दा सम्बोधन भएनन्ः अभियान्ता

सरकारको नीति तथा कार्यक्रमले वातावरणीय मुद्दा सम्बोधन भएनन्ः अभियान्ता

  ११ जेठ, २०७७

Developed by Smart Innovation Nepal