लुम्बिनी चराहरुको पनि स्वर्ग

१२ माघ, २०७७   |  चेतन पन्त

लुम्बिनी बौद्धमार्गी र विश्वका शान्तिप्रेमी समुदायको स्वर्ग मात्र नभई चराहरुको पनि स्वर्ग समान रहेको छ । लुम्बिनीको शान्त वातावरण, हरियाली वनस्पति, फूल बगैचा र विशेषगरी चराहरुको आकर्षणका लागि बनाइएका नहर र पोखरी आदिले गर्दा लुम्बिनी चराहरुको स्वर्गको रुपमा रहेको छ ।

लुम्बिनीमा २९० प्रजातीका चराहरु रहेका छन् । कतिपय चराहरुरैथाने छन् भने कतिपय चराहरु बसाइसराइ गरेर आउने गर्दछन् । विशेषगरी जाडो याममा अत्यधिक चिसो हुने स्थान साईबेरिया, मंगोलिया, काजकिस्तान, तुर्कमेनिस्तान, तिब्बत सम्मका चराहरु लुम्बिनीको न्यायो घाम जलचर गर्न आउने गर्दछन् । यस्तालाई हामी पाहुना चराहरु भनेर संबोधन गर्ने गर्दछौं ।
आगन्तुक चराहरुमा मरुन सुनजुरेहास, खडरवर्ड, काली जुरे, मालक आदि अनेकन प्रजातीका चराहरु लुम्बिनी क्षेत्रमा आउने गर्दछन् । हजारौं माइल टाढाबाट बिना भिसा र पासपोर्टमा सयौं आकाशलाई पार गर्दै पर्यटकीयहरु लुम्बिनी आउँदा लुम्बिनीको वातावरण सुनमा सुगन्ध छरेजस्तो हुन्छ । 

लुम्बिनी विकास कोषले गुरुयोजनामा १/३ किलोमिटरलाई केन्द्रीय नहर, सर्कुलर लभीको गोलाकार पोखरी र प्रत्येक बिहार क्षेत्रमा चराहरुको बासस्थान र आकर्षण बढाउन सुन्दर पोखरीहरुको निर्माण गरेको छ । 
लुम्बिनीको अर्को सुन्दर पक्ष यहाँ पाइने दुर्लभ प्रजातीका चरा  सारस पनि हो । यसका लागि गुरुयोजना अनुसार लुम्बिनी एकसय हेक्टर भूमिलाई सारस संरक्षणका लागि सिमसार क्षेत्र बनाइएको छ । जसलाई क्रेन फाउन्डेशन अमेरिकाको सहकार्यमा सारस संरक्षणको प्रयासको थालनी गरिएको छ । लुम्बिनी भित्र र बाहिरी ग्रामीण क्षेत्रमा करिव ५ सय सारस पाइने गर्दछ । 

बुद्ध र सारसबीचमा दया र करुणा जोडएअनुसार बुद्धका  काकाका छोरा देवदत्तले बाणले घाइते बनाएको सारसलाई बुद्धले औषधि गरी जीवित तुल्याएको घटनाले पनि लुम्बिनी सारसको प्रिय स्थल बन्न पुगेको अनुमान गर्न सकिन्छ । लुम्बिनी क्षेत्रमा सारसपछि स्थानीय चराहरुमा भुडीफोड, गरुड, धोधीफोड, हुटीट्याउँ, भँगेरा, बगेडी, सिलसिले, चिल, कृष्णकांड, निलकंठ लगायत सयौं प्रकार रैथाने जातका चराहरु पाइन्छ । 
लुम्बिनी क्षेत्रमा न्यानो घाम, तालतलैया र नदी एवं खेतवारीमा टन्न आहार पाइने र नहर पोखरी आदिमा जलबिहारको आनन्द लिने अनुकुल वातावरण भएको हुँदा लुम्बिनी चराहरुको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । 
लुम्बिनी विकास गुरुयोजनाले निर्दिष्ट गरे अनुसार लुम्बिनीमा ६० प्रतिशत भुभाग हरित क्षेत्र, ४० प्रतिशत क्षेत्र नहर पोखरी एवं सुन्दर उद्यान भएको हुँदा लुम्बिनी चराहरुको स्वर्ग बन्दै गएको कुरा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई बताउँछन् । 

सुन्दर लुम्बिनी, रमाइलो र घमाइलो वाताव।णमा रमाउँदै हजारौं माइल टाढाबाट आउने पाहुना चरा र रैथाने जातका चराहरुको चिरविराहट लुम्बिनीमा बेग्लै आनन्द छ । विश्वबाट कतिपय पर्यटक, चराविद तथा चराहरुको बारेमा अनुसन्धान गर्नेहरु वर्षेनी सयौंको संख्यामा लुम्बिनी र वरपरका तालतलैया क्षेत्रमा आउने गर्दछन् । चराको आवाजमा आकर्षण, चरा हेरेर कतिपय सिर्जनात्मक काम गर्न सकिने हुँदा चराप्रेमीहरुका लागि लुम्बिनी एउटा बेग्लै स्वर्ग हो । 

 



Developed by Smart Innovation