२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी

१४ माघ, २०७७   |  इकोखबर


देशभित्र हालसम्मकै ठूलो सौर्य परियोजना अगाडि बढ्ने भएको छ । लगानी बोर्ड र प्रवद्र्धक कम्पनीबीच आज परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन(डिपिआर)तयार पार्ने लक्ष्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
बोर्डका उपसचिव एवं सहप्रवक्ता रमेश अधिकारीका अनुसार ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य परियोजना अगाडि बढ्ने भएको छ । सो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने ध्येयका साथ बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट सो कम्पनीका तर्फबाट दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ जियाङले हस्ताक्षर गरे । 
सिङ्गापुरको राइजन इनर्जीले संयुक्त उपक्रम तयार गरी सो आयोजना अगाडि बढाउन लागेको हो । समझदारीअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगङ्गामा क्रमशः १२५ मेगावाट क्षमताका दरले दुई वटा परियोजना सञ्चालन हुनेछ । सोही परियोजनामा २० मेगावाट दरका थप दुई गरी कूल ४० मेगावाट क्षमताका ब्याट्री स्टोरेजसमेत निर्माण हुनेछ । 
समझदारीअनुसार सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र अध्ययन पूरा गरी लगानी बोर्डलाई प्रतिवेदन बुझाउनुपर्नेछ । गत असार ५ गते बसेको बोर्डको ४४ औँ बैठकले उक्त कम्पनीलाई सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न अनुमति दिएको थियो । सो परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना भएको बोर्डका सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

 



Developed by Smart Innovation