सीमसार संरक्षण मुख्य चुनौतीः मन्त्री गिरी

२० माघ, २०७७   |  इकोखबर


लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले जैविक विविधताको संरक्षण गरी पर्यावरण जोगाउने बेला आएको बताउनुभएको छ । विश्व सिमसार दिवसका अवसरमा लुम्बिनी विकास कोषले मंगलबार लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गिरीले यस क्षेत्रमा पाईने बिभिन्न प्रजातिका चराहरुको संरक्षण गरी पर्यटकहरु भित्र्याउन सकिने बताउनुभयो । उहाँले अहिले सीमसारको संरक्षण मुख्य चुनौतीको रुपमा देखा परेको समेत बताउनुभयो ।
मन्त्री गिरीले लुम्बिनी प्रदेशमा पाईने सबै प्रकारका चराका प्रजातिको अवस्था र स्थितिबारे अध्ययन र संरक्षण गर्न मन्त्रालयले नयाँ कार्ययोजना अगाडि सार्ने समेत बताउनुभयो । नेपालमा चरा पर्यटनको सम्भावना बलियो रहेको उल्लेख गर्दै मन्त्री गिरीलेले चराहरुको संरक्षण गरी बिदेशी पर्यटकहरुको गन्तव्य स्थलको रुपमा चराको वासस्थानलाई विकास गर्न सकिने बताउनुभयो ।
  मानिस र चराचुरुंगीको पुरानो सम्बन्धलाई प्रगाढ बनाउन तथा धार्मिक, सांस्कृतिक आस्था र सम्बन्धसँग पनि चराचुरुंगीले सरोकार राख्ने हुँदा चरा जोगाउनु सबै मानिसको कर्तव्य रहेको उहाँको भनाइ छ । पर्यावरणसँग चराचुरुंगीको मात्र नभै मानिसको पनि जीवन गाँसिएकाले यसको संरक्षणमा जुट्नु नै आजको आवश्यकता रहेको मन्त्री गिरीले बताउनुभयो । 
  नेपाली काँग्रेस लुम्बिनी प्रदेशमा प्रमुख सचेतक फकरुद्धिन खानले जैविक विविधताको संरक्षण र यसको प्रवद्र्धनमा स्थानीय, प्रदेश र संघ सरकारका साथै सरोकारवाला निकायको जिम्मेवारी र दायित्व बढेको बताउनुभयो ।
  लुम्बिनी विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले पर्यावरणलाई समेत जोडेर अध्ययन अनुसन्धानको पाटोलाई अगाडि बढाएको बताउनुभयो । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले नगरपालिकाले लुम्बिनीमा पाँच स्थानमा सीमसारको व्यवस्थापन गर्न लागेको जानकारी दिंदै लुम्बिनीमा रहेका चार, पाँचसय सारसको अस्तित्व जोगाउन पनि सीमसारको संरक्षण हुनैपर्ने बताउनुभयो ।
डब्लुडब्लुएफका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुंगले पानीको संरक्षण गर्नु नै आजको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, सदस्यसचिव सानुराजा शाक्य, सूचना अधिकारी राजन बस्नेतलगायतले सीमसार संरक्षणमा लुम्बिनी विकास कोषले गरिरहेका प्रयासहरुबारे जानकारी गराउनुभएको थियो ।

 



Developed by Smart Innovation