बुटवलमा प्रदेशस्तरीय जुलोजिकल सेमिनार हुँदै

२२ माघ, २०७७   |  इकोखबर

प्राणी र प्रणीजगतको वातावरणीय अवस्थको उजार गर्ने उद्देश्यले बुटवलमा शुक्रबार र शनिबार लुम्बिनी प्रदेशस्तरीय जुलोजिकल सेमिनार आयोजना हुने भएको छ ।

नेपाल जुलोजिकल सोसाइटीको आयोजनामा लुम्बिनी प्रदेशमा पहिलो पटक यस प्रकारको सम्मेलन गर्न लागिएको हो । लुम्बिनी प्रदेशभित्र पाइने महत्वपूर्ण प्राणीहरु जस्तैः सारस क्रेन, बर्दियामा रहेको पाटे बाघ, हरिण, मृग, निलगाई, विभिन्न प्रकारका किरा फट्यांग्रा, मौरी पालन, छपियाको माछा गाउँ, जगदिशपुर तालभित्रको सिमसार क्षेत्र, अर्घाखाँचीको घेरालेख र घोर्लासी क्षेत्रमा पाइने विभिन्न प्रकारका गिद्धहरु आदिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले सेमिनार गर्न लागिएको सोसाइटीका अध्यक्ष प्रा.डा. महेन्द्र महर्जनले जानकारी दिनुभयो ।

सम्मेलनबाट नयाँ सिमसार क्षेत्रहरुको पहिचान, नयाँ नयाँ प्रजातीहरुको खोज अनुसन्धान र अनुसन्धानबाट पत्ता लागेका प्राणीहरुको वर्गीकरण गर्दै समग्र प्राणीशास्त्रको महत्व उजागर हुने उहाँले बताउनुभयो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सुक्ष्म अर्थात एक कोशीय प्राणीदेखि बहुकोषीय विकसित चेतनशील प्राणीहरुसम्मको अध्ययन अनुसन्धानमा पनि सेमिनारले जोड दिने बताउनुभयो । 

पछिल्लो समय वातावरणीय प्रदुषण, विश्वव्यापी उष्णता, जलवायु परिवर्तन जस्ता वातावरणीय असरले प्राणीहरुमा परोक्ष तथा प्रत्यक्ष रुपमा असर पारेको तथा यी र यस्तै तत्वको प्रत्यक्ष मारमा प्राणीहरु परिरहेको परिप्रेक्ष्यमा यो सेमिनारले वातावरण संरक्षणको क्षेत्रमा समेत महत्वपूर्ण दिशा निर्देश गर्ने सेमिनारको लक्ष्य छ । सेमिनारले पर्यावरण, पर्या पर्यटन, वातावरण संरक्षणजस्ता क्षेत्रमा समेत महत्वपूर्ण टेवा पुर्याउने पनि महर्जनले बताउनुभयो । एसियन पार्टी प्यालेश कालिकानगर बुटवलमा हुने सम्मेलनमा लुम्बिनी प्रदेशभित्रका एकसयजना प्राणीशास्त्रीहरु सहभागी हुनेछन् भने चारवटा कार्यपत्र प्रस्तुत गरी समूहगत छलफल गरिने छ । 
सम्मेलनबाट यस क्षेत्रका प्राणीहरुको संरक्षण तथा प्रवद्र्धनमा क्रियाशील हुन सहज होस् भन्ने गरी प्रदेश स्तरीय सोसाइटी समेत गठन गरिने भएको छ ।  पत्रकार सम्मेलनमा सोसाइटीका लुम्बिनी संयोजक केशव महत, अभियान्ता बाबुराम बन्जाडेलगायतले सेमिनारको महत्वबारे चर्चा गर्नुभएको थियो । 

 



Developed by Smart Innovation