लुम्बिनीमा आफूखुसी व्यक्तिको नाममा सिमसारको नामाकरण, उपाध्यक्ष त्रिपाठीको भूमिकामा प्रश्न

२६ माघ, २०७७   |  लक्ष्मण पौडेल

लुम्विनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले सिमित व्यक्ति रिझाउने नाममा पदको दुरुपयोग गरी लुम्विनी विकास कोष भित्र रहेका पोखरीहरुलाई केही व्यक्तिको नाममा नामाकरण गरेका छन् । 

त्रिपाठीले विश्व सिमसार दिवसको अवसरमा गत माघ २० मा लुम्विनीमा रहेका सातवटा सिमसारलाई स्व हर्क गुरुङ, डा चन्द्र गुरुङ, डा मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा तीर्थमान मास्के, डा जर्ज अर्चिबल्ड र डा घन गुरुङ सिमसार भनेर नाम घोषणा गरेका हुन्  । त्यसमध्ये गुरुङ्ग र काजी जिवित छन् ।   डा घनश्याम गुरुङ हाल विश्व वन्यजन्तु कोष नेपालको निर्देशक हुन् भने काजी चरा विषेशज्ञ हुन् । हर्क, चन्द्र, तीर्थ, नर्बु,  १४ वर्ष पहिले ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

उपाध्यक्ष त्रिपाठी नामाकरण गर्दा विभिन्न क्षेत्रको योगदानलाई आधार मानिएको र कुनै पूर्वाग्रह नराखिएको बताउँछन् । “जैविक विविधताको संरक्षणमा योगदान पु¥याएको र आगामी दिनमा पनि पु¥याउने अपेक्षासहित प्रोत्साहनस्वरुप घन गुरुङको नाम राखिएको हो,” उनले भने । उपाध्यक्ष त्रिपाठीले यस्तो दावि गरेपनि विश्ववन्यजन्तु कोषका निर्देशक घनश्याम गुरुङ्गलाई रिझाउनका लागि उनको नामबाट सिमसारको नामाकरण गराएका छन् । लुम्विनी कोषको कुनै आधिकारिक निर्णय विना कोषको जग्गामा निर्माण गरिएका सिमसारको नाम धमाधम व्यक्तिको नामबाट राख्न थालिएपछि त्रिपाठीको भूमिकामै प्रश्न उठेको छ । “भोली अरु व्यक्तिले पनि हामीले पैसा दिन्छौं, हाम्रो पनि नाममा पोखरी हुनुपर्यो भन्दै आए भने के गर्ने,” आफ्नो नाम उल्लेख नगर्ने कोषका एक पदाधिकारीले भने “जसको नाममा पोखरीको नामाकरण गरिएको छ, उहाँहरुले संरक्षणमा योगदान पुराएको कुरामा कुनै शंका छैन । तर, त्यहाँ व्यक्तिको नाम राख्दैमा त्यसको कुनै अर्थ हुँदैन । झन विवादित हुन्छ । उपाध्यक्षको आफ्नै मनोमानी छ ।” 

लुम्विनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई नामाकरणको विषय विकास कोषको निर्णय नभएर उपाध्यक्ष त्रिपाठी संलग्न अन्तराष्ट्रिय सारस संरक्षण केन्द्रले गरेको बताउँछन् । “यो कुनै कोषको वैठकले गरेको निर्णयबाट भएको होइन, उपाध्यक्ष ज्यू ले गरेको निर्णय हो,” भट्राई भन्छन् ।  लुम्विनी विकास कोष र अन्तराष्ट्रिय क्रेन फाउण्डेसनबीच सारस संरक्षणका लागि १ सय हेक्टर जमिन ५० वर्षका लागि भाडामा लिने दिने सम्झौता सन १९९४ मा भएको थियो । सोही सम्झौता अनुसार फाउण्डेसनले लुम्विनीमा सारस संरक्षण सम्वन्धी काम गर्दै आएको हो । तर, पछिल्लो समयमा विकास कोषका उपाध्यक्ष त्रिपाठीले सारस संरक्षणका नाममा आफूखुसि निर्णय गर्ने गरेका छन् । 

संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले पनि व्यक्तिका नाममा सिमसारको नाम राखिएको विषयमा अनविज्ञता प्रकट गरे । “कोषको अध्यक्ष मन्त्रीज्यू हुनुहुन्छ, मन्त्रीज्यूको अध्यक्षतामा बसेको वैठकले निर्णय गर्नुपर्ने हो, के भएको हो, त्यस बारेमा बुझ्नु पर्दछ,” अधिकारीले भने ।  विकास कोष संघीय मन्त्रालय अन्र्तगत भएकाले विकास कोषका गतिविधिप्रति प्रदेश सरकारले चासो राख्दैन । लुम्विनी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले सिमसारको नामाकरण गरिएको विषय कार्यक्रमस्थलमा गएपछि मात्र आफूले जानकारी पाएको बताए । त्रिपाठीले गिरिको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी सिमसारको नामाकरण घोषणा गराएका थिए । 

*सच्चाइएको 



Developed by Smart Innovation