चितवनमा किन मरिरहेका छन् हात्ति ?

२६ माघ, २०७७   |  इकोखबर

निकुञ्जका सूचना अधिकारी लोकेन्द्रका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोष्टको शङ्करप्रसाद मरेका हुन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार ५५ वर्षको दीपेन्द्र गज क्षयरोगले, ७५ वर्षको सुन्दरमाला बुढो भएर, २२ वर्षको विक्रमप्रसाद वामपुड्को र रोगी भएर मरेका हुन । जन्मेको १८ दिनमा अप्सराकली अकस्मात बिरामी भएर मरेको हो भने ४५ वर्षको शङ्करप्रसादको सानो आन्द्रा वटारिएर गाँठो परेसँगै पेट फुलेर मरेको हो ।

 
श्रेष्ठले शङ्करप्रसाद क्षयरोगका कारण मरेको हो की भन्ने आशङ्का गरिएको भए पनि पोष्टमार्टमपछि क्षयरोग नभएर आन्द्रा फुलेर मरेको पाइएको बताए । बच्चा बिरामी भएको थाहानै ढिलागरी पाइएकाले बचाउन नसकिएको उनको भनाइ छ ।
 
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले प्राकृतिक कारणबाट धेरै हात्ती मरेपछि चिकित्सकसँग छलफल भइरहेको बताए । पछिल्लो समय काम र चरेर फर्किएका हात्तीको खुट्टलाई सोडा पानीमा डुबाउने, धानलाई पखालेर मात्र खुवाउने जस्ता कार्य पनि थालिएको छ । केही हात्तीको क्षयरोग परीक्षणका लागि नमूना लिएर पठाइएको छ । 

यस वर्ष धेरै हात्ती मरेसँगै निकुञ्जमा हात्तीको स्वास्थ्यको विषयमा विशेष ख्याल गर्न थालिएको छ । विगतमा निकुञ्जका हात्तीमा क्षयरोग फैलिएर हात्ती मर्न थालेपछि औषधि खुवाइएको थियो । हाल निकुञ्जमा ५१ वटा हात्ती रहेका छन् । ६ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यही काम गरिरहेका छन् । निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । केन्द्रमा जङ्गली हात्ती धु्रवे, रोनाल्डोलगायतको संसर्गबाट छावा जन्मिने गर्दछन् ।
 
त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालीमपछि काममा पठाउने गरिन्छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ ।  विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ ।



Developed by Smart Innovation