चितवन राष्ट्रिय निकुञ्जमा मिचाहा प्रजातिको प्रकोप, हराउँदै घाँसे मैदान

२७ माघ, २०७७   |  इकोखबर

दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावर संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनको कामलाई प्राथमिकता दिएको छ । चितवन राष्ट्रिय निकुञ्जले चालु आव २०७७ र ७८ मा एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माण तथा ४०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम गरिरहेको छ ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले निकुञ्जभित्र नयाँ र पुराना गरी एक हजार ४४३ हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण तथा व्यवस्थापनको काम भइरहेको बताए । “हामीले नयाँ घाँसे मैदान निर्माणका लागि बोलपत्र माग गर्दा तोकिएको रकमभन्दा ४२ प्रतिशत कम रकममा बोलपत्र परेको छ”, उनले भने , “अहिले एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माणको काम भइरहेको छ, त्यो बोलपत्रबाट बचेको बाँकी रकमले पुनः एक हजार ४५ हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान व्यवस्थापन गर्नेगरी बोलपत्र प्रक्रियामा गएका छौँ ।”

अधिकारीका अनुसार बोलपत्रको काम पनि यसै आर्थिक वर्षमा सक्ने गरी  निकुञ्जले दुई हजार ८८ हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान निर्माण छ । “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट यस वर्ष नयाँ  घाँसे मैदान निर्माणका लागि रु तीन करोड ५० लाख निकासा गरिएको छ ।   निकुञ्जले ४०० हेक्टर क्षेत्रफलमा पुरानो घाँसे मैदान व्यवस्थापनका लागि रु एक करोड बजेट पाएको थियो ।

निकुञ्जभित्र घाँस प्रजातिले ढाकेको क्षेत्रलाई घाँसे मैदानको रूपमा लिइन्छ । निकुञ्जको ९५२ वर्गकिलोमिटर क्षेत्रफलमध्ये करिब १० प्रतिशत मात्रै घाँसे मैदान रहेको छ । साना किरा फट्याङ्ग्रा, सरिसृपदेखि लिएर ठूला स्तनधारी प्रजाति गैँडा, बाघ, हात्तीलगायत अन्य खुर भएका प्रजातिका वन्यजन्तुलाई घाँसे मैदान विचरण गर्न, खेल्न, हिँडडुल गर्न, घाम ताप्न, आराम गर्नका लागि घाँसे मैदान आवश्यक पर्दछ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्जका जनावरका लागि मात्रै नभएर जैविक विविधता संरक्षण र पर्यावरणमा सन्तुलन कायम राख्नसमेत घाँसे मैदानले ठूलो भूमिका खेल्ने बताउँछन् ।  “निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका घाँसे मैदानमा मुख्य घाँस प्रजातिमध्ये दुबो, काँस, सिरु, बरुवा, नर्कट, थमेडा, ढड्डी आदि पाइन्छन्”, बरालले भने , “निकुञ्जको घाँसे मैदानमा ५० भन्दा बढी प्रजातिका घाँस छन् जुन यहाँका वन्यजन्तुको मुख्य आहारसमेत हो ।” निकुञ्जमा माइकेनिया, काँडे वनमारा, पार्थेनियम, सेतो वनमारालगायतका मिचाहा प्रजातिका झारका कारण घाँसे मैदानको क्षेत्रफल साँघुरिँदै गएको छ ।  २०३० सालमा निकुञ्ज स्थापना हुँदा   निकुञ्जको २० प्रतिशतभन्दा बढी भागमा घाँसे मैदान रहेको भए पनि प्राकृतिक चक्रका कारण तथा घाँसे मैदानमा क्षेत्रगत एवं गुणात्मकरूपमा क्रमिक ह्रास हुँदा हाल १० प्रतिशतमा झरेको हो ।

घाँसे मैदान व्यवस्थापनपछि निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम घट्ने निकुञ्जको विश्वास छ । यस वर्षको सात महिनामा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न कारणले २३ गैँडाको मृत्यु भइसकेको छ । सन् २०१५ मा भएको गैँडा गणनाअनुसार नेपालमा रहेका ६४५ गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ छन् । 



Developed by Smart Innovation