को हुन् चितवनमा गैंडाको चोरी सिकारीमा संलग्न ? एकैपटक पक्राउ परे १४ जना शिकारी

२८ माघ, २०७७   |  इकोखबर

दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गर्ने १४ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले पक्राउ परेकाहरुलाई  सार्वजनिक गरेको हो । 

चालू आर्थिक वर्ष शुरु भएयता निकुञ्जमा चोरी शिकारीबाट मारिएका चार गैँडा फेला परेका थिए । यस लगत्तै निकुञ्ज प्रशासन, सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई देशका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार कावासोती नगरपालिका–७ का ४८ वर्षीय पल्ला भनिने शिवनारायण महतोलाई घरबाटै पक्राउ गरिएको थियो । भरतपुर महानगरपालिका–२८ स्यालबासका ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमाल र उनकी श्रीमती ईन्द्रमाया कुमाललाई नवलपुरको चोरमाराबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । 

बाँकेको सोनारीका ३५ वर्षीय हरिप्रसाद थारु र उनकी श्रीमती विष्णुमाया गुरुङलाई उनीहरु बसोबास गरेको नवलपुरको गैँडाकोट नगरपालिका–१ ईट्टाभट्टाबाट पक्राउ बरालले बताए । यस्तै गैँडाकोट वडा नं १ का ३२ वर्षीय काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङलाई गोरखाको आरुघाटबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको बयानको आधारमा अन्य सातजना संलग्न भएको बुझिएको र उनीहरुको खोजीकार्य भइरहेको उनले बताए । 

त्यसैगरी कालिका नगरपालिका–९ शक्तिखोर बस्ने तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा, गोरखा नगरपालिका– ७ नयाँ बजारका कैलाशबाबु आलेलाई गोरखा बजारबाट पक्राउ परेका छन् । सोही गिरोहका लमजुङ बँेशीसहर नगरपालिका–१० बस्ने ३२ वर्षीय सोमबहादुर गुरुङलाई काठमाडौँबाट पक्राउ गरिएको हो । उनीहरु यसभन्दा अघि पनि गैंडा मारेको अभियोगमा पक्राउ परेका हुन् । 

 माडी नगरपालिका–९ अयोध्यापुरी बस्ने वर्ष ३२ का दुर्गा भुजेल भन्ने दुर्गाबहादुर सार्कीलाई महोत्तरी बर्दिबासबाट पक्राउ गरिएको हो । मकवानपुर जिल्ला वाग्मती गाउँपालिका–३ घर भई काठमाडौँ गोकणेश्वर बस्ने ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, मुगु जिल्लाको मुगु घर भई काठमाडाँंैको बौद्ध बस्ने ६१ वर्षीय नाङ्गे तामाङ लामा, काठमाडौँ बौद्धका २१ वर्षीय योञ्जन भनिने छिरिङ लामाको नामले चिनिने योन्देन ग्याम्जो तामाङलाईसमेत पक्राउ परेका छन् । 

पक्राउ परेकाहरुको साथबाट एक थान गाडी, दुई थान मोटरसाइकल, पत्रिका काटेर पैसा जस्तो बनाएको २३ बण्डल, रु ४१ लाख बराबरको बैंक भौचर ६ थान बरामद गरिएको सो अवसरमा जानकारी दिइयो । बरालले पक्राउ परेकामध्ये रणकुमाल भन्ने जीतबहादुर कुमाल पाँच पटक, काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङ दुई पटक, तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा तीन पटक गैँडा मार्ने कार्यमा संलग्न रहेको र उनीहरु लामो समयदेखि पटकपटक गैँडा मारी खागको चोरी निकासी गर्ने कार्यमा संलग्न रहेको खुल्नआएको बताए ।

 कुमाल विसं २०६९ फागुन ९ गते पक्राउ परी गत जेठ १० गते जिल्ला कारागार चितवनबाट मुक्त भएका थिए । उनी गैँडा तस्करीको फैसलासँगै कारागार जीवन बिताएका थिए । छुट्नासाथ तस्करीमा संलग्न भएको पाइएको छ । निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा शिकारीले गत भदौ १७ गते २५ देखि ३० वर्षको भाले गैँडालाई गोली हानेर मारेका थिए । उनीहरुले त्यसको खाग र खुर भने लैजान पाएका थिएनन् । कात्तिक १९ गते नारायणी नदीको टापु मर्दी घोलमा गैँडाको माउ र बच्चा मृत भेटिएका थिए । २०÷२२ वर्षकी पोथी गैँडा र तीन वर्षको बच्चा गोली लागेर मरेका थिए । तिनीहरुको शिकारीले खाग लगिसकेका थिए । त्यस्तै, कात्तिक २१ गते  गैँडाको कङ्काल भेटिएको थियो । निकुञ्जको पश्चिमी क्षेत्र भुसहरघाट नजिकै भेटिएको उक्त गैँडा पनि शिकारीबाट मारिएको खुल्न आएको थियो ।  केही वर्षयता शून्य चोरी शिकार भए पनि एकाएक तस्करले गैँडा मार्न थालेपछि निकुञ्ज सुरक्षामा फरक रणनीति अपनाएर तस्करीको खोज तलासमा व्यापकता दिइएको छ । 



Developed by Smart Innovation