किर्तिपुरमा सालक पदमार्ग

८ फागुन, २०७७   |  इकोखबर

सालक दिवसको अवसरमा काठामाडौंको किर्तिपुर स्थित् बाघ भैरव सामुदायिक वनमा सालक पदमार्गको शुभारम्भ गरिएको छ । 

किर्तिपुर नगरपालिकाको समन्वय  र सहयोगमा बाघ भैरव सामुदायिक वनमा सालक पदमार्ग घोषणा गरिएको हो । सालक अनुसन्धानकर्ता तुल्सी लक्ष्मी सुवालका अनुसार चन्दागिरिदेखि चम्पादेवीसम्म गरिएको जैविक विविधता सर्वेक्षणमा उक्त क्षेत्रमा सालकको राम्रो वासस्थान पाइएकाले साललको संरक्षण गर्ने उद्देश्यले सालक पदमार्ग घोषणा गरिएको हो । “कुनै पनि संरक्षणको कामलाई सफल गराउन स्थानीय सहभागिता आवश्यक पर्दछ । स्थानीयको सहभागिता विना संरक्षण सफल नहुने भएकाले उहाँहरुको जीविकोपार्जनमा सहयोग पुराउन पनि पदमार्ग घोषणा गरिएको हो,” उनी भन्छिन् “पदमार्गमा मानिस जाँदा त्यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा स्थानीयको आय आर्जनमा सहयोग पुग्ने विश्वास लिएका छौं ।”

पदमार्ग घोषणा गर्नुअघि स्थानीयलाई सालकको बारेमा जनचेता जगाउने र उनीहरुको क्षमता विकासमा सहयोग पुग्ने खालका कार्यक्रम गरिएको थियो । स्थानीयसंगको राय सुझाव, छलफल र परामर्शपछि पदमार्गको सोंच अघि बढेको सुवाल बताउँछिन् । अहिले बाघ भैरव सामुदायिक वनको पाँच किलोमिटर क्षेत्रमा मात्र सिमित पदमार्ग आगामी दिनमा चम्पादेवी सामुदायिक वन र अन्य सामुदायिक वनमा पनि विस्तार गरिने सुवालले बताइन् । 



Developed by Smart Innovation