आखोटेपहार भण्डारणमा समस्या

९ फागुन, २०७७   |  इकोखबर

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका आखेटोपहार भण्डारणमा समस्या भएको छ । केन्द्रीय भण्डारणका रुपमा रहेको निकुञ्जमा देशैभरबाट आखेटोपहार आउने हुँदा भण्डारणमा कठिनाइ भएको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा पाँच कोठा आखेटोपहारले भरिएका छन् । कतिपय आखेटोपहार कुहिएको र दुर्गन्ध फैलिएको छ  ।   भण्डारणमा गैँडाको खाग १४९, गैँडाको खुर एक हजार २८६, बाघको छाला १६, चितुवाको छाला ९३ , रातो हाब्रेको छाला ४४ र  हात्तीको दारा ४११ थान तथा चिरुको रौ ७५ बोरा छन् । 

त्यसैगरी कस्तुरीको बिना ११, चरी बाघको छाला चार, अजिङ्गरको छाला तीन, हिउँ चितुवाको छाला दुई र गोहीको छाला तीन थान तथा सालकको खपटा २४१, बाघको हड्डी ९५ र  भालुको पित्त १९ किलो छन् । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका भनाईमा  खागमा कीरा लागी बिग्रेको, केही खागको अवशेष मात्रै  रहेको, छाला तथा अन्य आखेटोपहार अधिकांश ओसको कारणले कुहिसकेको र बाँकी कुहिने अवस्थामा छ । 

देशका विभिन्न स्थानमा चोरीशिकार तथा प्राकृतिक कारणले मरेका वन्यजन्तुको आखेटोपहार यहाँ ल्याउने गरिन्छ । यसैगरी तस्करबाट बरामद गरिएको वन्यजन्तुको आखेटोपहार पनि यहीँ ल्याइन्छ । 

आखेटोपहार थपिँदै जाने र  भण्डारण गर्ने स्थानको उचित व्यवस्था नहँुदा समस्या भएको प्रमुख संरक्षण अधिकृत बरालले बताए । विसं २०७४ मा मन्त्रिपरिषद्को निर्णयबाट निकुञ्जमा ठूलो मात्रामा आखेटोपहार जलाएर नष्ट गरिएको थियो । त्यसपछि प्रत्येक पाँच वर्षमा कार्यविधि बनाएर नष्ट गर्ने भनिएको र पाँच वर्ष लामो समय हुने भएको कारण त्यसभन्दा छिट्टै नष्ट गरिनुपर्ने बराल बताउँछन् । आखेटोपहारको कुनै मूल्य नभएका कारण यसलाई केन्द्रीयस्तरको आखेटोपहार व्यवस्थापन समूहभन्दा स्थानीयस्तरको कार्यदल बनाएर चाँडो चाँडो नष्ट गरिँदै जानुपर्ने बरालको सुझाव छ । 



Developed by Smart Innovation