चितुवाको छालासहित तीन पक्राउ

११ फागुन, २०७७   |  इकोखबर

बाँकेको कसुमबाट चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका—३ का जीतबहादुर डिसी, कुमाख गाउँपालिका—७ का कमल डिसी र हिमेन्द्र वली रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । 

जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अवैधरुपमा ओसारपोसार भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले केही दिनदेखि त्यस क्षेत्रमा चेकजाँचमा कडाइ गरेको थियो । कुसुमस्थित सडकखण्डमा शङ्कास्पदरुपमा हिँडिरहेका व्यक्तिहरुलाई आज खानतलासी गर्ने क्रममा चितुवाको छालासहितको झोला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

खानतलासीका क्रममा जीतबहादुरले बोकेको कालो रङ्गको झोलाभित्र दुई थान चितुवाको छाला बरामद भएको प्रहरी उपरीक्षक रानाले बताए । पक्राउ परेकाहरु वन्यजन्तुका छाला तथा अङ्ग खरीद बिक्री गर्ने कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ ९२० बमोजिम उनीहरुलाई रु एक लाखदेखि रु २५ लाखसम्म जरिवाना र एक वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।



Developed by Smart Innovation