घडियाल संरक्षण गर्न फूटवल प्रतियोगिता

२० फागुन, २०७७   |  इकोखबर

विश्वमै सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षण गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक ‘प्रथम घडियाल कप फुटबल प्रतियोगिता–२०७७’ को आयोजना गरिएको छ । 

यही फागुन २३ गतेदेखि नवलपरासी बर्दघाट–सुस्तापूर्व को देवचुली नगरपालिकामा घडियाल कप फुटबल प्रतियोगिता हुन लागेको हो । चितवन राष्ट्रिय निकुञ्ज र सिसवार मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा देवचुली–१ स्थित नारायणी नदी किनारमा हुने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ । 

घडियाल गोही नारायणी नदीबाट बगेर भारततर्फ जानेक्रम बढिरहेकाले नेपालमा घडियालको सङ्ख्या कम भएको भन्दै सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले यसको संरक्षणका लागि फुटबल प्रतियोगिताका माध्यमबाट युवालाई परिचालन गरिने बताए । 

उनले खेलकूदका माध्यमबाट घडियाल गोही संरक्षणका लागि शुरु गरिएको यस अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए । समुदायमा आधारित वन्यजन्तु चोरीशिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष ढुण्डीराज केसीले प्रतियोगितामा सहभागी हुने खेलाडीले आफ्ना घरपरिवार तथा साथीभाइलाई समेत घडियाल गोहीको संरक्षण अभियानमा सहभागी गराउन आग्रह गरे । 

केही वर्ष अगाडिसम्म नारायणी नदीमा प्रशस्तैमात्रामा पाइने घडियाल गोही पछिल्लो समय हराउँदै गएको उहाँको भनाइ थियो । गाउँघर तथा उद्योग कलकारखानाबाट निस्किने प्रदूषित फोहर सिधै नदीमा मिसाइँदा जल प्रदूषण भई घडियाल गोहीसहित अन्य जलचर प्राणी पनि लोप हुने अवस्थामा पुगेका केसीले बताए । 

  सिसवार मध्यवर्ती उपभोक्ता समितिअन्तर्गतका नौ वटा क्षेत्रबाट एक÷एक समूहलाई सहभागी गराई फुटबल प्रतियोगिता आयोजना गरिएको केसीको भनाइ छ । प्रतियोगितामा पहिलो हुने समूहले रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने समूहले रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने केसीले जानकारी दिए । 



Developed by Smart Innovation