संरक्षणमा सञ्चारमाध्यमको खोजी

२५ फागुन, २०७७   |  इकोखबर

ढोरपाटन शिकार आरक्षले जैविक विविधता संरक्षणमा सञ्चारमाध्यमको भूमिकाको खोजी गरेको छ । आरक्षका क्रियाकलाप, संरक्षणका प्रयास र आरक्षले राज्यको विकास तथा पर्यटनमा पु¥याएको प्रभावको खोजी गर्नुपर्ने बेला भएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

आरक्ष कार्यालयले बागलुङ बजारमा आयोजना गरेको अन्तरक्रियामा प्राणी र वनस्पतिको संरक्षणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनले जानकारी गराए । जैविक विविधतालाई आफूले उपयोग गरेर सन्ततिलाई पनि जस्ताको त्यस्तै हस्तान्तरण गर्ने अभ्यासका लागि सञ्चारमाध्यमले आम उपभोक्तालाई सन्देश दिनुपर्ने कंडेलको भनाई छ 

आरक्षले मध्यवर्ती क्षेत्र घोषणाको तयारी गरेको, सुरक्षाको व्यवस्थापन बढाएको, चोरी शिकारलाई रोकेर महत्वपूर्ण जन्तु र वनस्पतिको संरक्षण गर्ने योजना पनि उनले सुनाए 

आरक्षण कार्यालयका अनुसार यहाँ चरण क्षेत्र ४४४, वन क्षेत्र ४२६, कृषि क्षेत्रमा २६, वनस्पतिका लागि ४२६ वर्ग किमी छ । आरक्षमा नाउर र झारल शिकार गर्न पाइन्छ । नेपाल सरकारलाई राजश्व तिरेर गरिने शिकारका लागि विदेशी शिकारी बढी आउने गर्छन् । यहाँ अन्य ३२ प्रकारका स्तनधारी र १६४ प्रकारका पक्षीहरु संरक्षित छन् ।

यहाँ छेन्टुङ गुम्बा, उत्तरगङ्गा, गुर्जाखानी, रुद्रताललगायत धेरै पर्यटकीय क्षेत्र पनि छन् । आरक्षको एक मुख्य कार्यालयसहितका पोष्टमा ७२ जना कर्मचारी र सेनाको एक गुल्म सुरक्षा पोष्ट छ ।



Developed by Smart Innovation