चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

२५ फागुन, २०७७   |  इकोखबर

चितवन राष्ट्रिय निकुञ्जको अमलटारीक्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्थामा फेला परेको छ ।

निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो ।  निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सेहरी क्षेत्रमा दुई  गैँडा जुधेर घाइते हुँदा एउटा गैँडा मरेको जानकारी दिए । उनका अनुसार यही फागुन २४ गते  उक्त गैँडा मृत फेला परेको थियो । गैँडाको खाग र खुर सुरक्षित रहेको सहायक संरक्षण अधिकृत अधिकारीले बताए।  

चालू आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा २२ प्राकृतिक र चार चोरीशिकारले गैँडा मरेका थिए ।  हरेक पाँच वर्षमा हुँदै आएको राष्ट्रिय गैँडा गणना यस वर्ष आगामी चैत ९ गतेदेखि हुने जनाइएको छ । गैँडा गणनाको तयारी शुरु भइसकेको छ । 

निकुञ्जमा पाटे बाघसमेत मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारीका अनुसार यही फागुन २३ गते सौराहा क्षेत्रमा पर्ने निकुञ्जको मुख्य क्षेत्र चपरचुली खहरे खोलामा करीब चार वर्षीय बाघ मृतावस्थामा भेटिएको हो । प्राकृतिक कारणबाट मरेको सो बाघको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जले जनाएको छ  ।  चालू आव २०७७÷७८ मा निकुञ्जमा मृत्यु भएको यो पहिलो बाघ हो ।



Developed by Smart Innovation