सम्झौता अनुसार वृक्षरोपण गर्न जलविद्युत आयोजनाको आलटाल

२७ फागुन, २०७७   |  इकोखबर

निर्माणाधीन जलविद्युत् आयोजनामा नोक्सान भएका रूखको सोधभर्नाबापत बिरूवा रोपणमा आयोजनाले आलटाल गरेका छन् ।

विद्युत् आयोजना निर्माणका क्रममा नोक्सान भएका रूखको बदला बिरूवा रोपण गरी जैविक विविधता संरक्षण गर्न प्रारम्भिक वातावरणीय परीक्षणले औल्याएका बुँदा र वन तथा भू–संरक्षण विभागसँग भएका सम्झौताको शर्त कार्यान्वयन नभएपछि बिरूवा रोपणको प्रक्रिया अगाडि बढाउन डिभिजन वन कार्यालयले ताकेता गर्न थालेको हो ।
   
डिभिजन वन कार्यालयको राष्ट्रिय वन इलाका क्षेत्रभित्र निर्माण हुँदै गरेका र निर्माणको चरणमा अगाडि बढिरहेका विद्युत् आयोजनाले १० हजार ८५८ रूख बिरूवा नोक्सान गरेको छ ।

उक्त नोक्सानको परिपूर्ति गर्न विद्युत् प्रशारण लाइन र उत्पादनसमेतका आयोजनाले तीन लाख ४३ हजार ७२२ बिरूवा रोपण गर्नु र रसुवागढी जलविद्युत् आयोजनाबाहेक अन्य आयोजनाले आलटाल गरिरहेका कारण त्यस्ता विद्युत् आयोजनालाई सम्झौताबमोजिम बिरूवा रोपण गराउन ताकेता प्रक्रिया धमाधम अगाडि बढाइएको वन कार्यालयले जनाएको छ ।
      
रसुवागढी जलविद्युत् आयोजनाले रोपण गर्नुपर्ने ५२ हजार ५०० बिरुवामध्ये सात हजार ३०० मात्र रोपण गरेको छ भने माथिल्लो मैलुङ, साङ्जेनखोला, माथिल्लो मैलुङ ए, रसुवा भोटेकोशी, अपर मैलुङ ए, माथिल्लो त्रिशूली वान, मैलुङ खोला, साङ्जेन, माथिल्लो साङ्जेन, जलविद्युत् आयोजनाले आलटाल गरिरहेका बताइन्छ ।
     
यसरी राष्ट्रिय वनका रूख वृक्षरोपण नगर्नेमा रसुवागढी–भोटेकोशी, त्रिशूली १३२ एवं चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन बिस्तार आयोजनासमेत रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

आयोजना निर्माणको चरणमै बिरूवा रोपण गरी सक्नुपर्ने पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत आयोजनाले उत्पादन भएको छ वर्ष बितिसक्दा पनि बिरूवा रोपणमा कुनै अग्रसरता नदेखाइ आलटाल गरेको वन कार्यालयको तथ्याङ्कले औल्याएको छ । 
    
जलविद्युत् निर्माणमा धेरै रूख बिरूवा नोक्सान हुने र एउटा बिरूवा हुर्कन हिमाली क्षेत्रमा २५/३० वर्ष लाग्ने भएका कारण समयमै रोपणको कार्य छिटोछरितो गराएर जैविक विविधता संरक्षणमा योगदान दिन विद्युत् आयोजनालाई आग्रह गरिएको डिभिजन वन अधिकृत रामकृष्ण केसीले बताए । 



Developed by Smart Innovation