जलपंक्षी संरक्षण गर्न लुम्बिनीमा राष्ट्रिय गोष्ठी

२ चैत, २०७७   |  इकोखबर

जलपंक्षी संरक्षण सम्बन्धी तेस्रो राष्ट्रिय गोष्ठी सोमबारदेखि लुम्बिनीमा सुरु भएको छ ।

गोष्ठीमा जलपंक्षी गणनामा सहभागी स्थानीय संयोजक, चराविद् तथा चरा संरक्षण सम्बन्धी संस्थाका प्रतिनिधिहरूको सहभागिता छ । 
सन् २००७ मा पहिलो गोष्ठी लुम्बिनीमा र सन् २०१२ मा दोस्रो गोष्ठी सौराहा चितवनमा गरिएको थियो । त्यसयता तेस्रो गोष्ठी लुम्बिनीमा सुरु गरिएको हो ।

जलपंक्षी गणना व्यवस्थित र वैज्ञानिक बनाउन सहयोग पु¥याउने उद्देश्यले आयोजित छलफलमा गणनाका विषयमा विकास भएका नयाँ नयाँ तरिका, प्रविधि र योजनाबारे जानकारी गराइएको हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा. तुलसी सुवेदीले बताए ।

नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपंक्षी गणना राष्ट्रिय रुपमा संयोजन गर्दै आएको हिमाली प्रकृतिको आयोजनामा भएको कार्यक्रममा चरा गणनाको तथ्यांक संकलन, गणना र शुद्धताका बारेमा पनि निष्कर्ष निकालिने भएको छ ।
 त्यस्तै नेपालमा सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि गर्नु पर्ने कामका बारे पनि स्थान विशेषको बारे अन्तक्र्रियाको आयोजना गरिएको उनले बताए ।

त्यस्तै पानी चराको अवस्था र चरा आवागमन सहज बनाउने र संरक्षणमा गर्नु पर्ने कामबारे पनि गोष्ठीमा छलफल गरिएको छ । मंगलबार सकिने गोष्ठीमा जलपन्छी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्ने विषयमा जानकारी दिईने छ । 

गोष्ठीमा कोशी टप्पु, हेटौडा, चितवन, जनकपुर, काठमाडौं, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दांङ, बर्दिया, कैलाली र कंचनपुर लगायतका ठाउँबाट ३५ बढी चराविद् रहेको कार्यक्रम निर्देशक डा. सुवेदीले बताए ।

कार्यक्रममा चरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बराल र वेटल्याण्ड ईन्टरनेशनलका वरिष्ठ वैज्ञानिक डा. तेज मुण्दकरले नेपाल, दक्षिण एशिया र विश्वमा पानी चराको अवस्था र संरक्षणका लागि गर्नु पर्ने कामबारे जानकारी दिएका छन् ।

गोष्ठी उदघाटनका अवसरमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले विश्व सम्पदामा सुचीकृत लुम्बिनी जैविक विविधताको दृष्टिले पनि महत्वपूर्ण स्थल रहेको भन्दै सिमसार संरक्षण गर्न सके चराहरुको लागि लुम्बिनी पवित्र स्थल हुने बताए ।

  लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले जैविक विविधताको संरक्षणका लागि नगरपालिकाले पनि योजना बनाएर काम गरिरहेको बताए । नेपालमा १०० भन्दा बढी प्रजातिका जलपंक्षी रहेको र त्यसमध्ये अधिकांश पाहुना चरा रहेको बताइन्छ ।

 



Developed by Smart Innovation