बजेट अभावमा सालक संरक्षण अभियान रोकियो

७ चैत, २०७७   |  इकोखबर

विश्वमा दुर्लभ मानिएको स्तनधारी जङ्गली जनावर सालक अनुसन्धान तथा संरक्षण अभियान बजेट अभावका कारण रोकिएको छ । वाग्मती प्रदेश सरकारबाट विगत दुई आर्थिक वर्षदेखि नियमित बजेट चालू आवमा रोकिएपछि सालकसम्बन्धी थप अनुसन्धान तथा संरक्षण अभियान रोकिएको हो । 

संरक्षण अभियानअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलस्थित डिभिजन वन कार्यालयले सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । “प्रदेश सरकारबाट यो वर्ष बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको छ”, कार्यालयका प्रमुख देवीचन्द्र पोखरेलले भने ।

उनका अनुसार अघिल्लो आवमा वाग्मती प्रदेश सरकारले रु दुई लाख बजेट विनियोजन गरेको थियो भने गत आवमा रु पाँच लाख पठाएको थियो ।  सालकको उपयुक्त बासस्थान भएका क्षेत्रका बासिन्दा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा पनि निकै उत्साहित देखिएका थिए । कार्यालयले अघिल्लो आवदेखि जिल्लाको कुनकुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे अनुसन्धान थालेको थियो ।

“बजेटको निरन्तरता हुँदा सालकसम्बन्धी अनुसन्धान र संरक्षण प्रभावकारी बन्दै जाने थियो, रोकिँदा यसप्रति थप अनुसन्धान र गतिविधि गर्न सकिएन, हामीले सालकबारे पाँचवर्षे योजना बनाउने प्रक्रियामा थियौँ”,  पोखरेलले भने। 

सालकको उपयुक्त बासस्थान मानिएको महाभारत पर्वत श्रृंखलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा अघिल्लो आर्थिक वर्षमा पहिलो चरणको चेतनामुलक कार्यक्रम भएको थियो । कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको थियो ।

काभ्रेपलाञ्चोकको महाभारत पर्वत श्रृंखलासँग जोडिएको क्षेत्र तथा पाँचखाल क्षेत्रका अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको छ । “यो मानिसका लागि उपयुक्त जनावर हो, यसले बालीका कमिला र धमिरा खान्छ, पर्यावरणलाई जोगाउन मद्दत पु¥याउँछ, मानिसलाई भने आक्रमण गर्दैन”, पोखरेलले भने  ।  सालकमा १५ सेन्टिमिटर टाढाका किरा स्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ । 

एउटा वयष्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वाभावको जनावर सालक विशेष गरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ । जिल्लाका अधिकांश सामुदायिक वनमा पाइने दूर्लभ सालक काभ्रेपलाञ्चोकमा कति छ भन्ने स्पष्ट कुनै तथ्याङ्क नभएपनि कालो सालक खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको उसको बासस्थानबाट देखिएको अनुसन्धानबाट खुलेको छ ।

बल्थलीस्थित समुदायमा आधारित चोरी–शिकारी नियन्त्रण एकाइका अध्यक्ष विष्णुप्रसाद हुमागाईले स्थानीय आठ वटा सामुदायिक वनमा अध्ययन गर्दा जमीनमा ५४२ वटा प्वाल भेटिएकामध्ये पुरानो ३२३ र नयाँ २१९ प्वाल रहेको जानकारी दिए ।

एसिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातीका सालक एसियामा मात्रै पाइन्छ । एसियामा पाइने चार प्रजातीका सालकमध्ये नेपालमा तामे र कालो सालक पाइने पोखरेलले बताए। उनका अनुसार यसको प्राकृतिक प्रजनन पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहेको छ । 

पाँच वर्षअघि वन विभागको स्वीकृतिमा नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् भक्तपुरले काभ्रेपलाञ्चोकका सामुदायिक वनमा सालकको अनुसन्धान गरेको थियो । संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुनसक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपालले बताइन् । 

सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी हुने गरेको घटनाक्रमले देखाएको छ । वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, पाँचदेखि रु १० लाखसम्म जरिवाना तथा दुवै सजाए हुनसक्ने व्यवस्था छ । 



Developed by Smart Innovation