गैंडा गणनाका लागि खटिएको टोली माथि जंगली हात्तिको आक्रमण, पाँच जना घाइते

२१ चैत, २०७७   |  इकोखबर

एक सिंगे गैडा गणनाका लागि खटिएको टोली माथि चितवनमा जंगली हात्तिले आक्रमण गरेको छ ।

आक्रमणमा परी पाँच जना घाइते भएका छन् । गैंडा गणनाका लागि खटिएको टोली माथि ध्रुवे हात्तिले आज दिउसो आक्रमण गरेको हो । हात्तिको आक्रमणबाट  राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएका छन्।

उनलाई उपचारका लागि  हेलिकप्टरबाट काठमाडौं ल्याइएको राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । चितवन राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्य चार जनालाई भने सामान्य चोट लागेको छ।

गम्भीर घाइते श्रेष्ठलाई नवलपुरको कावासोतीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको बरालले बताए। उनको अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको बताइएको छ।

गैंडा गणनाका लागि शुक्रबार निकुञ्जको टोली पश्चिम सेक्टरको गैंडाखासा भन्ने ठाउँमा पुगेको थियो। उक्त स्थानमा जंगली हात्तीले टोलीलाई आक्रमण गरेको हो । 

ध्रुबे नामको जंगली हात्तीले वि स २०६६, ६७, ६८ र ६९ सालमा गरी १३ जनाको ज्यान लिएको थियो। धेरैको ज्यान लिएपछि यसलाई मार्न सरकार नै लागिपरेको थियो। छिल्लो समयमा यस्ता गतिविधि नगरेको यो हात्तीले शुक्रबार पुनः मान्छेमाथि आक्रमण गरेको हो।

उक्त घटनासँगै चितवन निकुञ्जमा जारी रहेको गैंडा गणना कार्य तत्कालका लागि स्थगित गरिएको छ। ‘कहिलेबाट सुरू गर्ने भन्ने विषयमा हामी छलफल गरेर निर्णय गर्छौं,’ बरालले भने। 

चितवन राष्ट्रिय निकुञ्जमा चैत ९ गतेबाट एक सिंगे गैंडाको गणना सुरू गरिएको थियो। हाल बर्दिया निकुञ्ज र शुक्लाफाँटा निकुञ्जमा पनि गणना चलिरहेको छ। 



Developed by Smart Innovation