मानिसलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइयो, चिडियाखानामा राखिने

२४ चैत, २०७७   |  इकोखबर

बर्दियामा मानिसलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको उक्त बाघलाई सदर चिडियाखानामा राखिने बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जानकारी दिए । बाघको आक्रमणमा परेर निकुञ्जका कर्मचारी पुलिसराम थारुको आइतबार साँझ मृत्यु भएको थियो ।


योसँगै बर्दियाबाट पाँच वटा पाटेबाघ नियन्त्रणमा लिइएको छ । भुरिगाउँ क्षेत्रबाट नियन्त्रणमा लिइएको बुढो पाटेबाघ उपचारका क्रममा मरेको थियो । यस्तै नियन्त्रणमा लिइएको बाघहरुलाई बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्धारा र निकुञ्जको रम्मापुर क्षेत्रमा राखिएको छ । बाँके राष्ट्रिय निकुञ्जमा राखिएको पाटेबाघ भने खोरको सरिया बङ्ग्याएर भागेको थियो । अहिले नियन्त्रणमा लिइएको बाघलाई जावलाखेल चिडियाखाना लैजाने तयारी गरिएको छ ।

गैंडा गणना गर्न गएको टोली रहेको हात्तीका माहुते पुलिसराम चौधरीको आइतवार बेलुका निकुञ्जभित्र गैंडा मचान क्षेत्रमा पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो । यसअघि चैत ३ गते पनि यसै क्षेत्र आसपासमा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । निकुञ्जको प्राविधिक टोलीले क्यामरा ट्रयापिङ गर्दा महिलालाई आक्रमण गर्ने र माहुतेलाई आक्रमण गर्ने पाटेबाघ एउटै भएको अनुमान लगाएको छ ।

अन्दाजी १० वर्षको भाले पाटेबाघलाई राति नै टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको हो । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई पाटेबाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ । नियन्त्रणमा लिइएको पाटेबाघले तीन हप्ताको अवधिमा दुई जनालाई आक्रमण गरेको निकुञ्जको अनुमान छ ।

‘माहुतेलाई आक्रमण गर्ने बाघ त यही नै हो । तीन हप्ताअघि यही क्षेत्रमा महिलालाई आक्रमण गर्ने बाघ पनि यही हुनसक्ने अनुमान छ’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने । माहुतेलाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया निकुञ्जको टोलीले राति नै बाघलाई नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएको पाटेबाघलाई सदर चिडियाखाना काठमाण्डौ लैजाने तयारी थालिएको वार्डेन श्रेष्ठले बताए । पाटेबाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविकमार्ग र राष्ट्रिय वन आसपासका क्षेत्रमा एक वर्षभित्र ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।



Developed by Smart Innovation