नेपालमा गैँडाको सङ्ख्यामा वृद्धि, नयाँ गणनामा ७५२ गैंडा भेटिए

२८ चैत, २०७७   |  इकोखबर

नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए । यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए । 

शुक्रबार सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा भेटिएका छन् । यो सङ्ख्या सन् २०१५ मा ६०५ मात्रै थियो । पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य तीन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्यामा वृद्धि भएको ओलीले बताए। ओलीका अनुसार चितवनपछि सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ गैँडा भेटिएको छ । 

त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७, पर्सा राष्ट्रिय निकुञ्जमा भने तीन मात्रै गैँडा फेला परेको ओलीले बताए । अघिल्लो गणनामा पर्सामा चार वटा गैँडा पाइएको थियो ।

राष्ट्रिय गैँडा गणनाअनुसार नेपालमा १४६ भाले र १९८ पोथी भेटिएको उल्लेख गर्दै बाँकी ४०८ गैँडाको लिङ्ग पहिचान हुन सकेको छैन । 

पाँच सय २० वयस्क गैँडा भेटिँदा ९६ अर्धवयस्क र १३६ बच्चा गैँडा भेटिएका छन्।  चैत ९ गतेदेखि शुरु गरिएको गणना चैत २७ गते रातिमात्रै सकिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी गैँडा गणनामा २३ दिन लागेको थियो ।  गणनामा २५० गणक तथा ४३ हात्ती प्रयोग गरिएको राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । गैँडा गणनाकै क्रममा ध्रुवे हात्तीले आक्रमण गर्दा सात जना कर्मचारी घाइते भएका थिए । एक जना गम्भीर घाइतेको काठमाडौँमा उपचार भइरहेको छ।

 पर्सा र चितवनलाई १९ ब्लकमा विभाजन गरेर गैँडा गणना गरिएको थियो ।



Developed by Smart Innovation