पानीका मुहान सुक्न थालेपछि गाउँलेलाई समस्या

३१ चैत, २०७७   |  ध्रुवसागर शर्मा

 म्याग्दीको बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटालाई गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको याद ताजै छ । तर आजभोली त्यो कुवा सुख्खा छ । घट्दैघट्दै अहिले त एक थोपा पानी छैन ।

जलवायु परिवर्तन, वनजङ्गल विनास र मानवीय क्रियाकलापकै कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ । कतिपय खोला त मुहान सुकेर सुख्खा बनेका छन् । पानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढदै गएको छ ।

खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौं बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ । वर्षौदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कदै गएको हो । 
वर्षातमा खानेपानीको समस्या खासै नहुने भए पनि सुख्खा मैसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय बासिन्दा काकाकूल बन्ने अवस्था रहेको सापकोटाको भनाइ छ । “वर्षा पनि भएको छैन, पानीको मुहानको अभावले समस्या जटिल बन्दैछ” उनले भने ।

तोराखेतमा मात्रै होइन बेनपा– ६ थाकन पोखरी, मङ्गला गाउँपालिका–१ कुहूँ, बेनपा–१ अर्जमलगायत म्याग्दीमा दर्जनौं गाउँमा खानेपानीका मुहान सुक्दै गएपछि स्थानीय बासिन्दा खानेपानीको समस्या झेल्दै आएका छन् । पानीका मुहान सुक्न थालेपछि स्थानीयवासी पानीका लागि घण्टौँ टाढाका पानीका मुहान धाउन थालेका छन् ।

अधिकांश बस्तीमा कुवाँ र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीयवासी खानेपानीको मुहान सुक्दै गएपछि निकै चिन्तित बन्दै गएका छन् । जिल्लाको बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभावले स्थानीयवासी समस्यामा परेका हुन् ।

केही वर्षयता वातावरणीय प्रदूषण र प्राकृतिक विपत्तिका कारण यहाँको भूगोलमा पनि अप्राकृतिक समस्या देखिन थालेका वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताउँदै आएका छन् । खासगरी २०७२ सालको भूकम्पयता म्याग्दीको लेकाली  क्षेत्रमा समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका जानकार नारायण शर्माले बताए ।

त्यसैगरी गत वर्षको बाढीपहिरो र खडेरीले पनि मूल सुक्दै गएपछि यहाँ पानीको समस्या उत्पन्न भएको उहाँको भनाइ छ । “मूलहरु पुरिँदै गएका छन्, नयाँ स्रोत देखिएका छैनन्”, उनले भने , “जनसङख्या र कृषि कर्म गर्नेको सङ्ख्या बढ्दै जाने तर पानीका स्रोत सुक्दै जाने हुन थालेपछि पानीको समस्या उत्पन्न भएको हो ।”

कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गाका जलाधार क्षेत्रमा मात्रै होइन, जिल्लाका अन्य ओसिला ठाउँमा रहेका सयौं पानीका मुहान सुकिसकेका स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । आधुनिक प्रविधिको प्रयोग गरी पानीको वैकल्पिक व्यवस्था गर्न नसक्ने हो भने अवको केही वर्षपछि खानेपानीको हाहाकार उत्पन्न हुने उनीहरुको भनाइ छ । “खानेपानीको मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र होइन, मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको छ”, प्राविधिकहरुले भने, “वनजङ्गल विनास र अनियन्त्रित विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर पारेको छ ।” डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेका उनीहरुको भनाइ छ । 

विकासको नाममा स्थानीय तहले डोजर आतङ्क मच्चाएका छन् । सडक खन्ने नाममा प्राविधिक रिपोट र वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन् । मेसिनले सडक खन्दा पानीका मुहान सुक्नुका साथै मजदूरी गरेर गुजारा गर्दै आएका सर्वसाधारण मारमा परेका छन । जहाँ पानीका मूल र वन क्षेत्र छ, त्यही सडक लगेका छन् । यही गतिले सडक निर्माण गर्ने हो भने केही वर्षमा भू–क्षयको प्रवल सम्भावना रहेको स्थानीयवसाीको भनाइ छ । 

जिल्लाका अधिकांश गाउँमा खानेपानीका आयोजना छैनन् । भएका योजना पनि मर्मत संभार र मुहान सुक्दा बन्द भएका छन् ।  अधिकांश विद्यालयमा समेत पानी छैन । डाँडामा रहेका विद्यालय नजिक पानीका मुहान नहुँदा बालबालिका घरबाटै बोकेर पानी लैजानु पर्ने बाध्यता रहेको छ ।



Developed by Smart Innovation Nepal