जलवायु परिवर्तनको असरबारे अनुसन्धान केन्द्रित हुनुपर्छ : मन्त्री भुसाल

९ भदौ, २०७८   |  इकोखबर

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर पूर्वानुमान तथा अनुसन्धानमा केन्द्रित हुन आग्रह गरेकी छिन्।

बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको आज निरीक्षण गर्ने क्रममा उनले समान उद्देश्य रहेका संस्थासँग सहकार्य गर्दै आफ्ना कार्य सम्पादनलाई तथ्यपरक र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिइन् । विकसित राष्ट्रका औद्योगिक गतिविधिका कारण जलवायु परिवर्तन भएको र त्यसको प्रभाव संसारमै परेको भए पनि नेपालजस्ता साना मुलुकमा मानवीय तथा भौतिक क्षति हुने गरेको मन्त्री भुसालको भनाइ थियो । 

उनले भूक्षय, बाढीपहिराजस्ता मौसमजन्य विपद्का असरलाई पनि जल तथा मौसम विज्ञान विभागले अध्ययनमा समेट्नुपर्ने बताइन् । मन्त्री भुसालले भनिन्, “बाढी तथा पहिराको असर हामीले झेलिरहेका छौँ । यस वर्ष सिन्धुपाल्चोक र मनाङमा ठूलो जनधनको क्षति भएको छ ।” उनले मौसमजन्य विपत्तिबाट जनताको जीवनको रक्षा गर्ने तथा हुनसक्ने असरलाई न्यूनीकरण गर्नका लागि सूचना प्रवाह महत्वपूर्ण रहेको र त्यसका लागि विभागले २४ सै घण्टा काम गर्दै आएको भन्दै खुशी व्यक्त गरिन् ।



Developed by Smart Innovation