सुन गिद्ध हुर्काउने सरस्वती दिदी

१८ भदौ, २०७८   |  कृष्णप्रसाद भूसाल

यस हप्ता १३ औं अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस नेपालका साथै संसारभर मनाईदै छ । प्रत्येक बर्ष अंग्रेजी महिना सेप्टेम्बरको पहिलो शनिबार र त्यस हप्तारी अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । 

गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति दिवसले विषेश महत्व राख्छ । ‘प्रकृतीको कुचिकार’ रुपमा चिनिने गिद्धले मरेका जनावरको सिनो खाई प्रदुषित र दुर्गन्धित बातावरणलाई स्वच्छ र सफा राखि विभिन्न सरुवा महामारी रोगहरु फैलन बाट रोक्छन । करिब तिन दशक अघिसम्म हाम्रो देशमा सयाँै गिद्धका समुहहरु देख्न सकिन्थ्यो ।

तर, आज त्यो दृश्य दुर्लभ भएको छ । र, यत्रतत्र सर्वत्र पाईने गिद्धहरु पृथ्बीबाटै लोप हुने खतरामा छन । यसैले यी दुर्लभ गिद्ध जोगाउन सबैमा सचेतना प्रवाह र संरक्षणमा हातेमालो जरुरी छ । यसै सन्दर्भमा पाल्पाको एक गाँउमा अतिसंकटापन्न सुन गिद्धको संरक्षणमा स्थानिय समुदाय र खाँसगरी सरस्वती दिदीको लगाव र भुमिकालाई यहाँ प्रस्तुत् गरिएको छ ।  

पाल्पा जिल्लाकोसदरमुकाम तानसेनको पश्चिम–दक्षिणमा अवस्थित छ धरमपानी गाँउ । यसै धरमपानी गाँउको पुछारमा छ, सालघारी र त्यहीँ थियो, सरस्वती रावलको घर । सरस्वती रावलको घरबाट करिब ५० मिटर टाढा बारीको डिलमा छ, अरु रुखभन्दा अलि ठुलो ओदालको रुख , बस्तुभाउलाई खुवाउन उक्त रुखको घाँस काटने र घाँस पलाउने क्रम सृष्टि चक्रको एउटा नियमितता सँगै चलिरहेको थियो ।

बि.सं. २०६९ साल भदौको एक दिन सरस्वती दिदीको भतिजी सुस्मा रावल त्यस ओदालेको घाँस काट्दै टुप्पो छिमल्न खौज्दै थिइन । त्यति नै बेला अचानक हसियाले उनको हात काट्यो । र, उनी भुईमा ओर्लिन् । संयोग त्यही बर्षको मंसिरमा त्यही छिमल्न बाकी रुखको टुप्पोमा एक जोडी सुन गिद्ध आएर बसे ।

 हेर्दाहेर्दै तिनीहरु मसिना  झिंझाहरु बटुल्दै गुँड बनाउन सुरु गरे । गाउँमा हल्ला चल्न थाल्यो,सरस्वतीको घर नजिकै गिद्धले गुँड लगाएको छ रे, यो त असुभको संकेत हो । यो कुरा सरस्वतीको कानमा पनि पर्यो  । एउटा निम्न औषत परिवार, रोजिरोटीको लागि श्रीमान पदम रावल भारतमा थिए ।

छोरा पनि माध्यमिक तहको अध्ययन नै पुरा नगर्दै वुवासंग भारतमा गएका थिए । दुई छोरीहरु गाँउको विद्यालयमा माध्यमिक तहको अध्ययन गरीरहेका थिए । उनको मनमा चिसो पस्यो साच्चैं असुभ अनिष्ट नै हुन्छ कि क्या हो । गाँउलेले पनि रुख काटन सुझाव दिए । रुख काटौ कि नकाटौ एउटा सन्त्रास र डरको विचमा थिइन् सरस्वती । 

सुन गिद्ध दम्पतीको प्रेम, सहकार्य र लगावले सुन्दर गुँडको निर्माण भईसकेको थियो । यो खबर अलि ब्यापक बन्दै गयो । यत्ति नै बेला पोखराका फोटो पत्रकार तथा गिद्ध संरक्षणकर्मी कृष्णमणि बराल र तानसेनमा बसेर पत्रकारीता गरिरहेका टेकनारायण भट्टराई खबर पछाउदै त्यहाँ पुगे ।

पत्रकारद्वयले गिद्धको महत्व, संरक्षण र आवश्यकताको बुझाएपछि सरस्वतीले रुख नकाट्ने निर्णय गरिन् । सरस्वतीको निर्णयले रुखमात्र बाँचेन विश्वमै दुर्लभ लोपोन्मुख सुन गिद्धको जिवनचक्रमा नयाँ श्रृङ्खलाको आयाम थपियो । यो गुँडनै उक्त प्रजातीको पछिल्ला दशकमा अभिलेख भएको एकमात्र गुँड थियो ।  

करिब दुई महीना पछि माघको अन्त्यतिर अण्डा पारेको सुन गिद्धले चैत्रमा बच्चा कोरल्न सफल भयो । यो कुरा उनले नियमित अनुगमनका क्रममा ति दम्पतिको व्यवहारमा आएको परीवर्तनले सहजै खुट्टयाउन सकिन । नयाँ वर्ष २०७० बैशाख १ गतेको दिन उनले गुँडमा सेतो भुवादार बच्चालाई । 

समय क्रममा सुन गिद्धको बच्चा पनि बढदै गए । सेतो भुवादार बच्चाको शरीरमा काला–काला प्वाख पलाउन थाले । जेठ मध्य सम्ममा त बच्चा पखेटा फटफटाउदै बेला बेला गुँडको किनारमा आउने र माउ सँग साउति मारे जस्तो गर्नथाल्यो । यति बेला सम्म उनि गिद्धको महत्व र संरक्षणका विषयमा नियमित फोटो खिच्न आउने पत्रकार टेकनारायण भट्टराई, अनुगमनमा जादा हामीले लैजाने जनचेतनाका सामाग्री र रेडियोमा बज्ने सुचना तथा समाचारको माध्यमबाट जानकार भईसकेकी थिईन ।

छिमेकीहरु पनि कहिं कतै मेला पाखा तिर गिद्ध देखे भन्ने गर्दथे, यो सरस्वतीको गिद्ध हो । यो सुन्दा उनलाई आनन्द लाग्थ्यो । यसलाई उनि आफ्नै पेवा जस्तो ठान्ने गर्दथिन । हेर्दा हेर्दै बच्चाको टाउको वयस्क गिद्धको जस्तो लोतीयुक्त बन्दै गयो । सेता भुवा काला प्वाखँले विस्थापित गरे र असारको पहिलो हप्तामा बच्चा भुर्र उड्न सक्ने भए । विश्वमै दुर्लभ गिद्धले आफ्नै आँगन छेउ सन्तान हुर्काएकोमा फुरुङ्ग हुदै उनले मनमनै भनिन स्याबास । 

सुन गिद्धले अर्को वर्ष पनि पहिलेकै स्थानमा बच्चा हुर्काए । स्थानीय समुदायलाई गिद्ध संरक्षणमा सचेतना जगाउने उद्देश्य अनुरुप चेतनामुलक कार्यक्रमको आयोजना गरेर १६ जेठ २०७१ मा सरस्वती रावल, फोटो पत्रकार तथा गिद्ध संरक्षणकर्मी कृष्णमणि बराल र टेकनारायण भट्टराईका साथै गिद्धको अनुसन्धान र संरक्षणमा लागेका हेमन्त ढकाललाई सुन गिद्ध संरक्षणप्रतिको लगावको कदर गर्दै नेपाल पंछी संरक्षण संघले सम्मानित गरेको थियो ।

सुन गिद्धले त्यहाँ बच्चा कोरलेपछि हामी पटक पटक त्यहाँ पुग्यौं ।  त्यही वर्षको ११ असारमा  हामीहरु पुन अनुगमनको क्रममा त्यहाँ बच्चाहरु हुर्किसकेका थिए । सम्भवत बच्चाको अभ्यासी क्रियाकलापले क्षती भएको गुडँको मर्मतको लागि नै होला माउ केही झिझाहरु लियर गुँडमा आउने गर्दथे ।

बाटोमा भेटिएका स्थानीय बासीन्दाहरु भन्दै थियो बाबुहरु गिद्ध बस्न थालेको दुई वर्ष भइसक्यो गाँउमा केही नराम्रो भएको छैन । यसले स्थानीयबासिमा भएको अन्धविश्वास पनि हटेको हामीले पायौं । 
सुन गिद्धको गुँड नजिकै बारीको डिलमा घाँस काटदै गरेकी सरस्वती दिदीले गिद्धको बचेरो हेर्दै भनिन् “आजभोली सुन गिद्ध त मलाई सुन भैm प्यारो लाग्छ ।”

सुन्दा सामान्य लागे पनि यस वाक्यले गिद्ध संरक्षणमा स्थानीयको लगाव र सद्भाव अत्यन्तै ओझीलो रुपमा प्रतिनिधित्व गरेको थियो । किन हो कुन्नी, त्यस पछाडिका वर्षमा सुन गिद्धले त्यस ओदालेको रुखमा गुँड बनाएन ।

तर,  पनि म त्यहाँ पुगिरहन्थे, सरस्वती दिदीले पनि गिद्धको न्यास्रो मानिरहनुहुन्थ्यो । अर्को वर्ष सरस्वती दिदी पनि स परिवार रुपन्देहीमा बसाइ सर्नुभयो । सुन गिद्ध र सरस्वती दिदी दुवैले गुँड छाडेपछी मेरो पनि त्यहाँ जाने बाटै बन्द भयो । । तेर्हौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा गिद्ध संरक्षणका सबै सरस्वती दिदीहरुमा नमन ।

 



Developed by Smart Innovation