यो साता चितवन राष्ट्रिय निकुञ्जमा बाँकी भएका तीन वटा अर्ना मरेसँगै अमेरिकी सरकारको सहयोगमा विश्व वन्यजन्तु कोषसहितका संस्थाले चलाएको हरियो वन कार्यक्रमको १ करोड १० लाख ४६ हजार ४ सय ६२ रुपैयाँ डुब्यो।
नेपालमा कार्यरत विदेशी संघसंस्थाहरूमा सरकारी अधिकारीबाट आफ्नो काम सजिलै फुत्काउन वा ती हाकिमहरूलाई रिझाउनका लागि विशेष कृपा वा “फेबर” गरिदिने चलन अहिले बढिरहेको छ। यस्ता “फेबर” मा विदेश भ्रमणदेखि आफन्तलाई प्रोजेक्टमा जागिर लगाइ दिनेसम्मका अनेक लाभका काम गरिएका हुन्छन्। चितवन राष्ट्रिय निकुञ्जका सूत्रहरू कोशीटप्पुका अर्नाको स्थानान्तरण कार्यक्रमलाई त्यस्तै एकजना उच्चपदस्थ कर्मचारीको आवश्यकतालाई मनन गरेर ल्याइएको बताउँछन्।
ती सूत्र अर्नामा विद्यावारिधि गर्न लागेका एक हाकिमको पक्षमा गरिएको अनावश्यक निर्णय बताउँछन्। त्यो निर्णय गर्नु अगाडि समयमा चितवनको वातावरण अर्नाको लागि अनुकुलन छ की छैन भनेर सामान्य अध्ययन समेत गरिएको थिएन। निकुञ्जका अर्का एक अधिकारी भन्छन्, ‘हामीले त्यो समय अर्नाको लागि चितवनको वातावरण अनुकुलन हो होइन अध्ययन नगरी ल्याउन हुँदैन भनेका थियौँ, तर, एउटा व्यक्तिको लागि सरकारको सचिवस्तरीयबाट निर्णय गरिएछ।’
उनकै दाबीमा विना योजना र अध्ययन ल्याइएको अर्ना चितवन राष्ट्रिय निकुञ्जबाट सकिनाले त्यो निर्णय अदूरदर्शी भएको पुष्टि हुन्छ। चितवनको वातावरण अर्नाको लागि अनुकुलन छ की छैन भनेर सामान्य गृहकार्य समेत नगरिएको एउटा निर्णयबाट करिब दुई करोड रुपियाँ बालुवामा पानी हालेझैं खेर गएको छ। ती अर्ना इन्क्लोजर भनिने आकाशतिर खुला हुने ठूलो खोरमा राखिएका थिए।
यसको असफलताको कथा महालेखाको प्रतिवेदनमा पनि प्रतिबिम्बित भएको छ। चितवन राष्ट्रिय निकुञ्जले २०७३ सालदेखि इन्क्लोजर बनाएर संरक्षण गर्दै आएको अर्ना मासिँदै गएपछि गत आर्थिक वर्षको प्रतिवेदनमा महालेखाले प्रश्न उठाएको थियो, ‘‘अर्ना संरक्षणमा आर्थिक वर्ष २०७६।०७७ र ०७७।०७८ मा ६३ लाख ६९ हजार खर्च भए तापनि अर्नाको संरक्षणमा अपेक्षित सफलता भएको देखिएन।’
आर्थिक वर्ष २०७७।०७८ मा मात्रै निकुञ्जमा स्थानान्तरण गरि ल्याइएका १५ मध्ये बाँकी रहेका १३ वटा अर्नाबाट १० वटा मरेपछि अर्नाको संख्या नै किटान गरि महालेखाले उक्त प्रश्न गरेको थियो। महालेखाले बाँकी तीनवटा अर्नाको संरक्षण गर्नको लागि आवश्यक अनुसन्धानका आधारमा अर्ना स्थानान्तरणलाई व्यवस्थित र दिगो बनाउन सम्बन्धित पक्षलाई सुझाव समेत दिएको थियो।
यो प्रतिवेदन सार्वजनिक भएको महिना दिन पनि बित्न नपाउँदै चितवन राष्ट्रिय निकुञ्जबाट अर्ना मासिएका छन्। गत सोमबार साउन ३० गते संरक्षित क्षेत्रमा बाघ प्रवेश गरि बाँकी तीनवटै पोथी अर्ना खाइदिएपछि चितवन राष्ट्रिय निकुञ्जबाट अर्ना मासिएका हुन्। २०७३ सालमा कोसीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना जावलाखेलबाट १५ वटा अर्ना चितवन ल्याइयो। जसमा १२ वटा कोसीटप्पु र तीन वटा सदर चिडियाखानाबाट ल्याइएका थिए।
करिब दुई करोड खर्च उपलब्धि विहीन
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार अर्ना चितवन ल्याउने र व्यवस्थापन गर्ने कार्यमा हालसम्म एक करोड ७३ लाख ६४ हजार चार सय ६२ रुपैयाँ खर्च भएको छ।
उक्त रकममध्ये गत आर्थिक वर्ष मात्रै नेपाल सरकारले ६३ लाख १८ हजार रुपैयाँ खर्च गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो। निकुञ्जमा अर्ना ल्याइसके पछि बनेको अध्ययन समितिको प्रतिवेदन अनुसार १ करोड १० लाख ४६ हजार ४ सय ६२ रुपियाँ खर्च यूएसएड र डब्लुडब्लुएफ अन्तर्गत हरियो वन कार्यक्रमको हो।
कसरी मासियो अर्ना
कोशीटप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट ३ गरी चितवनमा १५ वटा अर्ना २०७३ सालमा ल्याइएको थियो। चितवनको हावापानीमा अनुकुलन हुन नसकी सदर चिडियाखानाबाट ल्याइएको तीन वटै अर्ना २०७४ सालसम्म मरिसकेका थिए।
त्यसपछि बाँकी थिए कोशीटप्पुबाट ल्याइएका १२ वटा। अर्ना समूहमा रहने जनावर भएकोले उनीहरूको प्रजनन र संख्या विस्तारको लागि भनेर निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३७ हेक्टर जमिन तारबार गरि इन्क्लोजर बनाइ राखिएको थियो।
ति तारमा सोलार पावर समेत जडान गरिएको थियो। तर, निकुञ्जको नियमित रेखदेख र व्यवस्थापन अभावमा बच्चा जन्माएर पनि अर्नाले चितवन निकुञ्जमा आफ्नो वंश विस्तार भने गर्न सकेन।
२०७४ सालको बाढीमा ५ वटा अर्नाको बगेर मृत्यु भयो। त्यसपछि एउटा बच्चालाई अजिङगरले खाएर मृत्यु भयो। निकुञ्जका अनुसार बूढो भएर ८ वटा अर्ना मरे। चार वटालाई भने बाघले खाएर मार्यो। तीमध्ये एउटा बच्चा जन्माइसकेको आमा अर्ना थियो। बाँकी तीन वटा यसवर्ष बाघले इन्क्लोजरबाट भित्र छिरेर अर्ना खाएको हो। निकुञ्जमा ल्याइएको १५ वटा र तिनका सन्तति ६ वटा गरि चितवनमा २१ वटासम्म अर्ना रहेको थियो। तर, अब सबै अर्ना सकिए।