जङ्गलमा वर्षौंदेखि विचरण गर्दै आएका हात्ती घाइते अवस्थामा भेटिन थालेका छन् । केहीको उपचार भएको छभने अधिकांश घाइते अवस्थामा भौँतारिएका थालेका हुन् ।
मेचीनगर नगरपालिका–१ मा बुधबार दिउँसो एउटा हात्ती घाइते अवस्थामा गाउँ नजिकको निजी वनसम्म आएको थियो । खुट्टा खोच्याउँदै हिँड्ने उक्त हात्तीको तिघ्रा सुन्निएर डम्म भएको प्रत्यक्षदर्शी रोशन तामाङले भने । “टाढैबाट हेर्दा हात्तीको तिघ्रा सुन्निएको प्रस्टै देखिन्थ्यो”, उनले भने, “भित्रभित्रै घाउ पाकेको पनि हुनसक्छ । हिँडाइ एकदमै सुस्त छ । मान्छे नजिक जाँदा पनि आक्रामक हुँदैन ।”
केहीदिनअघि मेचीनगर–१३ चारआलीस्थित प्रगति सामुदायिक वनमा अर्को वयस्क हात्ती आँखा नदेखेर हिँड्डुल गर्न नसक्ने अवस्थामा भेटिएको थियो । पूर्व–पश्चिम राजमार्गको नजिक आइपुग्दा सयौँ सवारीसाधनको ओहोरदोहोरले बिच्किएर गाउँ पस्ला भनेर डिभिजन वन कार्यालय झापाले उक्त हात्तीलाई जङ्गलमै धपाउन सुरक्षाकर्मी परिचालन गरेको थियो ।
बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिकाको सीमामा पर्ने पाँचपोखरी सामुदायिक वनमा घाइते एउटा हात्तीको दुई साताअघि उपचार गरिएको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुुख भरतबाबु श्रेष्ठका अनुसार पुच्छरसमेत चुँडिएको उक्त हात्तीको उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट दक्ष चिकित्सक ल्याइएको थियो । उपचारपछि हात्ती स्वस्थ बनेको उनले बताए ।
चारआलीको जङ्गलमा देखिएको आँखा नदेख्ने हात्ती मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा र भद्रपुर क्षेत्रमा पटकपटक गाउँ नजिक देखापर्ने गरेको छ । चोटले रन्थनिएर गाउँतिर भौँतारिँदै पुग्ने गरे यो हात्तीबाट स्थानीयवासी त्रसित छन्
चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले यहाँका जङ्गलमा थुप्रै हात्ती घाइते र रोगी अवस्थामा रहेका बताए। घाइते र रोगी हात्तीहरू भोको समेत हुने भएकाले आहाराको आशमा आचार भएर मानव बस्ती नजिक आउने गरेका छन् ।
“मानवीय आक्रमणमा परेर अधिकांश रैथाने हात्ती घाइते भएका छन्”, उनले भने “केही चाहिँ आपसमा झगडा गर्दा घाइते भएका हुन् ।”
झापाका जङ्गलमा दुई दर्जनभन्दा बढी सङ्ख्यामा रैथाने हात्तीले आश्रय लिँदै आएका छन् । गम्भीर प्रकृतिका चोट लागेका हात्तीहरु उपचार नपाई जङ्गलभित्रै मर्ने गरेका छन् । धेरैजसो हात्तीको शरीरका विभिन्न अङ्गमा मानिसले प्रहार गरेको भाला, ढुङ्गा र धारिलो वस्तुले चोटैचोट देखिएको छ ।