गत फागुनमा कञ्चनपुरमा करेण्ट लगाएर मारिएको जंगली हात्ती, तस्वीर सौजन्य : दिनेशकुमार यादव
विजुलीको करेन्ट लगाएर हात्ती मार्ने क्रम बढेको छ । गत २४ वर्षमा ६२ वटा हात्तीको मृत्यु भएको छ । त्यसमध्ये ४८ वटा हात्तीको मृत्युको कारण बिजुलीको करेन्ट रहेको छ । हात्तीमा विद्याबारिधि गरेका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार आठ वटा हात्तीलाई गोली लागेको छ भने चारवटा हात्तीलाई सिकारीले मारेका छन् ।
करेन्ट लगाएर हात्तीमार्ने काम खुल्लमखुल्ला हुदापनि अनुसन्धान भएर हात्ती मार्ने व्यक्ति कार्वाहीको दायरामा आउन सकेका छैनन् । करेन्ट लगाएर हात्तीको मृत्यु भएको पुष्टि हुँदा समेत कसैलाई मुद्दा नचलाइनुले हात्ती मर्नुमा सरकारकै निकायको सहयोगी भूमिका देखिएको पशु कल्याण र वातावरण संरक्षणका लागि काम गर्ने जेन गुडल इन्ष्टिच्युट नेपालकी कार्यकारी निर्देशक सृष्टि सिंह श्रेष्ठ, बताउँछिन् । “करेन्ट लगाएर हात्ती मारिएका छन् । त्यसपछि के कार्वाही भयो । त्यसको कुनै रिर्पोट नै आएका छैनन्,” उनी भन्छिन् “कति जनालाई मुद्दा चलाएर कार्वाहीका दायरामा ल्याइयो ? त्यसको कुनै जानकारी नै छैन । हात्तीले क्षति गरेको छ । त्यसैले आक्रोशित भएर मारिएको भनिन्छ । क्षति न्यूनिकरण गर्ने काम गर्ने कि हात्ती मार्ने । सरकारको भूमिका नै ठिक छैन ।”
७ फागुन २०८१ मा कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–४ को खेतमा एउटा हात्ती मृत अवस्थामा भेटियो । डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत रामविचारी ठाकुर अनुसन्धानबाट उक्त हात्तीको मृत्युको कारण करेन्ट भएको पुष्टि भएको छ । “वयस्क हात्ती हो । शरिरमा कुनै घाउचोट थिएन । पोष्टमार्टम रिर्पोटले हात्ती मर्नुको प्रमुख कारण करेन्ट रहेको पुष्टि भयो,” उनी भन्छन् “त्यस ठाउँमा जंगली हात्तीले दुई महिनादेखि दुख दिइरहेको थियो ।”
हात्ती मारिने क्रम बढेपछि वन तथा वातावरण मन्त्रालयले २०७९ पुस ८ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तत्कालिन उप–महानिर्देशक अजय कार्कीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले हात्तीबाट प्रभावित र करेन्ट प्रवाह गरेर हात्ती मारिएका सुनसरी, उदयपुर, झापा लगायतका जिल्लाहरुको स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा हात्तीले मानिसको अन्नबाली नष्ट गर्ने र घर भत्काउने गरेपछि हात्ती धपाउनका लागि थापिएका विद्युतीय पासोमा परेर हात्तीको मृत्यु भएको निश्कर्ष निकालेको थियो । विभिन्न सुझाव सहित कार्यान्यनका लागि प्रतिवेदन मन्त्रालयमा बुझाइएपनि अहिलेसम्म कार्यान्यन भएको छैन ।
मृत्यु भएका ६२ हात्तीमध्ये झापा, सुनसरी, मोरङ र सप्तरी जिल्लामा मात्र ३५ वटा हात्ती छन् । जंगली हात्तीले अन्नबाली खाने र घर भत्काइदिने गरेपछि स्थानीयले हात्तीको प्रवेशलाई रोक्न तारबार लगाउने र त्यसमा हात्ती परेपछि मृत्यु हुने गरेको डिभिजनल वन कार्यालय झापाका निमित्त डिभिजन वन अधिकृत जिवन पाठक बताउँछन् । “करेन्ट लगाएर हात्ती मरेका घटना बढी देखिन्छ । हात्तीले बालीनाली खाइदिन्छ । घर भत्काइदिन्छ भन्ने किसिमले संगठीत रुपमा दुई तीन सय मानिस मिलेर करेन्ट प्रवाह गर्ने, अनि त्यसमा हात्ती पर्ने गरेको पाइएको छ,” उनी भन्छन् “सुख्खा ठाउँमा छ भने त करेन्ट लाग्दा पनि हात्ती मर्दो रहेनछ । अधिकांस ठाउँमा लगाइएको करेन्टमा हात्ती मरेको छ ।”
नेपालमा जंगली र घरपालुवा गरी ४०७ हात्ती रहेको अनुमान छ । त्यसमध्ये २२७ जंगली हात्ती, १८० घरपालुवा हात्ती रहेका छन् । घरपालुवा हात्तीमध्ये ११० वटा सरकारी हुन भने ७० वटा हात्ती नीजि क्षेत्रबाट पालिएका हुन् । नेपालमा भारतबाट नियमित आउने हात्तीको संख्या १५० रहेको छ । २४ वर्षको अवधिमा हात्तीको आक्रमणबाट मर्ने मानिसको संख्या ३४९ रहेको छ ।
हुँदैन कार्वाही
हात्तीलाई पर्यावरण सन्तुलन, जैविक विविधता र जलवायु परिवर्तनका लागि महत्वपूर्ण मानिन्छ । हात्तीले घाँस, झार र रुखहरु खाने गरेकाले वनस्पतिको वृद्धि नियन्त्रित हुन्छ र जसले गर्दा अन्य प्रजातिको वासस्थान सुरक्षि हुन्छ । विद्याबारिधि अशोक रामका अनुसार एक हात्तीलाई दैनिक १५० देखि २५० केजी सम्म घाँस आवश्यक पर्छ । नेपालले आयातित समेत गरी करिव ४०० हात्तीलाई खाना पुराउनुपर्छ ।
पारिस्थितिक विशेषज्ञ (इकोलोजिष्ट) डा. हरिभद्र आचार्य हात्तीजस्तो ठूलो प्रणाली लोप हुँदा त्यसको असर समग्र प्रणालीमा पुग्ने बताउँछन् । “अहिले त मानिसलाई असर गरेको छ, त्यसकारण हात्ती मारियो भन्ने होला । तर, त्यसको असर समग्र पारिस्थितिकिय प्रणालीमा पर्छ,” उनी भन्छन् ।
जैविक विविधता र पर्यावरणमा महत्वपूर्ण योगदान रहने हात्तीलाई करेन्ट लगाएर मारिएको भन्ने पुष्टि हुँदाहुँदै पनि अहिले सम्म एउटा मुद्दा पनि चलाइएको छैन र हात्ती मार्नेहरु कार्वाहीको दायरामा आउन सकेका छैनन् । सृष्टिसिंह श्रेष्ठ कसैलाई पनि कार्वाही नहुँदा हात्ती मार्ने काममा संलग्न भएकाहरुको मनोबल उच्च भएको बताउँछन् ।
सरकारले विश्व समुदायमा संरक्षणमा एकदमै राम्रो गरेका छौं भन्ने गरेको तर हरेक महीनाजसो विश्वमै दुर्लभ मानिने हात्तीलाई करेन्ट लगाएर कसैलाई पनि कार्वाहीको दायरामा ल्याउन नसकेको उनी बताउँछिन् ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता एव्म सह–सचिव शिव वाग्ले अनुसन्धान गर्ने दायित्व स्थानीय अधिकारीको भएको बताउँछन् । “हात्तीको केशमा हामीले प्रदेश सरकारसंग समन्वय गरेका छौं । र, संरक्षणमा ध्यान दिन भनेका छौं,” उनी भन्छन् ।
सरकारी अधिकारीहरु करेन्ट लगाएर हात्ती मारिएको जानकारी हुँदाहुँदै पनि कार्वाही र मुद्दा दायरका लागि आफूहरुलाई अफ्ठेरो भएको गुनासो गर्छन् । डिभिजनल वन कार्यालय झापाका निमित्त वन डिभिजन वन अधिकृत जिवन पाठक अहिलेको संरचनाबाट करेन्ट लगाएर हात्ती मार्न भूमिका भएकाहरुलाई कार्वाही सम्भव नभएको बताउँछन् । “२/३ सय मानिस मिलेर इलेक्ट्रिक फेनसिङ गरेका हुन्छन् । कसलाई समाउने कसलाई मुद्दा लगाउने सवैको एउटै खालको आवाज हुन्छ,” उनी भन्छन् “हामीले पनि उनीहरुको अन्नबाली घरको संरक्षण गर्न सकेका छैनौं । त्यति ठूलो संख्यामा मुद्दा लगाउने अवस्था पनि गारो छ । हाम्रो टिमले गर्न सक्ने अवस्था देखिएन ।”
कुण्डा सब डिभिजन बन कार्यालय कञ्चनपुरका प्रमुख दिनेश कुमार यादव पनि फिल्डमा मुद्दा चलाउन सक्ने अवस्था नरहेको बताउँछन् । “हात्ती मारिनु त संरक्षणको हिसावले ठूलो क्षति हो । हात्तीले मानिसहरु मारेको हुन्छ, अन्नबाली सवै नोक्सान गर्छ,” उनी भन्छन् “जसले गर्दा मानिसहरु आक्रोशित हुन्छन् । त्यस्तो ठाउँमा मुद्दा चलाउने कुरा त टाढाको कुरा हो । हामीलाई ज्यान बचाउन गारो हुन्छ ।”
हात्ती मारिने क्रम बढेपछि वन तथा वातावरण मन्त्रालयले २०७९ पुस ८ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तत्कालिन उप–महानिर्देशक अजय कार्कीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले हात्तीबाट प्रभावित र करेन्ट प्रवाह गरेर हात्ती मारिएका सुनसरी, उदयपुर, झापा लगायतका जिल्लाहरुको स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा हात्तीले मानिसको अन्नबाली नष्ट गर्ने र घर भत्काउने गरेपछि हात्ती धपाउनका लागि थापिएका विद्युतीय पासोमा परेर हात्तीको मृत्यु भएको निश्कर्ष निकालेको थियो । विभिन्न सुझाव सहित कार्यान्यनका लागि प्रतिवेदन मन्त्रालयमा बुझाइएपनि अहिलेसम्म कार्यान्यन भएको छैन ।
सरकारी अधिकारीहरु करेन्ट लगाएर हात्ती मारिएको जानकारी हुँदाहुँदै पनि कार्वाही र मुद्दा दायरका लागि आफूहरुलाई अफ्ठेरो भएको गुनासो गर्छन् । डिभिजनल वन कार्यालय झापाका निमित्त वन डिभिजन वन अधिकृत जिवन पाठक अहिलेको संरचनाबाट करेन्ट लगाएर हात्ती मार्न भूमिका भएकाहरुलाई कार्वाही सम्भव नभएको बताउँछन् । “२/३ सय मानिस मिलेर इलेक्ट्रिक फेनसिङ गरेका हुन्छन् । कसलाई समाउने कसलाई मुद्दा लगाउने सवैको एउटै खालको आवाज हुन्छ,” उनी भन्छन् “हामीले पनि उनीहरुको अन्नबाली घरको संरक्षण गर्न सकेका छैनौं । त्यति ठूलो संख्यामा मुद्दा लगाउने अवस्था पनि गारो छ । हाम्रो टिमले गर्न सक्ने अवस्था देखिएन ।”
नेपाल लगायत भारतमा पाइने एसियन हात्ती साइटिसको अतिसंकटापन्न सूचीमा पर्छन् । संकटापनन्न संरक्षित जनावरमा पर्ने जंगली हात्ती मार्नेलाई पाँचदेखि १० लाख जरिवाना र एकदेखि १५ वर्षसम्म जेल सजाय हुने राष्ट्रिय निुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा उल्लेख छ । तर, मन्त्रालयबाट अध्ययनका लागि गएको टोलीले झापामा खुल्लमखुला हात्ती मार्न प्रयोग गरिएको पासो भेटाएको थियो ।
डिभिजन वन कार्यालय झापाका अनुसार भारतको आसामबाट समेत नेपालमा हात्ती आउँछन् । ती हात्ती नेपालको सीमा क्षेत्र मेचीनगरबाट ४०० किमि पश्चिम रहेको पर्सा राष्ट्रिय निकुञ्ज सम्म पुग्छन् । त्यसैगरी पश्चिम तर्फबाट आउने हात्ती दाङ सम्म आइपुग्छन् । तराईका जिल्लामध्ये अहिले सम्म कपिलवस्तु र रुपन्देहीमा जंगली हात्ती आएको रेर्कड नभएको अशोक राम बताउँछन् ।