खाद्य पिरामिडको सबैभन्दा माथिल्लो तहमा रहेको बाघलाई स्वस्थ्य वातावरणको सूचक प्रजातिको रुपमा चिन्ने गरिन्छ ।बाघको अनुपस्थितिमा इकोसिस्टमभित्रका खाद्य चक्रहरु टुट्न गईसन्तुलन खल्बलिन्छ । बाघको संरक्षण गर्नु भनेको सबै जीवजन्तु, वनस्पतिको संरक्षण गर्नु हो । त्यसैले, बाघलाई प्रमुख प्रजाति (किस्टोन स्पेसिज) भन्ने गरिन्छ । बाघ शक्ति, साहस र सौन्र्दयको प्रतीकका रुपमा समेत चिनिने गरिन्छ । यसलाई भगवती देवीको वाहनका रुपमा पूजा गरिन्छ । विगत सय वर्षको अवधिमा बाघको संख्या एक लाखबाट घटेर ३,२०० देखि ३,५०० पुगेपछि बाघ पाइने विश्वका १३ देशका सरकारप्रमुखहरुको सन् २०१० मा भएको सम्मेलनले सन् २०२२ सम्ममा वाघको संख्या दोब्बर पार्ने कार्यक्रम तय गरेकाथिए। रसियाको सेन्ट पिटर्सबर्गमा भएको यस सम्मेलनले बाघको संख्या बढाउन तयार पारेको कार्यक्रमलाई टी इन्टु टु नामले चिनिन्छ ।
नेपालको प्रयास
नेपालले सन् २०१० देखि राष्ट्रिय बाघ पुनरोत्थान कार्यक्रम लागू गरेको छ र सन् २००९ को बाघ गणनालाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको संख्या १२१ बाट २५० पु¥याउने प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको थियो । यसको कार्यान्वयनका लागि भू–परिधिस्तरमा बाघ संरक्षणका कार्यक्रमहरु सञ्चालन गरिएको छ भने बाँके राष्ट्रिय निकुञ्जको स्थापना र पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र बिस्तार गरिएको छ । यसरी थप गरिएको बासस्थानको क्षेत्रफल १,१८७ वर्गकिलोमिटर रहेको छ । बाघ संरक्षणको काममा नेपाल सरकारलाई नीतिगत मार्गदर्शन गर्न तथा सरोकारवाला निकायहरुबीच समन्वयका लागि प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाघ संरक्षण समिति, नेपाल गठन गरिएको छ । बाघ र मानिसबीचको द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुले पु¥याएको क्षतिबापत राहत सहयोग निर्देशिका, २०६९ लागू गरिएको छ । संरक्षित क्षेत्रबाहिरका बाघ ओहोरदोहोर गर्ने वनलाई जैविक मार्गको रुपमा व्यवस्थापन गर्न सकिने कानुनी व्यवस्था गरिएको छ भने सडक, नहरजस्ता भौतिक पूर्वाधारबाट वन्यजन्तु सजिलै ओहोरदोहोर गर्न मिल्ने ओभरपास तथा अन्डरपासजस्ता संरचनाहरु निर्माण गर्न वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ कार्यान्वयनमा ल्याइएको छ ।
बाघको संख्या
बाघ गणनाका लागि बाघ हिँड्ने सम्भाव्य बाटाका दुवैतर्फ आमुन्ने–सामुन्ने हुने गरी स्वचालित क्यामरा जडान गरिन्छ र बाघ त्यस बाटोबाट हिँड्दा दुवै क्यामराले फोटो खिच्छन् । मानिसका औँठाको छाप अर्को व्यक्तिसँग नमिलेजस्तै बाघको शरीरमा रहेका काला धर्साहरु अर्को बाघसँग मिल्दैनन् । तिनै धर्साका आधारमा क्यामराले खिचेका फोटाहरु विश्लेषण गरी बाघको संख्या अनुमान गरिन्छ । सन् २०२२ को गणनामा नेपालका तराई र भित्री मधेशका चौबीस जिल्लामा बाघ अभिलेख गरिएको छ । बाघको प्रमुख बासस्थान पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा गरी पाँचवटा राष्ट्रिय निकुञ्ज र त्यसआसपासको वन क्षेत्र रहेको छ । सन् २०२२ को गणनामा चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेका २५ गरी कुल ३५५ वटा बाघ रहेको अनुमान गरिएको छ । यो संख्या सन् २०१८ को गणनामा अनुमान गरिएको भन्दा १२० अर्थात् ५१ प्रतिशतले बढी हो ।
बाघको बानीव्यहोरा
बाघ सकभर मानिसदेखि भाग्ने, छलिने र लुक्ने गर्दछन्। यिनीहरु एकान्त बासस्थानमा एकल जीवन बिताउने स्वभावका हुन्छन्। परिवारमा मिलेर बस्ने स्वभाव नभएको हुँदा वर्षभरि नै भाले र पोथी अलग–अलग भई बस्छन् र प्रजननको दस–पन्ध्र दिनको अवधिमा मात्रै सँगै बस्ने गर्दछन् । प्रजनन अवधिबाहेक अन्य बेला उनीहरुको जम्काभेट भयो भने एउटाले अर्कोलाई मार्न पनि सक्छन् । भाले बाघले आफ्ना वा अरुका बच्चा फेला पारेमा मारिदिने हुँदा बघिनीले बच्चा जन्माएपछि लुकाएर राख्ने गर्दछे । बाघका डमरू हुर्केर दुई–साढे दुई वर्ष पुगेपछि आमासँग छुट्टिएर अलग–अलग बस्न थाल्छन् । बाघ आफ्नो क्षेत्र निर्धारण गरेर बस्ने (टेरिटोरियल) वन्यजन्तु हो र आफूले ओगटेको बासस्थानको सिमाना छुट्टयाउन भुइँ वा रुखका बोक्रामा कोतरेर पिसाब फेर्ने गर्दछन् । त्यो लक्ष्मणरेखा अरु बाघले उल्लङ्घन गरेमा एकआपसमा जुध्छन् र हरूवा बाघ त्यहाँबाट भागेर अर्को ठाउँमा गई आफ्नो क्षेत्र निर्धारण गर्दछ । प्रायजसो हरूवा, बूढो र घाइते बाघमात्रै गाउँघरनजिकको वनमा बस्ने गर्दछन् ।
बाघ साहसी, धैर्यवान् र निशाचर प्राणी हो । यो दिउँसो सुनसान वनमा राजसी पाराले लम्पसार परेर बस्ने गर्दछ भने राति शिकार खेल्न निस्कन्छ । यसले सिंह, ब्वाँसो, जंगली कुकुरले जस्तो हुल बाँधेर शिकार गर्दैन, एक्लै शिकार गर्दछ । यो झाडीमा लुकेर बसी तीव्रगतिमा दौडेर गई शिकार झम्टने गर्दछ । बाघले एकै छाकमा ३० देखि ३५ किलो मासु सजिलै पचाइदिन र त्यसपछि केही दिन भोकै बिताइदिन सक्छ । यसले सात दिन वा त्योभन्दा बढी दिनको फरकमा एकपटक शिकार गर्दछ । एक अनुमानअनुसार एउटा बाघको प्रभाव क्षेत्रभित्र लगभग तीन सयको झुन्डमा चित्तल छन् भने उसलाई निरन्तररुपमा आहार प्राप्त हुन्छ । बाघको विचरण क्षेत्र जैविकमार्गको अवस्था, वनभित्र हुने मानवीय गतिविधि र शिकार प्रजातिको घनत्वमा भर पर्ने गर्दछ । तर, सवारीसाधनको उच्च चाप भएका सडकमार्गबाट भने बाघ ओहोरदोहोर गर्न निकै मुस्किल हुने गरेको अध्ययनले देखाएको छ ।
बाघ र मान्छे
बाघ संरक्षणमा बाघ–मानिस द्वन्द्व बढी चुनौतीपूर्ण बन्दै गएको छ । विगत पाँच वर्षमा बाँके र बर्दियामा बाघको आक्रमणबाट ३३ जना व्यतिmको मृत्यु भएको छ भने विगत एक वर्षको अवधिमा चितवनमा बाघको आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ ।बाँके, बर्दिया जिल्लाका कम्दी, खाता र वसन्ता जैविकमार्गमा तथा चितवनका मध्यवर्ती सामुदायिक वनहरुमा बाघले आक्रमण गरेका धेरै घटना घटेको देखिन्छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा भारतका सुहेल्वा र कतरनियाघाट वन्यजन्तु सेन्चुरीको बीचमा रहेका यी जैविकमार्गमा मानिसको आवतजावत बढ्नाले बाघ आक्रमणका घटनाबढेका छन् । चितवनकाघटनाहरु मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र मानिस घाँस, दाउरा काट्न, निउरो, घोंघी टिप्न र माछा मार्न जाँदा भएका छन् । गत वर्ष चितवनमा बाघको आक्रमणबाट मृत्युवरण गरेकामध्ये १३ जना मध्यवर्ती सामुदायिक वनमा, २ जना डिभिजन वन कार्यालयको क्षेत्रभित्रको वनमा र १ जना निकुञ्जभित्रका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यबर्ती सामुदायिक वनमा बर्सेनिप्रवेश गर्ने दुई लाखभन्दा बढी पर्यटक, वनपैदावार संकलन गर्ने मानिस, सफारी जिप र हात्तीले गर्दा बाघको बासस्थानमा कोलाहल बढ्न गईबाघको नियमित दिनचर्यामा बाधा पुगी आक्रमणका घटना बढेका हुन सक्छन्।
घट्दै शारीरिक शक्ति
बाघ बाह्र हातमाथिसम्म उफ्रन सक्छ भन्ने गाउँघरमा भनाइ रहेको छ । अध्ययनले यो प्रतिघण्टा ६५ किलोमिटरको गतिमा दौडन सक्ने र पाँच–सात सय किलो वजन भएको ठूलो जनावरलाई समेत लछारेर सुरक्षित ठाउँमा लगेर खाने गरेको देखाएको छ । बाघलाई आफ्नो आहारा जुटाउन निकै कठिन हुन्छ । आहारा प्रजातिको घनत्व कम भएमा धेरै ठाउँमा चाहार्नुपर्दा थकाइ लाग्ने गर्दछ । बीसपटकसम्मको अथक प्रयासपछि मात्रै बाघ मृग पक्रन सफल हुन्छ । बाघ हिंस्रक वन्यजन्तु भए पनि राम्रो बासस्थान पाएमा नरभक्षी बन्दैन । यो घाइते, रोगी, बूढो भएमातथा मानिससँग जम्काभेट भएर भाग्ने, लुक्ने ठाउँ नपाएमा मात्रै मान्छेमाथि जाइलाग्छ, अन्यथा लाग्दैन । तर चोरीशिकार, बँदेलका पाठा पक्रेर पाल्ने चलन, भुस्याहा कुकुरको आक्रमण र सडक दुर्घटनाका कारण बाघलाईआहाराको अभाव भएको छ भने अर्कोतर्फ बाघको बासस्थानमा पर्यटक र सफारी जिपहरुको कोलाहल बढेसँगै बाघले शिकार खेल्न लगाउने समय र आर्जन गर्नुपर्ने शक्ति मानिस र गाडीबाट छलिन, लुक्न, भाग्न खर्च हुने गरेको छ । यसबाट बाघलाई बढी शारीरिक तनाव (फिजिओलोजिकल स्ट्रेस) हुन गईमृग पक्रन दौडनुपर्दा आवश्यक पर्ने शक्तिको कमीहुने गरेको छ ।शारीरिक तनावका कारण दौडने गतिमा कमी आएसँगै बाघले आहारा पक्रने सम्भावना घट्दै गएर सजिलै पक्रन सक्ने मानिसतर्फ बढी आकर्षित भई नरभक्षीहुने गर्दछ । यस्तो अवस्थामा घाँस, दाउरा काट्न, निउरो, घोंघी टिप्न र माछा मार्न गएका मानिसलाई आक्रमण गर्ने गर्दछ । भारतमा बढ्दै गएको पर्यटकीय गतिविधिका कारण त्यसबाट बाघलाई परेको असरबारे बुझ्न सन् २०१५ मा पर्यटकको उच्च चाप भएका मध्यप्रदेशका वन्धवगाह र कन्ह्रा बाघ आरक्षमा अध्ययन गरिएको थियो । उक्त अध्ययनका लागि पर्यटकीय सिजनमा बाघको आलो दिसा (फ्रेस स्क्याट)का ३४१ वटा नमुना संकलन गरिएको थियो ।
उक्त नमुना परीक्षण गर्दा बाघलाई बढी शारीरिक तनाव हुन गईप्रजनन शक्ति कमजोर गराउने ग्लुकोकोर्टिक्वाइस हर्मोनको उत्पादन भएको भेटिएको थियो । यस्तो हर्मोनले बाघको शारीरिक विकास, शरीरको प्रतिरोधात्मक क्षमता र शारीरिक शक्तिलाई समेत कमजोर बनाएको अध्ययनले देखायो । यस्तै किसिमको अर्को अध्ययन सन् २०१५ मा भारतको राजस्थानको सारिस्का राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरेका बाघमा समेत गरिएको थियो । चोरीशिकारका कारण सन् २००४ मा सारिस्का राष्ट्रिय निकुञ्जबाट बाघलोप भएपछि सन् २००८ मा रन्थमबोर राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरेका बाघहरुबीच प्रजनन हुन नसकेको अध्ययनले देखायो ।यसो हुनुमा अध्ययनको सिलसिलामा बाघलाई बारम्बार पक्रने, छाड्ने, पिछा गर्ने गरेको हुँदा शारीरिक तनाव बढ्न गई शक्ति गुमेको पाइयो ।
बाघको बासस्थानमा पर्यटक र जीविकोपार्जनका लागि वनमा आश्रित समुदायको भीडभाड बढेको छ । यसबाट बाघको नियमित दिनचर्या खल्बलिन पुगी बाघमा शारीरिक तनाव बढेको भारतमा गरेको अध्ययनले देखाएको छ । विगतमा चोरीशिकार, बाघ–मानिस द्वन्द्व र बासस्थान विनाश बाघको दीर्घकालीन संरक्षणमा प्रमुख चुनौती थिए भने अहिले आएर शारीरिक तनावबढ्न गई शक्ति क्षय हुनुसमेत चुनौतीको रुपमा देखा परेको छ । पछिल्लो समयमा नेपालमा बाघले मानिसलाई आक्रमण गरेका घटना बढ्दै जानुको एउटा कारण शारीरिक शक्ति क्षय भई मृगको शिकार गर्न नसक्नुसमेत हुन सक्छ ।