नारायणी र भोटेकोशी खतराको तह भन्दा माथि

१ असार, २०७८   |  इकोखबर

नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो ।
 
निरन्तरको वर्षाका कारण  साँझ ८.३० बजे ९.८७ मिटर पुगेको नारायणीमा पानीको वहाव राती ९ बजे १०.१ पुगेको छ । केन्द्रका अनुसार  नदीमा पानीको वहाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ । गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो, जुन  ४४ वर्ष यताकै बढी हो । तर, यसवर्ष गतवर्षको रेकर्ड समेत तोडिएको छ । 
 
नारायणीसँगै राप्ती र  रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालले आग्रह गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा पानीको वहाव बढेका  समयमा दाउरा टिप्न र  माछा मार्न भन्दै नदीमा नपस्न अनुरोध गरिएको छ ।

यस्तै औषधि, खाद्यान्न र  महत्वपूर्ण कागज झोलामा तयारी अवस्थामा राख्न पनि  तटीय क्षेत्रबासीलाई आग्रह गरिएको छ । नारायणीका कारण भरतपुर महानगरपालिका वडा नं १६, २६, २७ र २८ र राप्ती नदीबाट वडा नम्बर २२ र २३ मा बढी असर पर्ने गरेको छ ।

त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । महानगरका वडा नं २६ र २७ का हिरापुर, सिसई, न्यूरेनीलगायत ठाउँमा नारायणी तटबन्ध पार गरी मानव बस्तीतर्फ छिर्न शुरु गरेको छ ।

त्यसैगरी भोटेकोशी नदीमा पनि पानीको सतह बढ्ने क्रम जारी छ । राती ९ बजे सिन्धुपाल्चोकको बलेफि स्थित् स्वचालित बाढी मापन यन्त्रले ७।१५ मीटर भोटेकोशीमा पानीको वहाव भएको रेकर्ड गरेको छ । त्यसैगरी म्याग्दीको राहुघाट, गुल्मीको बडिघाट र कालीगण्डकी नदीले पनि सर्तकता तह पार गरेका छन् । 

जल तथा मौसम विज्ञान विभागका अनुसार ती नदीहरुको जलाधार क्षेत्रमा अहिले पनि वर्षा निरन्तर जारी छ ।  स्थानीय प्रशासनले नदीको तटीय क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई सतर्कता अपनाउन सुचना जारी गरेको छ ।



Developed by Smart Innovation