डेढ महीनामा ६ सय १९ जलवायूजन्य घटना

१९ साउन, २०७८   |  इकोखबर

मनसुन शुरु भएयता हालसम्म देशभर ६१९ बाढीपहिरोका घटना भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाँणले मनसुन शुरु भएयता भएका घटनाबारे जानकारी दिँदै गत जेठ ३१ देखि साउन १९ गतेसम्म देशका विभिन्न जिल्लामा ६१९ प्राकृतिक विपत्तिका घटना भएका बताए । ती घटनाबाट सिन्धुपाल्चोक, डोटीलगायत ५६  जिल्लामा ६६ जनाको मृत्यु, ४० जना बेपत्ता र २१ जना घाइते भएका छन् । 

देशभर हालसम्म ६९० निजी घर पूर्णरूपमा क्षति र १६२ घरमा आंशिक क्षति भएको छ । विभिन्न ३७ वटा सरकारी कार्यालय क्षति भएका छन् । सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा सातवटा मोटरेबल पुल र २७ वटा झोलुङ्गे पुल तथा ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको मन्त्री खाँणले जानकारी दिए। देशभारका २५ वटा निर्माणाधीन जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ ।

सिन्धुपाल्चोक जिल्लालाई सबैभन्दा बढी प्रभावित पारेको जानकारी दिँदै मन्त्री खाँणले असार १ गते राति मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा मेलम्ची, इन्द्रावती र याङ्ग्री तथा लार्के नदीमा आएको बाढीमा परी पाँच जनाको मृत्यु, २० जना बेपत्ता र छ  घाइते भएका थिए । 

त्यसैगरी ३३८ घर पूर्णरूपमा क्षति भएको छ भने सातवटा पुल, १४ झोलुङ्गे पुल, एक माछा फार्म र ३२ वटा सरकारी भवन तथा मेलम्ची खानेपानी आयोजनाको हेडबक्र्ससमेत क्षति पुगेको छ ।



Developed by Smart Innovation